शिक्षामन्त्री सुमनाको सय दिन : ८२५ शिक्षकले राजनीतिक आबद्धता त्यागेको दाबी

शिक्षामन्त्री सुमनाको सय दिन : ८२५ शिक्षकले राजनीतिक आबद्धता त्यागेको दाबी

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको एक सय दिनको कार्यविवरण सार्वजनिक गर्दै शिक्षकलाई राजनीतिक दलको आबद्धता छाड्न लगाउनुलाई उपलब्धि बताएकी छन्। 

मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलनको गर्दै मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व गरेयता ८ सय २५ जना शिक्षकहरूले राजनीतिक दलसँगको आबद्धता त्याग गरेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा राजनीतिकरण आफ्नै कार्यकालमा अन्त्य गर्ने दाबी गरिन्। शिक्षक सरुवाको मापदण्ड बनिसकेको उल्लेख गर्दै उनले त्यसका लागि नियमावलीका काम गरिरहेको बताइन्। 

उनले भनिन्, ‘विशेष परिस्थितिका शिक्षकहरूको सरुवाका लागि २०८० सालमा एउटा निर्देशिका बनेको थियो। शिक्षक वास्तविक सरुवा कसरी गर्ने भनेर मापदण्ड बनाउने भनिएको थियो। तर, त्यो मापदण्ड नबनेको केसमा हामीले निर्देशिका बनाएका छौं। अब हामी शिक्षक पोर्टल बनाएर त्यसमा समाहित गर्नेछौं। निर्देशिका स्वीकृत भएको छ र नियमावली बनाउने काम भइरहेको छ।’

शिक्षक विधेयक कहिले आउने भनेर आफूलाई निरन्तर प्रश्न आइरहेको बताउँदै उनले आफ्नो नियन्त्रणमा नरहेका कारण यकिनसाथ भन्न नसकिने बताइन्। सरकारले मौखिक र लिखित रूपमा चाँडै ल्याउन आग्रह गरिसकेको उनको भनाइ छ। 

त्यस्तै, उच्च शिक्षामा उच्च पदाधिकारी नियुक्तिको लागि कार्यविधि तथा मापदण्ड बनाएर काम काम गर्न थालिएको उनले बताइन्।

शिक्षाका उच्च अधिकारी नियुक्ति गर्दा राजनीतिक भागबन्डाभन्दा पनि योग्यता, उपयुक्तता हेरेर गर्ने नजिर बसाउन थालेको उनको भनाइ छ। 

असार ३, २०८१ मंगलबार १८:०५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।