बाइडेन प्रशासनसँग रिसाए नेतन्याहु

बाइडेन प्रशासनसँग रिसाए नेतन्याहु

एजेन्सी : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बाइडेन प्रशासनले हतियार र बारुद उपलब्ध गराउन ढिला गरेको आरोप लगाएका छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटको स्मरण गर्दै प्रधानमन्त्री नेतन्याहूले अमेरिकाले हतियार पठाउन ढिलाइ गरेको आरोप लगाएका छन्। यद्यपि उनले अमेरिकाले युद्धको सुरुवाती क्षणदेखि साथ दिएकोमा प्रशंसा पनि गरेका छन्।

इजरायलका प्रधानमन्त्रीले भने, ‘अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल आउँदा युद्धको सुरुवातदेखि नै अमेरिकाले इजरायललाई दिएको समर्थनको प्रशंसा गरेँ। यसका साथै अर्को कुरा पनि भनेँ। विगत केही महिनादेखि बाइडेन प्रशासनले इजरायललाई हतियार र गोला बारुद पठाउन ढिलाइ गरेको विषय आफूले बुझ्न नसकेको कुरा पनि राखेँ।’

प्रधानमन्त्री नेतन्याहुले इजरायल अमेरिकाको सबैभन्दा नजिकको मित्र भएको स्मरण गराउँदै जीवन रक्षाका लागि इरानलगायतका दुस्मन देशहरूसँग लडिरहेको बताएका थिए। जवाफमा ब्लिन्केनले अवरोधहरू हटाउनका लागि लगातार काम गरिरहेको बताएका थिए।

प्रधानमन्त्री नेतन्याहुले अगाडि भने, ‘यी अवरोधहरू हटाउन चौबीसै घण्टा काम गरिरहेको आश्वासन ब्लिन्केनले दिएका थिए। दोस्रो विश्वयुद्धका बेला चर्चिलले अमेरिकालाई भनेका थिए, तपाईं हामीलाई हतियार दिनुहोस् र हामी युद्ध समाप्त गर्नेछौँ। म अमेरिकालाई अहिले भन्छु, तपाईं हतियार दिनुहोस्, हामी छिट्टै युद्ध समाप्त गर्नेछौँ।’

नेतान्याहुले आफूहरू धेरै मोर्चामा युद्ध लडिरहेको भन्दै हमासलाई समाप्त गरी बन्धकहरूलाई मुक्त नगरेसम्म लडाइँ जारी रहने बताएका छन्।

बाइडेन प्रशासनले गाजामा सर्वसाधारणको हत्याप्रति चिन्ता व्यक्त गर्दै मे महिनादेखि हतियारको आपूर्तिमा ढिलाइ गरेको थियो।

असार ४, २०८१ बुधबार ०८:५७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।