युरोकपमा फ्रान्स, स्लोभाकिया र रोमानियाको जित

युरोकपमा फ्रान्स, स्लोभाकिया र रोमानियाको जित

काठमाडौं : युरोकप फुटबलअन्तर्गत गएराति भएका खेलमा फ्रान्स, स्लोभाकिया र रोमानियाले जित हासिल गरेका छन्।

जर्मनीमा जारी प्रतियोगितामा समूह ‘ई’ अन्तर्गतका खेलमा रोमानियाले युक्रेनलाई ३-० ले पराजित गर्यो। रोमानियाले युरो च्याम्पियनसीपमा २४ वर्षयताकै पहिलो जित हात पारेको हो।

जितसँगै रोमानियाले बेल्जियम र स्लोभाकिया सम्मिलित समूहमा आफूलाई बलियो स्थानमा उभ्याएको छ। रोमानिया छनोट चरणमै अपराजित थियो।

अहिलेको जितसँगै रोमानिया प्रतियोगिताकै बलियो टिम साबित भएको छ। रोमानियाका लागि खेलको २९औं मिनेटमा निकोलाय स्टानक्लुले गोल गर्दै रोमानियालाई अग्रता दिलाए। उनले यसका लागि २० यार्डबाट शक्तिशाली प्रहार गरेका थिए।
दोस्रो हाफमा रोमानियाले ५ मिनेटको अन्तरमा दुई गोल गर्यो। राजभान मारिनले ५३औं मिनेटमा दोस्रो गोल गरे। यो पनि लामो दूरीबाट शक्तिशाली प्रहारमै सम्भव भएको थियो।

यस्तै डेनिस ड्रागसले ५७ औं मिनेटमा तेस्रो गोल थपे । दोस्रो हाफको अधिकांश समय युक्रेनको पकडमा रहे पनि टोलीले गोल गर्न सकेन।

यस्तै गएराति भएको यही समूहको अर्को खेलमा स्लोभाकियाले बेल्जियमलाई १-० गोलले पराजित गरेको छ।

भाकियासँग अप्रत्यासित हार बेहोरेपछि बेल्जियम दबाबमा परेको छ। खेलको सातौँ मिनेटमै स्लोभाकियाका लागि इभान श्रान्जले गोल गरे, जुन खेलको निर्णायक बन्यो।

त्यस्तै, समूह ‘डी’ को अर्को खेलमा फ्रान्सले अष्ट्रियालाई १-० पराजित गर्यो। खेलमा फ्रान्सेली स्टार खेलाडी एम्बाप्पे चम्किन सकेनन्।

अन्त्यतिर उनको नाकमा चोट लागेर रगत बगेपछि उनी सब्स्टिच्युटमा परे। अष्ट्रियाका म्याकमिलियन वबरले ३८ औँ मिनेटमा आत्मघाती गोल गर्दा फ्रान्सका नाममा जित दर्ता भयो।

असार ३, २०८१ मंगलबार १०:०७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।