सेयर बजार १८.७६ अंकले घट्यो, ४ अर्बमाथिको कारोबार

सेयर बजार १८.७६ अंकले घट्यो, ४ अर्बमाथिको कारोबार

काठमाडौं : सार्वजनिक बिदापछि खुलेको सेयर बजारको कारोबार विस्तारै ओरालो लागेको छ। मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दुमा रह्यो। ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको छ। 

यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रहँदा १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको थियो। गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ थियो।

मंगलबार १३ उप-समूहमा सबै घटेका छन्। वाणिज्य बैंक १.१६ र फाइनान्स उप-समूह १.०४ प्रतिशतले घटेका छन्। १९८ कम्पनीको सेयर मूल्य घट्दा मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखारी साना जलविद्युतका लगानीकर्ता बढी नोक्सानमा छन्। यी दुई कम्पनीको सेयरमा नेगेटिभ सर्किट लागेको छ। 

बाराही, भगवती,मेन्छियामलगायतका हाइड्रोपावरको सेयर मूल्य पनि घटेको छ। 

जलविद्युत उप-समूह घटे पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा भने जलविद्युत कम्पनी नै परेको छ। वरुण हाइड्रोपावरको ११ करोड २७ लाखको सेयर कारोबार भएको छ। यस्तै, सीइडीबी हाइड्रोपावरको १० करोड ३७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड ३७ लाख, ग्लोबल आइएमई लघुवित्तको ९ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

४० कम्पनीको सेयर मूल्य बढ्दा सर्वाधिक फाइदामा समाज लघुवित्तका लगानीकर्ता छन्। उक्त लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ। माण्डु हाइड्रोपावर, वीन नेपाल लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर लगायत बढेका छन्। ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

असार ४, २०८१ मंगलबार १६:००:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।