संसदमा उठ्यो कवाड व्यवसायीको आन्दोलनको विषय, बालेनले पपुलर बन्न अन्याय गरेको आरोप

संसदमा उठ्यो कवाड व्यवसायीको आन्दोलनको विषय, बालेनले पपुलर बन्न अन्याय गरेको आरोप

काठमाडौं : सांसदहरूले आन्दोलनका क्रममा मंगलबार घाइते भएका कवाड व्यवसायीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन्। उनीहरुले कवाड व्यवसायीमाथि विभेद भएको भन्दै सो विषयमा सभामुखबाट रुलिङ हुनुपर्ने र प्रहरीले गरेको धरपकडलाई लिएर गृहमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरे। 

कवाड व्यवसायी र संकलकले मंगलबार काठमाडौंको बानेश्वरमा निर्वाध व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। सो क्रममा  प्रहरीको हस्तक्षेपमा दर्जनौं घाइते भएको  र उनीहरुको उपचार ट्रमा सेन्टरमा भइरहेको उल्लेख गर्दै आजको प्रतिनिधि सभा बैठकमा सांसद डा. अमरेश कुमार सिंहले सरकारसँग सबै घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे। 

उनले भने, ‘आन्दोलनमा तमोर प्रसाद शाह, राजु महतो, केदार शाह नन्द किशोर यादव लगायत दर्जनौं घाइते भएर ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनीहरुको उपचार निःशुल्क होस् सरकारसँग माग गर्न चाहन्छु।’

उनले महानगर प्रमुख बालेन शाहले पपुलर बन्ने नाउँमा व्यवसायीमाथि अन्याय गरेको उल्लेख गर्दै न्यायका लागि व्यवसायीको पक्षमा आफू उभिने बताए। प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्री रवि लामिछानेलेसमेत जवाफ दिनुपर्ने उनको माग छ। 

उनले भने, ‘कवाडी संकलक र व्यवसायीमाथि प्रहरीले जुन ढंगको हस्तक्षेप गरेको छ, लोकतन्त्रको मजाक देखा पर्यो सभामुखज्यू। संवैधानिक हक र शान्ति सुरक्षाको जिम्मा लिएको राज्य जसले हरेक नेपालीको जिउ धनको सुरक्षाको जिम्मा लिएको छ, उनीहरुको सुरक्षा गर्नुपर्नेमा, माग सम्बोधन गर्नुपर्नेमा कानूनी राज्यको प्रत्याभूति गराउनुनको सट्टा लाठीचार्ज गरेर के सन्देश दिन खोजेको हो? मान्य गृहमन्त्रीको जवाफ चाहन्छु।’ 

उनले कवाडी व्यवसायी र संकलकको आन्दोलनमा गृहमन्त्रालयले बल प्रयोग गरेको उल्लेख गर्दै थप भने, ‘शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक हकको ग्यारेन्टी हुन्छ कि हुँदैन? आन्दोलनमा जुन ढंगले बल प्रयोग भएको छ यसले विभिन्न प्रश्नहरू खडा भएको छ। उनीहरूमाथिको बल प्रयोग सामान्य होइन, गृहमन्त्रीले यसमा स्पष्ट जवाफ दिनुपर्छ।’

असार ४, २०८१ बुधबार १४:३४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।