२४ वर्षपछि उत्तर कोरियाको भ्रमण गर्दै रुसी राष्ट्रपति पुटिन

२४ वर्षपछि उत्तर कोरियाको भ्रमण गर्दै रुसी राष्ट्रपति पुटिन

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक मंगलबार उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्।

भ्रमणका क्रममा पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनसँग राजधानी प्योङयाङमा भेटवार्ता गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

दुई नेताबीच गत वर्ष सेप्टेम्बरमा रुसी सहर भ्लादिभोस्टोकमा पनि भेट भएको थियो। सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण गरेको यो पहिलो पटक हो।

अमेरिकाले ‘दुई देशबीचको सम्बन्धलाई गहिरो बनाउने’बारे चिन्ता व्यक्त गरेको छ।

क्रेमलिनले यसलाई ‘राजकीय मैत्री भ्रमण’ भनेको छ। रूसी मिडियाका अनुसार, पुटिन र किम जोङ उनले सुरक्षाका मुद्दाहरू सहित साझेदारी सम्झौतामा हस्ताक्षर गर्ने र संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम तय भएको छ।

पुटिनले प्योङयाङमा रहेको उत्तर कोरियाको एक मात्र अर्थोडक्स चर्च अफ द लाइफ गिभिङ ट्रिनिटीको भ्रमण गर्नसक्ने बताइएको छ।

पुटिन प्योङयाङको कुमसुसन गेस्टहाउसमा बस्नेछन्, जहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङले २०१९ मा उत्तर कोरियाको राजकीय भ्रमणको क्रममा बसेका थिए।

पुटिनको भ्रमण टोलीमा रक्षामन्त्री आन्द्रेई बेलोसोफ, विदेशमन्त्री सर्गेई लाभरोभ र उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाक रहनेछन्।

असार ३, २०८१ मंगलबार ०८:५०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।