युरोकपमा पोर्चुगलको विजयी सुरुवात, टर्कीसँग हार्यो जर्जिया

युरोकपमा पोर्चुगलको विजयी सुरुवात, टर्कीसँग हार्यो जर्जिया

काठमाडौं : जर्मनीमा जारी युरोकपमा पोर्चुगलले विजयी सुरुवात गरेको छ।

गए राति भएको आफ्नो पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि २-१ गोलले जित हात पार्यो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफ भने रोमाञ्चक बन्यो।

खेलको ६२औं मिनेटमा चेक रिपब्लिकका लुकास प्रोभोडले गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर, त्यो अग्रता लामो समय टिक्न सकेन।

खेलको ६९औं मिनेटमा चेक रिपब्लिकका रोबिन ह्रानकले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो। ९० मिनेटसम्म पनि खेल बराबरीमा गएको थियो।

तर, इन्जुरी समयको दोस्रो मिनेटमा फ्रान्सिस्को कोन्सिकाओले गोल गरेपछि खेल पोर्चुगलको पक्षमा गयो।

यस्तै सन् २००४ देखि २०२४ सम्मका लगातार ६ वटा संस्करणको युरोकप खेलेर क्रिष्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाए। छ संस्करणको युरो कप खेल्ने रोनाल्डो पहिलो खेलाडी बनेका हुन्।

जारी सिजनमा पोर्चुगल र चेक रिपब्लिक समूह ‘एफ’मा छन्। सोही समूहमा भएको अर्को खेलमा टर्कीले जर्जियालाई ३-१ गोल अन्तरले पराजित गर्यो।

टर्कीका लागि खेलको २५औं, ६५औं र इन्जुरी समयको सातौं मिनेटमा क्रमशः मेर्ट मुल्दुर, अर्दा गुलेर र मोहम्मद करीम एक्टुरकोग्लुले गोल गर्दा जर्जियाका जर्जस मिकाउट्डेजले ३२औं मिनेटमा एक गोल गरे।

असार ४, २०८१ बुधबार ०७:२३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।