हेमन्त कान्छामाथि दुई गीत चोरीको आरोप, तर गर्छन् ठूला कुरा

हेमन्त कान्छामाथि दुई गीत चोरीको आरोप, तर गर्छन् ठूला कुरा

काठमाडौं : ७३ वर्षीय धन कुमारी गौचनलाई अहिले निन्द्रा लाग्न छाडेको छ। बुढेसकालमा उनको भोक हराएको छ, मनमा शान्ति छैन। यसको मुख्य कारण हो, आफूले गाएको गीतको भाका चोरी हुनु। 

सामाजिक सञ्जाल त्यतिधेरै चलाउन नजान्ने धनकुमारीलाई आफ्नो गीत चोरिएको कसैले सुनाएपछि दुई सातायता निन्द्रा लागेको छैन। उनी न्यायको खोजीमा काठमाडौंमा भौतारिरहेकी छन्। आफ्नो सिर्जना आफ्नै गीतमा सारंगी रेट्ने हेमन्त कान्छा रसाइलीले चोरी गरेको उनको आरोप छ। 

६० वर्षअघि गाउँघरमा गाउँदाको भाकालाई आफूले केही वर्षअघि रेकर्ड गरेको तर त्यहि भाकामा सारंगी बादक हेमन्त कान्छाले गाएर सार्वजनिक गरेको उनको भनाई छ।

धनकुमारीको ‘बचन’ र हेमन्त रसाइलीको एरेन्ज तथा लयमा निर्माण भएको ‘लौरी तिते’को भाका उस्तै छ। ‘बचन’ बोलको गीत सन २०१८ डिसेम्बरमा निकालिएको छ भने अर्को ‘लौरी तितेको’सन २०१९ मा निकालिएको देख्न सकिन्छ। केही दिनअघिसम्म म्युजिक र एरेन्ज हेमन्तकै नाममा रहेको थियो। तर, गीत चोरीको आरोप लागेपछि हेमन्तले ‘लौरी तिते’मा रि-म्युजिक बनाए।

धनकुमारीले आफू अन्यायमा पर्दा आफ्नो पक्षमा बोलिदिने कोही नभएको गुनासो गरिन्।

बुधबार पत्रकार सम्मेलनमा उनले भनिन्, ‘म अन्यायमा परे भन्नलाई कोही पनि चिनेको छैन। म त्यतिबेलाको अबुझ मान्छे, मलाई त्यस्तो होला भन्ने थाहा थिएन।’

उनले यस घटनामा आफूलाई छोरा र श्रीमान्को समेत साथ नभएको बताइन्। 

‘यस्तो पीर पर्छ भन्ने थाहै थिएन। पछि यसो गाउँतिर जान्छु त त्यही गीत गाएको छ, उता हङकङ युकेबाट के हो कुमारी, हेमन्तले त जस्ताको त्यस्तै ‘लाहुरे तिते’को गीत त यहाँ युकेमा आएर गाको छ त। यो गीत त तपाईँले गाउनु भएको थियो होइन र, किन चुप लागेर बसेको भन्ने कुरा गरे’, उनले थपिन्, ‘मलाई त छोरा, बुढा कसैले साथ दिएको छैन।’

हेमन्तलाई गीतको बारेमा आफूले कुरा गर्दा उल्टै फकाएर दुइवटा गीत गाउन लगाएको धनकुमारीको भनाइ छ। 

उनी भन्छिन्, ‘मलाई फकाउनका लागि दुई वटा गीत गाउन अफर गरे। उनको त्यो गीत गाइदिन पनि गएँ।’

यता, आफूलाई गीत चोरीको आरोप लगाएपछि हेमन्त कान्छाले भने धनकुमारीमा माया दया नभएको आरोप लगाए।

उनी सामाजिक संजालमा लेख्छन्, ‘धनकुमारी गौचनलाई राम्रै सहयोग गरेको जस्तो लाग्थ्यो। आज हात धोएर लागी परेको देख्दा, आमाभित्र दयाको मायाको भावना नहरेको पाए फोनमा बोल्दा खेरि पनि।’

हेमन्त कान्छामाथि अर्का गायक तथा सर्जक सुजन बराइलीले पनि आफ्नो ‘मल्ल दरबार’को भाका चोरेको आरोप लगाएका छन्। उनले अनामनगरमा पत्रकार सम्मेलन गर्दै आफ्नो गीत चोरी गरेको र छलफल गरौँ भन्दा हेमन्तले नमानेको आरोप लगाए। 

