ब्याच नम्बर ६९ : नेपाली युवतीलाई अफ्रिकी देशमा यौनदासी बनाउने समूहलाई ६ महिना पछ्याउँदा...

ब्याच नम्बर ६९ : नेपाली युवतीलाई अफ्रिकी देशमा यौनदासी बनाउने समूहलाई ६ महिना पछ्याउँदा...

एकजना परिचितले दाइ काम विशेषले एकजनालाई ल्याउँछु है भने। मैले हुन्छ भनेपछि त्यही दिन साँझ उनी केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालयमा आए। उनी नेपालबाट गल्फ अनि अफ्रिकी मुलुकहरूमा भिजिट भिसामा भइरहेको युवतीहरूको तस्करीबारे जानकार रहेछन्।

घुमाउने बहानामा नेपाली, भारतीय, अफ्रिकी अनि पाकिस्तानीहरू मिलेर डान्सबारहरुमा काममा लगाउने भनेर नेपाली युवतीहरू लैजाने अनि उता लगेपछि बन्धक बनाएर जवर्जस्ती यौन व्यवसायमा लगाउने गरेको सूचना दिए।

ती व्यक्तिसँग यो र्याकेटबारे बढो महत्त्वपूर्ण सूचनाहरू रहेछ। तर कतै पहिचान खुल्ला कि भनेर डराएका थिए। यो सूचना प्रहरीलाई कसले दियो भन्ने खुल्यो भने उनको ज्यान जोखिममा पर्न सक्थ्यो। त्यसको जिम्मेवारी त प्रहरीले लिनुपर्यो नि। हामी लिन्छौ पनि।

संयोग भए मात्र नत्र सङ्गठित रूपमा हुने अपराधको सूचना कि प्रहरीको आफ्नै गहिरो अनुसन्धान वा त्यो समूहमा रहेका कुनै सदस्यलाई चित्त नबुझेको अवस्थामा प्रहरीसम्म आउने त हो। यस्तोमा जो सूचनादाता हो उसको परिचय त्यो अनुसन्धानको समयमा मात्रै हैन, अनुसन्धान सकिएपछि पनि जोगाउनै पर्छ।

अपराध अनुसन्धानमा स्रोतको संरक्षणको जिम्मेवारी सङ्गठनमा रहँदा मात्र हैन अवकाशको समयमा पनि गर्नै पर्छ। कुनै प्रहरीले अब त अवकाश पाइहाले नि भन्दा हुन्छ भनेर आफूले सङ्गठनमा रहँदा गरेको अनुसन्धानमा सघाउने, सूचना दिनेहरूको गोपनीयता खुलाइदिए भने त्यो सबैभन्दा ठुलो धोका हो। यस्तो सूचना दिने व्यक्तिहरू बाँचुन्जेलसम्म मात्र हैन उनीहरूको मृत्युपछि पनि उसका परिवारका सदस्यहरूको ज्यान जोखिममा पर्न सक्छ।

त्यसैले सूचनाको स्रोत जुनसुकै पेशाको होस्, उसले जेसुकै काम गरोस् त्यसको गोपनीयता कायम राख्ने र उनले सूचना दिए बापत जो कानुनी कार्वाहीको दायरामा आएका हुन्छन् उनीहरूबाट सूचनादाता जोगाउने जिम्मेवारी सम्बन्धित प्रहरी अधिकारीको हो।

केही उच्चतहकै प्रहरी अधिकृतहरूले अवकाशपछि कसैसँगको आफ्नो सम्बन्धका कारण विवाद वा अनुसन्धानमा तानिने जोखिम आउँदा’ फलानोसँगको सम्बन्ध त सूचनामा भएको हो। उसले त मलाई सूचना दिन्थ्यो’ भनेको सुन्छु। यो त सङ्गठन र अपराध अनुसन्धानमा ठुलो गद्दारी नै हो।

अवकाश पाएपछि के मतलब भनेर यदि स्रोतको संरक्षण नगरी खुलाउने हो भने सङ्गठनमा रहेकाहरूले कसरी अपराध अनुसन्धान गर्न सक्छन्? उनीहरूलाई गम्भीर अपराधका स्रोतहरूले कुन विश्वासमा सूचना दिन्छन्?, अवकाश पाएपछि नाम भनिहाल्छन् भन्ने भयो भने त कोही पनि बोल्दैन नि। आफ्नो ज्यान जोखिममा राखेर कसले सूचना दिन्छ?

