सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिपको पहिलो दिन दिनेश शीर्षस्थानमा

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिपको पहिलो दिन दिनेश शीर्षस्थानमा

काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिपको पहिलो दिन दिनेश प्रजापति ७-अन्डर ६५ को सानदार स्कोरमा शीर्षस्थानमा रहेका छन्।

उनले तोरण विक्रम शाही र एमेच्योर सुमन परियारलाई एक स्ट्रोकले पछि पारे। गोकर्ण गल्फ क्लबमा मंगलबार तोरण र सुमनले ६-अन्डर ६६ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थान बाँडे।

डिफेन्डिङ च्याम्पियन सुबाश तामाङ, भुवन नगरकोटी र एमेच्योर सदभाव आचार्य ४-अन्डर ६८ सहित संयुक्त रूपमा चौथो स्थानमा रहे। ३-अन्डर ६९ को स्कोरमा एमेच्योर विजय श्रेष्ठ आइन्हाउस सातौं र अर्का एमेच्योर वाङचेन ढोन्डुप २-अन्डर ७० सहित वाङचेन ढोन्डुप आठौं स्थानमा छन्।

१-अन्डर ७१ स्कोर खडा गरेका रवि खड्का, निरज तामाङ, धन बहादुर थापा र सञ्जय लामा तथा एमेच्योर तेन्जिङ पाल्देनले संयुक्तरुपमा नवौं स्थान बाँडे।

पहिलो दिन उत्कृष्ट स्कोर निकाल्ने क्रममा दिनेशले बोगी रहित ७-अन्डरको स्कोर दर्ज गरे। सात बर्डी प्रहार गरेका दिनेशले सुरूवात राम्रो गरे। दोस्रो, तेस्रो, चौथो र छैटौं होलको बर्डीले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए।

यसपछि ब्याक नाइनमा पनि यही लयलाई निरन्तरता दिए। १३औं, १४औं र १७औं होलमा पनि एक-एक सट बचाए। उनले ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे।

तोरणले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए। दोस्रो होलमा एक सट खेर फाले भने तेस्रो होलमा बर्डी प्रहार गरे। यसपछि ब्याक नाइनमा उनले लोभलाग्दो प्रदर्शन गरे। १०औं, १३औं, १५औं र १७औं होलमा बर्डी प्रहार गरे। ५-पारको पाँचौ होलमा इगलको सफलता हात पार्दै ब्याक नाइन ६-अन्डर ३० मा सकाए।

एमेच्योर सुमनले उत्कृष्ट सुरूवात गर्दै फ्रन्ट नाइन ५-अन्डर ३१ मा सकाए। उनले तेस्रो देखि छैटौं होलमा लगातार चार बोगी प्रहार गरे। आठौं होलमा पनि एक सट बचाए। यसपछि दशौं होलमा एक सट खेर फाले भने ११औं र १३औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए।

पुरस्कार राशीको आधारमा सिजनकै ठुलो प्रतियोगितामा ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरिरहेका छन्।

कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ७५ हजार र १ लाख २२ हजार प्राप्त गर्नेछन्।

यस्तै चौथो र पाँचौ हुनेलाई १ लाख २ हजार र ८० हजार प्रदान गरिनेछ। दुई दिनको खेल पश्चात कट लागु हुनेछ। ३६ होलको समाप्तीमा उत्कृष्ट २१ र टाइमा पर्ने खेलाडीहरूले मात्र अन्तिम दुई दिनको खेलका लागि स्थान बनाउनेछन्। एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नु पर्नेछ।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप अन्तर्गत प्रो-एम प्रतियोगिता शनिबार हुनेछ। जहाँ २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागीता रहनेछ।

असार ४, २०८१ बुधबार ०७:४६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।