प्रचण्डलाई तर्साउन राजीनामाको घुर्की लगाएका खेलकुदमन्त्रीको अभिव्यक्तिलाई कसैले पत्याएनन्

प्रचण्डलाई तर्साउन राजीनामाको घुर्की लगाएका खेलकुदमन्त्रीको अभिव्यक्तिलाई कसैले पत्याएनन्

काठमाडौं : शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले आफूहरूलाई अनावश्यक र अनधिकृत सम्झौता गर्न बाध्य पारिए त्यसै दिन सरकारबाट बाहिरिने चेतावनी दिए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तर्साउने शैलीमा सरकारलाई दिएको समर्थन फिर्ता लिन सोच्नेबेला आएको भन्दै त्यसका लागि आफूले राजीनामा पत्र गोजीमै राखेर हिँडेको र मिति मात्र लेख्न बाँकी रहेको बताएका थिए।

‘केही कुरामा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले कुनै खालको सम्झौता गर्न पर्यो भने त्यो दिन नै रास्वपा सरकारबाट बाहिर आउन अहिले नै तयार छ। हाम्रो राजीनामा पत्रमा मिति मात्र लेख्न बाँकी छ। त्यो तयार गरेर बोकेर नै हिँडेका छौँ। हामीले सरकारलाई दिएको समर्थनमाथि समीक्षा गर्नुपर्ने बेला पनि छ,’ उनले भनेका थिए। 

त्यसको पर्सिपल्ट प्रधानमन्त्री प्रचण्डले गोजीमा राजीनामा पत्र बोकेर हिँड्नु रास्वपाको पुरानै प्रवृत्ति भएको भन्दै मन्त्री श्रेष्ठको अभिव्यक्तिलाई हल्काफुल्फा रूपमा टिप्पणी गरे। 

उनले भने, ‘यो त रविजीले सुरुमै भन्नुहुन्थ्यो नि! हामी त्यस्ता हौं भनेर। त्यो चाहिँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला। तर मैले बुझेकोमा त्यस्तो केही छैन।’

पछिल्लो केही दिनयता सत्ता गठबन्धनमा बजेटको विषयलाई लिएर मतभेद भइरहेको बेला रास्वपाभित्र प्रभावशाली मानिएका नेता श्रेष्ठको त्यस अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको थियो। मन्त्री श्रेष्ठले आफूहरूले बिनाकुनै बाधा अड्चन काम गर्न पाउनुपर्ने अन्यथा सरकारबाट बाहिरिने भन्दै प्रधानमन्त्री प्रचण्डलाई अत्याउन दिएको त्यस अभिव्यक्तिलाई प्रधानमन्त्रीले भने गम्भीर रूपमा लिएनन्। 

श्रेष्ठको त्यस अभिव्यक्तिलाई प्रधानमन्त्रीले नपत्याएपछि विपक्षी दलका सांसदले भने खिल्ली उडाए। 

बुधबारको प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजन विधेयकमा छलफल गर्ने क्रममा कांग्रेस उपसभापति धनराज गुरुङले धेरै कडा बोल्दा खेलकुदमन्त्रीले राजीनामा दिनुहुने हो कि भन्दै व्यङ्ग्य गरे। 

मन्त्रीले राजीनामा बुझाए पनि त्यसले प्रधानमन्त्री र स्वयं मन्त्रीलाई असर नगर्ने भन्दै २०८४ सालसम्म राजीनामा पत्रलाई सम्हालेर राख्न आग्रह गरे।

‘उहाँको खल्तीबाट राजीनामा पत्र निस्कँदा कतिलाई लाग्न सक्छ प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्नसक्छ कि, पर्दैन। कतिलाई लाग्नसक्छ उहाँकै मन्त्री पद जाने हो कि, जाँदैन त्यो पनि,’ उनले भने, ‘तर एउटा कुरा के भने उहाँको खल्तीबाट राजीनामा पत्र निस्कियो भने कतै भिज्छ कि भन्ने मलाई चिन्ता हो। नभिजोस्। बरु एउटा सुझाव छ, त्यो राजीनामा पत्रलाई प्लास्टिक कोटेड नै गरेर राख्नुस् र २०८४ को चुनावसम्म राख्नुस् भन्ने मेरो आग्रह छ।’

त्यस्तै, सत्तारुढ माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पनि खेलकुदमन्त्रीको त्यस अभिव्यक्तिलाई गम्भीर रूपमा लिएनन्। उनले राजीनामापत्र लेखेर निरुत्साहित हुनेभन्दा पनि मन्त्रालयमा बजेट वृद्धि गर्न लाग्न युवा तथा खेलकुदमन्त्रीलाई सुझाव दिए। 

युवा तथा खेलकुद मन्त्रालयमा कुल बजेटको ३ अर्ब ५० करोड बजेट प्रतिशतको हिसाबले युवा तथा खेलकुद मन्त्रालयलाई थोरै भएको उल्लेख गर्दै त्यसलाई वृद्धि गर्न लाग्नुपर्ने मन्त्रीले राजीनामा लेखेर निरुत्साहित हुन नहुने बताए। 

असार ४, २०८१ बुधबार २०:३१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।