सूचनादाताको पृष्ठभूमि अपराधी नै भए पनि उसले सूचना दिएपछि सूचनादाता उनी हो है भनेर जोगाउनै पर्छ। उ संलग्न अपराधको अनुसन्धान र सो अनुसारको कानुनी कार्वाहीको प्रक्रिया अलग कुरा हो। कानुनले पनि यदि कोही अपराधमा संलग्न छ तर उसले सो अपराधबारे प्रहरीलाई सूचना दियो वा अनुसन्धानमा सघायो भने कानुन अनुसार हुने सजायमा समेत छुट र सुविधा दिएको छ नि।  सूचना दिएकै आधारमा कोही पनि पीडित हुनुहुन्न। यति संरक्षण नगर्ने हो भने अनुसन्धान गर्ने जुनसुकै पेसामा रहेकाहरूले पनि सूचना पाउन सक्दैनन्।

भिजिट भिसाको आवरणमा जसरी नेपाली युवतीहरूको तस्करी भइरहेको थियो त्यसमा नेपाली नागरिक मात्रै हैन, भारतीय, पाकिस्तानी अनि अफ्रिकीहरू समेत संलग्न थिए। यो सूचना कसले दिएको हो त्यो चुहियो भने त उसको ज्यान जोखिममा परिहाल्छ नि।

सूचनादातालाई गोपनीयतामा पूरै विश्वस्त बनाएपछि नेपालमा कसरी युवतीहरू छानिन्छ, उनीहरूलाई कसले, कहाँ जम्मा पार्छन्, उनीहरूलाई कुन प्रक्रियाबाट को-को मिलेर मलेसिया लगायत अफ्रिकी देश पुर्याएर डान्सबारमा काम लगाउँछन् भन्ने विस्तृत विवरणहरू आए।

अनुसन्धानको केन्द्र काठमाडौँ थियो तर हेर्नुपर्ने भारतदेखि अफ्रिकी मुलुक तान्जानिया, केन्या, युगान्डा र खाडी मुलुक युएई, बहराइन, मलेसिया र ओमान थियो। यो अन्तर्देशीय अपराध थियो।

त्यो बेलामा सिआइबीमा किरण बज्राचार्य थिइन्। उनलाई ती व्यक्ती सँग भेट गराएर थप कुरा गरेर टिम बनाएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएँ।विशेष प्रकृतिको अनुसन्धानको नामकरण गर्ने प्रचलन छ। हामीले यो अनुसन्धानको नाम दियौँ’अप्रेसन इगल’। ६ महिना लाग्यो यो अनुसन्धान गर्न। अन्तमा आएको सूचना सही देखियो।

राजेन्द्र सुवेदी, राज मानन्धर, ललितराज सिंह सुवाल, सुनिल अधिकारी, केदारबहादुर खड्का, नवीन दाहाल र भारतीय नागरिक तरुण रोजना खनगवाल पक्राउ परे।

OOO

ललितपुरका राजनको नाम रहेछ राजेन्द्र। ललितपुरमा उनको माउन्टेन टुर्स एन्ड ट्राभल्स कम्पनी थियो। उनी नोटरियस नै थिए प्रहरी सूचीमा। यो अगाडि नै उनी यस्तै केसमा पक्राउ परेर अदालतबाट धरौटीमा छुटेका रहेछन्। उनको जिम्मेवारी महिलाको लागि भिजिट भिसाको व्यवस्था गर्ने।

अर्का थिए सविन। उनको देखिने काम चैँ सविन कस्मेटिक र फोटो प्रिन्टिङ। मैतीदेवीमा रहेको सेन्टरलाई उनले युवती छनौटस्थलको रूपमा प्रयोग गर्ने गरेका थिए। कामको खोजीमा रहेका युवतीहरू खोजेपछि उनले उनीहरूको तस्बिर खिचेर सम्बन्धित देशका एजेन्टहरूलाई पठाउने रहेछन्।

