टी-२० विश्वकपमा दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित

टी-२० विश्वकपमा दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ। बुधबार भएको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गरेको हो।

दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो। जवाफमा अमेरिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएपछि खेलको नतिजा १८ रनले दक्षिण अफ्रिकाको पक्षमा गयो।

समूह चरणमा पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध र क्यानडाविरुद्ध १९५ रनको लक्ष्य पछ्याउँदै सनसनी मच्चाएको अमेरिकाले सुपर आठमा दक्षिण अफ्रिकाविरुद्ध निरास बन्यो।

टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन। १६ रन हुँदा रिजा हेनरिक आउट भएका थिए। उनले ११ बल खेल्दा ११ रन नै बनाए। उनको ब्याटबाट एक छक्का प्रहार भएको थियो।

त्यसपछि क्विन्टन डीकक र कप्तान एडेन मार्करम मिलेर दक्षिण अफ्रिकाको रथ अघि बढाएका थिए। यी दुई खेलाडीले ११० रनको साझेदारी गरेपछि दक्षिण अफ्रिका विशाल लक्ष्यतर्फ अघि बढेको थियो। १२.२ ओभरमा १२६ रन हुँदा दक्षिण अफ्रिकाले दोस्रो विकेट गुमायो।

दक्षिण अफ्रिकाका क्विन्टन डीकक उत्कृष्ट पारी खेलेर बिदा भए। ४० बल फेस गरेका डीककले ५ छक्का र ७ चौकाको मद्दतले ७४ रनको पारी खेले। डेभिड मिलर गोल्डेन डकआउट भए।

चौथो विकेटको रुपमा एडेन मार्करम ३२ बलमा ४६ रन बनाएर आउट भए। उनले एक छक्का र चार चौका प्रहार गरेका थिए। त्यसपछि हेनरिक क्लासेन र तृस्टन स्टुबब्सले थप प्रयास गर्दा दक्षिण अफ्रिकाले विशाल योगफल तयार पारेको थियो।

क्लासनेले २२ बलमा ३६ रन बनाउँदा तीन छक्का प्रहार गरे। यस्तै स्टुबब्सले १६ बलमा २० रन जोड्दा २ चौका हिर्काए।
अमेरिकाका सौरभ नेत्रवाल्कर र हरमित स्रिहले समान दुई-दुई विकेट लिए।

१९५ रनको लक्ष्यसहित मैदान उत्रिएको अमेरिकाको सुरुआत मध्यम रहेको थियो। ३.३ ओभरमा ३३ रन जोडेका बेला पहिलो विकेट गुमाउन पुग्यो। स्टेभन टेलर १४ बलमा २४ रन बनाएर आउट भए। उनले एक छक्का र चार चौका प्रहार गरेका थिए।

दोस्रो विकेटको रुपमा नितिश कुमार आउट हुँदा जम्मा ८ रन बनाए। कप्तान आरोन जोन्स खाता नै नखोली पभेलियन फर्किए। एक छेउमा डटेका ओपनर ब्याटर एन्ड्रिस गोसले गतिलो साथ पाएनन्।

कोरि एन्डरसनले १२ दिलाउँदा एन्ड्रिस गोस र हरमित सिंहले जितका लागि सबै प्रयास गरे पनि १८ रन अपुग भएको थियो। गोसले ४७ बलमा ८० रनको नटआउट पारि खेल्दा समान पाँच छक्का र चौका प्रहार गरेका थिए।

हरमितले भने २२ बलमा ३८ रन बनाएर नटआउट नै रहे। उनले तीन छक्का र दुई चौका प्रहार गरेका थिए।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले सर्वाधिक ३ विकेट लिँदा केशव महाराज, एनरिज नोर्टजे र तबरेज सम्सीले समान एक-एक विकेट लिए।

सुपर एटमा जितका साथ दक्षिण अफ्रिकाले २ अंक पनि बनाएको छ। सपुर एटमा दुई समूह रहेको छ। शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउने छन्।

असार ५, २०८१ बिहीबार ०७:२४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।