पुरनको ९८ रनको योगदानमा वेस्ट इन्डिजले अफगानिस्तानलाई दियो २१९ रनको लक्ष्य

पुरनको ९८ रनको योगदानमा वेस्ट इन्डिजले अफगानिस्तानलाई दियो २१९ रनको लक्ष्य

काठमाडौं : आईसीसी टी२० विश्वकपमा समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई २१९ रनको लक्ष्य दिएको छ।

सेन्ट लुसिया डरेन सामी नेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रन बनायो।

टी२० विश्वकपमा वेस्ट इन्डिजले बनाएको यो सबैभन्दा ठूलो स्कोर हो भने जारी विश्वकपमा बनेको यो नै सबैभन्दा ठूलो रन हो।

वेस्ट इन्डिजका लागि निकोलस पुरनले ९८ रनको अर्धशतकीय पारी खेले। ५३ बलको सामना गरेका उनले ६ चौका र आठ छक्का हिर्काए।

त्यसबाहेक जनसन चार्ल्स ४३, रोभमन पावल २६, साइ होप २५, ब्रान्डन किङ्ग ७ रनमा आउट हुँदा आन्द्रे रसल र सेरफन रथरफर्डले क्रमशः ३ र १ रन बनाएर नटआउट रहे।

अफगानिस्तानका लागि गुल्बादिन नैबले दुई तथा नवीन उलहक र अजमतुल्लाह ओमरजाइले एक–एक विकेट लिए।

अफगानिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ। जारी विश्वकपमा यी दुवै टोली सुपर आठमा प्रवेश गरिसकेका छन्।

असार ३, २०८१ मंगलबार ०८:०३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।