अर्का ललितराज काठमाडौँको स्वयम्भूमा रहेको ठुलो भर्याङ कम्प्युटर पार्ट्सको व्यापार गर्ने रहेछन्। देखिने व्यापार यो भयो तर धन्दा चैँ युवतीको तस्करी। उनी सविनको बिजनेस पाट्नर थिए। अर्का सुनिलको काम पनि ट्राभल्सको थियो। ललितपुर एकान्तकुनाका माउन्टेन टुर्स एन्ड ट्राभल्स खोलेका थिए। अर्का केदारको त्रिभुवन विमानस्थल अगाडि होटल थियो। उनको जिम्मेवारी विमानस्थलमा सेटिङ मिलाउने, विदेश जाने र आउने युवतीहरूलाई होटलमा राख्ने।

अर्का नवीनको काम कामका लागि विदेश जान चाहने युवतीहरू खोज्ने थियो। उनी काठमाडौँ लगायतका डान्सबारहरुमा गएर राम्रो नाच्ने युवतीहरूसँग निकट हुने, विदेश जाने हो भने टन्न कमाइ हुन्छ भनेर प्रलोभनमा पारेर सहमत गराउने अनि तस्बिर खिचाएर विदेश पठाउने काम गर्थे।

भारतीय नागरिक तरुण फलफूल व्यापारीको आवरणमा थिए। उनी दिल्लीमा बसेर विदेशमा रहेका समूहका सदस्यहरूको मूल एजेन्ट देखिए। उनले तान्जानिया लगायतका अफ्रिकी देशमा आफैँले डान्सबार समेत खोलेका थिए।

उताबाट युवतीको माग आएपछि तरुणले नेपालमा रहेका आफ्ना एजेन्टहरूलाई चाहिएको युवतीको सङ्ख्या भन्थे। सोही अनुसार नेपालमा रहेका एजेन्टहरू पाएसम्म नृत्यमा पोख्त डान्सबारमा युवती अनि उनीहरू नपाए कामका लागि विदेश जाने ताकमा रहेका युवतीहरू खोजेर फोटो खिचेर तरणलाई पठाउँथे।

तरणले ती फोटो सम्बन्धित देशका एजेन्टलाई पठाउँथे। उताबाट युवतीहरू छनौट भएपछि नाच्न जान्नेका हकमा पासपोर्ट बनाएर भिजिट भिसामा पठाउने प्रक्रिया सुरु हुन्थ्यो। नाच्न नजान्ने परेको खण्डमा उनीहरूले काठमाडौँमा डेरामा राखेर केही समय डान्स इन्स्टिच्युटमा तालिम दिन्थे। त्यसरी तालिम पाएकाहरू केही महिना काठमाडौँकै डान्सबारमा काम गर्थे अनि पोख्त भएपछि पठाउँथे।

अफ्रिकी देशमा जान राजी भए महिनाको एक लाख नेपाली रुपैयाँसम्म कमाउन सकिने प्रलोभन देखाउँथे। केटीहरू राजी भएपछि चाहिने कागजपत्र आफैँले बनाइदिन्थे अनि यता सपिङ गर्न भनेर पहिल्यै दुई लाखसम्म दिन्थे। उनीहरूको ब्रेनवास गरेपछि सम्भव भए काठमाडौँबाटै, यता सम्भव नभए भारत लगेर दिल्ली, मुम्बई र महाराष्ट्रको विमानस्थलबाट विभिन्न देशहुँदै पठाउँथे।

यता त डान्सबारमा नाच्ने त हो नि भनेर लैजाने हो। तर उता गएपछि युवतीहरू बन्धक समान हुन्थे। उनीहरू सम्बन्धित देशको विमानस्थलमा उत्रिए लगत्तै एजेन्टहरू लिन आउँथे। सिधै अपार्टमेन्टमा लगेपछि उनीहरूको स्वीकृतबिना बाहिर निस्कन निषेध गर्ने रहेछन्।

सम्बन्धित डान्सबारसम्म लैजाने र ल्याउने उनीहरूले नै। सामान्य डान्स भनेकोमा त उता गएर सावर डान्सदेखि जवर्जस्ती यौन व्यवसाय गर्न समेत बाध्य बनाउने गरेको खुल्यो। नमान्नेहरूका हकमा लट्ठ्याउने औषधी समेत प्रयोग गर्ने गरेको खुल्यो। पुरै आधुनिक शैलीको कोठी अनि भिजिट भिसामा निश्चित अवधिका लागि युवतीको विक्री भए समानकै गम्भीर देखियो अपराध।

