बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने फैसला पुनरावलोकनमा लैजान र न्यायाधीशलाई कारबाही गर्न डा केसीको माग

बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने फैसला पुनरावलोकनमा लैजान र न्यायाधीशलाई कारबाही गर्न डा केसीको माग

काठमाडौं : चिकित्सा शिक्षा सुधारक अभियन्ता डा गोविन्द केसीले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले गरेको फैसलामा त्रुटी भएको भन्दै पुनरावलोकन प्रक्रियामा लैजान माग गरेका छन्।

मंगलबार एक विज्ञप्ति निकालेर डा केसीले चिकित्सा शिक्षा ऐन तथा नियमावलीको ठाडो उल्लंघन गर्दै सर्वोच्च अदालतको संयुक्त इजलासबाट आएको फैसलाले आयोगको अस्तित्वमाथि थप प्रहार गरेको भन्दै पुनरावलोकनमा लैजान चिकित्सा शिक्षा आयोगसँग माग गरेका हुन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासबाट हुनुपर्ने फैसला दुई सदस्यीय इजलासबाट फैसला हुनु, महिनौंसम्म संक्षिप्त आदेशसमेत नदिनु, फैसलाको मुल आदेश विरोधाभासपूर्ण हुनु, अदालतमा दुवै पक्षबाट प्रस्तुत दलिलहरूमध्ये निवेदकको तर्फबाट प्रस्तुत दलिलहरूलाई जस्ताको तस्तै स्वीकारिनु तर विपक्षबाट प्रस्तुत महत्वपुर्ण दलिलहरू फैसलामा राख्दै नराख्नुले फैसलामा गम्भीर न्यायिक विचलन भएको उनको आरोप छ।

विज्ञप्तिमा भनिएको छ, ‘फैसलामा भएका त्रुटीहरू सच्याउन तत्काल फैसलाको न्यायिक पुनरावलोकनको प्रक्रिया शुरु गर्न चिकित्सा शिक्षा आयोगसँग माग गर्दछौँ। आयोगको बैठक आज बस्दैछ भन्ने जानकारीमा आएकाले आयोगका सबै सदस्य महानुभावहरूलाई चिकित्सा शिक्षा ऐनको रक्षार्थ न्यायिक पुनरावलोकन प्रक्रिया तत्काल शुरू गर्ने निर्णय गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।’

आयोगलाई नेता र माफियाहरूका स्वार्थपूर्ति गर्ने थलोको रूपमा विकसित गर्ने क्रममा राजनीतिक दलका शिर्षस्थ नेता, कार्य कर्ता र केही न्यायाधीश देखि लिएर विभिन्न तत्व अहिले बढी सक्रिय हुँदा चिकित्सा शिक्षा आयोगको अस्तित्व नै धरापमा परेको उनको भनाइ छ।

आयोगका पूर्व पदाधिकारीहरूले विगतमा अदालतको सामान्य त्रुटिपूर्ण फैसलाको विरुद्ध पुनरावलोकन प्रक्रियामा गई मुद्दा जितेको स्मरण गराउँदै उनले नेपालीको वर्षौंको अथक प्रयास र दबाबबाट प्राप्त ऐन तथा आयोगको रक्षाको लागि सधैँ कटिबद्ध भएको बताए।

डा केसीले त्रुटिपुर्ण फैसला गर्ने न्यायाधीशलाई संसदीय प्रक्रियाबाट जवाफदेही बनाउन माग गर्दै इजलासका वरिष्ठतम् न्यायाधीशलाई न्याय सम्पादन कार्यबाट अलग्याई थप आवश्यक कारबाही अघि बढाउन न्याय परिषद्को समेत ध्यानाकर्षण गराएका छन्।

साथै उनले आफ्ना मागहरू पूरा नभए यसअघिकै प्रेस विज्ञप्तिअनुसार असार १४ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनीसमेत दिएका छन्।

असार ३, २०८१ मंगलबार ०९:३४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।