तर, हेमन्त भने यो आरोप पनि स्विकार्न  तयार छैनन्। उनले आफूले उक्त गीत नचोरेको र सुजनले नै आफ्नो गीतको भाका चोरेर त्यसको ढाकछोप गर्न पत्रकार सम्मेलन गरेको उल्टै आरोप लगाए। 

उनले सामाजिक सञ्जालमा नै लेखेर गीत जसले चोरेको हो उसैले पत्रकार सम्मेलन गर्दा हाँसो लागेको उल्लेख गरेका छन्। 

‘गीतको चोर नै अगाडि बसेर प्रेसमिट गरेको देख्दा हाँसो लायो,’ उनले लेखेका छन्, ‘सामाजिक सञ्जाल अपाच्य शब्द बोलेर चोर फटाहा भन्दै गालीगलौज गरि प्रकाश बराइली नामक पत्रकारको रोबहरमा प्रेसमिट निकालेको देख्दा सुजन बराइलीको बिस्तारै पर्दाफास हुन्छ, नआत्तिनु होला।’ 

प्रतिष्ठानमा पुग्यो निवेदन 
उनीहरुको द्धन्द्धले यतिबेला राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको कार्यालयमा रडाको मच्चिएको छ। हेमन्त कान्छाले आफूले गीतको भाका नचोरेको भन्दै अन्य सर्जकसँग जुहारी खेलेपछि यो विवाद राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानसम्म पुगेको हो। 

त्यसपछि प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर तीनै पक्षलाई राखेर छलफलमा जुटेकी छन्। 

मंगलबार धनकुमारी र सुजन बराइली सहितको टिमले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा निवेदन दिएका छन्। उनीहरूले हेमन्त कान्छा रसाइली विरुद्ध उजुरी दिएका हुन्। 

निवेदन दिन प्रतिष्ठान पुगेकी धनकुमारीले भनिन्, ‘मेरो माग ठुलो छैन। ‘लौरी तितेको’को गीत युट्युबबाट हटाउनु पर्यो, युट्युबबाट जति पैसा आएको छ। त्यो क्षतिपूर्तिबाट मैले पाउनुपर्यो। मेरो नाति समानको मान्छेसँग म शरण पर्न जान्न।’

प्रतिष्ठानले अध्यक्ष मगरले सकेसम्म बुधबार तीनै जनालाई राखेर मिलाउने जानकारी दिएकी छन्। 

‘तीन जनालाई नै प्रतिष्ठानमा छलफल गर्नेछौँ। निष्कर्षमा मिल्छ होला भन्ने लागेको छ,’ उनले भनिन्।

यसअघि सक्किगोनिका कलाकार बलेको उपनामले परिचित सागर लम्सालले आफ्नो बुबाको गीत चोरी भएको भन्दै प्रतिष्ठानमा उजुरी दिएका थिए। सागरका बुबा राजेन्द्र लम्साल र नारायण रायमाझीले गाएको गीत ‘छोडेर आए म’सँगको भाकासँग चीज गुरुङको ‘हावा सरर’सँग मिलेको थियो। उनीहरूबीच पनि लामै चर्काचर्कीपछि प्रतिष्ठानसम्म उजुरी परेको थियो। प्रतिष्ठानमा दुवै पक्षलाई राखेर मिलापत्र परेको थियो।

अध्यक्ष थापाका अनुसार पछिल्लो समय गीत मिलेको र विवादका घटनाहरू प्रतिष्ठानमा आउन थालेको र प्रतिष्ठानमै मिलाउने गरिएको छ। 

'हामीबीचमा मेलमिलाप भइसक्यो'
आफूमाथिको आरोपबारे बोल्दै हेमन्त कान्छाले अहिले मेलमिलाप भइसकेको बताए। 

उनले उकेरासँग भने, ‘लौली तितेको’ गीतमा मेरो तर्फबाट मिलिदिएको छु। अब यस गीतका लय तथा शब्द रचनाकार बाबुराम खत्रीले के गर्छन्। मेन बाबुराम खत्रीको लय हो। ऊ आएर लड्छु फेरि भन्छ भने उसको हिसाबले लड्छ।’

प्रतिष्ठानमा भएको छलफलमा यो गीत युट्युबबाट नहटाउने कुरामा नै सहमति भएको उनले जानकारी दिए। 

‘युट्युबबाट गीत नहटाउने नै कुरा आयो। यस बारेमा बाबुराम खत्रीले नै जे गर्नु उसैले गर्छ। कुरा यति हो,’ उनले भने।

उनले आफ्नो कमजोरीको बारेमा खुल्न भने चाहेनन्। 

असार ४, २०८१ बुधबार २०:४५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।