देखाउने तीन महिना तर बर्षौ घुमाइरहने

भिजिट भिसामा एक देशमा तीन महिना मात्र बस्न मिल्ने। उनीहरूलाई नेपालबाट लैजाँदा तीन महिनाका लागि भनेर लैजाने हो। तर उनीहरूको जालो एक देशमा मात्र थिएन। विभिन्न देशमा भएकाले उनीहरूले युवतीलाई तीन-तीन महिना गरेर विभिन्न देश घुमाएको घुमायै गर्ने रहेछन्।

त्यो बेलामा मुख्य रूपमा उनीहरूको जालो तान्जानिया, केन्या, युगान्डा र खाडी मुलुक युएई, बहराइन, मलेसिया र ओमानमा देखिएको थियो। एक युवतीलाई पहिला ओमन लग्यो। त्यहाँ तीन महिना पुरा भएपछि मलेसिया पठायो। मलेसियामा तीन महिनापछि बहराइन, युएइहुँदै केन्या, युगान्डा, तान्जानियाहुँदै घुमाएकै घुमायै।

हरेक देशमा उनीहरूको सेटिङ भएकाले चाहेर पनि युवतीहरू भाग्न नसक्नेगरि पुरै जालोको निर्माण गरिसकेका थिए। त्यस्ता डान्सबारहरुमा सहयोगीको रूपमा काम गर्न युवतीहरू मात्रै हैन युवकहरू पनि जाने गरेको खुल्यो। युवकहरूको जिम्मेवारी चैँ नेपाली युवतीहरूको निगरानी।

६ महिनाको अनुसन्धान सफल भयो। एउटा ठुलै र्याकेट भत्काउन सफल भइयो। पहुँच पुगेसम्म भारतको दिल्लीमा रहेकासम्मलाई पक्राउ गर्यौँ। तर विभिन्न देश अझ विशेष गरेर अफ्रिकी देशहरूमा भएकाहरूलाई भने पक्राउ गर्न सकेनौँ। तर सम्भव भएसम्म इन्टरपोलमार्फत त्यता यो मानव तस्करीमा संलग्न रहेकाहरूबारे जानकारी भने दिएका थियौँ। केही अफ्रिकी देशहरूमा रहेका डान्सबारमा छापा हान्नेक्रम पनि सुरु भएको थियो।

२०१९ मा स्थानीय प्रहरीले केन्याको मोम्बासास्थित रङ्गिला ग्रिल एन्ड बारमा छापा मार्दा १२ जना नेपाली युवती फेला परेका थिए। उनीहरूको उद्धार गरेर नेपाल फर्काएको थियो। उता नेपाली युवतीको तस्करी गराएर केन्या पुर्याई जवर्जस्ती डान्सबारमा काममा लगाएको आरोपमा  भारतीय मूलका क्यानडाली नागरिक असिफ अमिराली अलिभाई जेठा पक्राउ परेका थिए।

२०७८ मा आएर उनलाई यही केसमा केन्याको मोम्बासास्थित मानव बेचबिखनको मुद्दा हेर्ने अदालतले ३० वर्ष कैद सजाय सुनाएको थियो। उनीमाथिको अभियोग नै नेपाली युवतीको तस्करी र बेचबिखन गरेको तथा अरूको राहदानी नियन्त्रणमा लिएको थियो। यो आरोपमा उनलाई ११ लाख केन्याली मुद्रा सिलिङ जरिवाना समेत भएको थियो।

यो र्याकेटमा विदेशमा समातिएर यति ठुलो जरिवाना भएका जेठा नै सबैभन्दा हाई प्रोफाइलका व्यक्ति थिए। सिआइबीमा बसेर गरेको अनुसन्धानको प्रभाव यो केसमा कतिसम्म पर्यो  त्यो त थाहा भएन। तर आवश्यक सूचनाहरू केन्या, तान्जानियामा पनि पठाएका थियौँ। हाम्रो अनुसन्धानको प्रभावले होस् या केन्याको प्रहरीकै सक्रियताले होस् नेपाली युवती तस्करी गरेर मानव बेचबिखन गराउने जेठा जस्ता तस्कर पक्राउ पर्दा खुसी नलाग्ने कुरै भए।

(प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआईजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)

असार ४, २०८१ बुधबार १७:४०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।