संसदमा चर्किए ज्ञानेन्द्र शाही, ओलीको आलोचनापछि क्षेत्रफलको कुरा निकाल्दा सभामुखले माइक काटे

संसदमा चर्किए ज्ञानेन्द्र शाही, ओलीको आलोचनापछि क्षेत्रफलको कुरा निकाल्दा सभामुखले माइक काटे

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्रबहादुर शाहीले धनुषा र झापामा भन्दा कम बजेट कर्णालीमा हालेको भन्दै भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठको आलोचना गरेका छन्।

प्रतिनिधिसभाको आकिस्मक समयमा सांसद् शाहीले समग्र प्रदेशमा भन्दा बढी बजेट दुई जिल्लामा परेको भन्दै उनको चर्को आलोचना गरेका हुन्।

संसदमा र बजेटमा कर्णालीलाई अपमान गरेको भन्दै उनले कर्णालीलाई अपमान गर्ने भए नेपाली भषा संसदमा नबोल्न पनि चेतावनी दिएका छन्।

भौतिक पूर्वाधार मन्त्रालयले धनुषामा ८ अर्ब ७७ करोड र झापामा ६ अर्ब ७० करोड गरी १५ अर्ब ४७ करोड रुपैयाँ बजेट विनियोजन गर्दा समग्र कर्णाली प्रदेशका १० जिल्लालाई ७ अर्ब ३७ करोड रुपैयाँ विनियोजन गरेको छ।

उनले प्रश्न गरेका छन्, ‘भौतिक पूर्वाधार मन्त्री झापा र धनुषाको मात्र हो कि नेपालको हो? यदि नेपाल कै हो भने कर्णालीलाई विभेद गर्न पाइँदैन।’

२०५६ सालमा कर्णाली एमालेमय भएको र २०६४ मा माओवादीको लाल किल्ला भएको स्मरण गराउँदै उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि आलोचना गरे।

ओलीको चर्को आलोचना गरेपछि त्यहाँको क्षेत्रफल र जनसंख्याको विषयमा प्रवेश गरेपछि सभामुख देवराज घिमिरेले उनलाई बस्न भन्दै माइक काटिदिएका थिए। त्यसपछि पनि सांसद शाही र सभामुख घिमिरेबीच केही संवाद चलेको थियो।

सांसद शाहीलाई पछाडिबाट पार्टीका सांसद् दीपकबहादुर सिंहले बस्न भनेपछि उनी बसेका थिए।

असार ३, २०८१ मंगलबार ११:५५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।