सूर्य नेपाल प्रिमियर गल्फको दोस्रो दिन, भुवन र दिनेश संयुक्तरुपमा शीर्षस्थानमा

सूर्य नेपाल प्रिमियर गल्फको दोस्रो दिन, भुवन र दिनेश संयुक्तरुपमा शीर्षस्थानमा

काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन भुवन नगरकोटी र दिनेश प्रजापति समग्रमा १०-अन्डर १ सय ३४ सहित संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। 
  
उनीहरूले निरज तामाङ, सुबाश तामाङ र एमेच्योर सदभाव आचार्यलाई ३ स्ट्रोकले पछि पारे। उमेशले आज ६-अन्डर ६६ को उत्कृष्ट स्कोर कार्ड बनाए। पहिलो दिनका लिडर दिनेशले ३-अन्डर ६९ मा दोस्रो दिनको खेल सकाए।
  
समग्रमा ७-अन्डर १ सय ३७ को स्कोरमा निरज तामाङ, डिफेन्डिङ च्याम्पियन सुबाश तामाङ र एमेच्योर सदभाव आचार्य संयुक्तरुपमा तेस्रो स्थानमा रहे। निरजले ६-अन्डर ६६ को उत्कृष्ट स्कोर दर्ज गर्दा सुबाश र सदभावले ३-अन्डर ६९ मा दोस्रो दिनको खेल सकाए।

समग्रमा ५-अन्डर १ सय ३९ सहित तोरण विक्रम शाही र एमेच्योर विजय श्रेष्ठ आइन्हाउस संयुक्तरुपमा छैटौं स्थानमा छन्। विजयले आज २-अन्डर ७० र तोरणले १-ओभर ७३ मा खेल सकाए। यो स्कोरमा तोरण आज दोस्रो स्थानबाट छैटौं स्थानमा तल झरे। समग्रमा ४-अन्डर १ सय ४० को स्कोरमा जयराम श्रेष्ठ, सञ्जय लामा र एमेच्योर सुमन परियार संयुक्तरुपमा आठौं स्थानमा छन्। जयरामले ४-अन्डर ६८, सञ्जयले ३-अन्डर ६९ र सुमनले २-ओभर ७४ को स्कोर गरे।
  
३६ होलको समाप्तिमा २१ प्रोफेसनल र ६ एमेच्योर गरी २७ गल्फरले कट बनाएका छन्। प्रोतर्फ रमेश अधिकारी, धन बहादुर थापा, भुवन कुमार रोक्का, रवि खड्का, रामे मगर, बलभद्र राई, भुबहादुर गुरुङ, दल बहादुर लामा, टंक बहादुर कार्की, किशन कालीराज सुनार, वसन्त राज गुरुङ, शिवराम पौडेल, सूर्य प्रसाद शर्मा र युवराज भुजेलले कट बनाए। एमेच्योरतर्फ सद्‌भाव, विजय, सुमनसँगै तेन्जिङ पाल्देन, राहुल विश्वकर्मा र वाङचेन ढोन्डुपले अन्तिम दुई दिनको लागि स्थान बनाएका छन्।
  
पहिलो दिन संयुक्तरुपमा तेस्रो स्थानमा रहेका भुवनले दिनेशसँग संयुक्तरुपमा शीर्षस्थानमा रहने क्रममा फ्रन्ट र ब्याक नाइन दुवै ३-अन्डर ३३ मा सकाए। दोस्रो होलको बोगीबाट सुरूवात गरेपनि तेस्रो, चौथो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे। यसपछि ब्याक नाइनमा पनि चार वटा होलमा बर्डी प्रहार गरे। १० औं, १२ औं, १४ औं र १७ औं होलमा एक-एक सट बचाए भने १५ औं होलमा बोगी खेपे। उनले आज कुल ८ बर्डी प्रहार गरे।

पहिलो दिनको लिडर दिनेशले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डी प्रहार गरे भने दोस्रो र चौथो होलमा एक-एक सट खेर फाले। यसपछि १४ औं होलको बोगी विरूद्ध ११ औं र १२ औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन १-अन्डर ३५ मा सकाए।

निरजले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। पहिलो, तेस्रो र पाँचौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले। ब्याक नाइनमा भने निरजले १०औं देखि १२ औं र १८ औं होलमा गरी चार बर्डी प्रहार गरे। ब्याक नाइन ४-अन्डर ३२ मा सकाए।

सुबाशले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाउने क्रममा दोस्रो, तेस्रो, पाँचौं र नवौं होलमा बर्डी प्रहार गर्दा छैटौं होलमा एक सट खेर फाले। यसपछि ११ औं होलको बोगी विरूद्ध १२ औं  होलको बर्डीले ब्याक नाइन इभन-पार ३६ मा सकाए।

एमेच्योर सदभावले फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे। दोस्रो र आठौं होलको बोगी विरूद्ध तेस्रो, पाँचौं, छैंटौं र सातौं होलमा एक-एक सट बचाए। ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे। ११ औं होलमा बोगी प्रहार गरे भने १२ औं र १३ औं होलमा एक-एक सट बचाए।

पुरस्कार राशीको आधारमा सिजनकै ठुलो प्रतियोगितामा कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुनेले क्रम १ लाख ७५ हजार र १ लाख २२ हजार प्राप्त गर्नेछन्। यस्तै, चौथो र पाँचौ हुनेलाई १ लाख २ हजार र ८० हजार प्रदान गरिनेछ। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो-एम शनिबार हुनेछ। जहाँ २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागिता रहनेछ। 

असार ४, २०८१ बुधबार २१:१०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।