किन आन्दोलित छन् क्रसर तथा खानी उद्योग व्यवसायी ?

किन आन्दोलित छन् क्रसर तथा खानी उद्योग व्यवसायी ?

काठमाडौं : नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरू आन्दोलित भएका छन्। सोमबार माइतीघरमण्डलामा व्यवसायीहरूले सरकारविरुद्ध नारासमेत लगाए। सरकारले क्रसर उद्योगका नवीकरण नगरेको र मुद्दाहरू सम्बोधन नगरेको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन्। 

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले कानून अनुसार तिर्नुपर्ने कर एवं दस्तुर आफूहरू तिर्न तयार रहेको भएपनि उद्योग नवीकरण गर्न सरकारले आनाकानी गरेको बताए।  

उनले भने, ‘यो आन्दोलन कानूनी न्यायको लागि हो । सरकारले हामीलाई कानूनी अधिकारबाट बञ्चित गरेको छ। क्रसर उद्योगहरू नवीकरण भएका छैन, कानूनी रुपमा दर्ता भएका उद्योगहरू नवीकरण नगरिनु व्यवसायीहरूमाथि अन्याय हो। व्यवसायीहरू कानून अनुसार तिर्नुपर्ने कर एवं दस्तुरहरू तिर्न तयार छन्, कानून अनुसारको कर लिएर उद्योगहरू नवीकरण गर्नुपर्छ भन्ने हाम्रो माग हो।’

उनले सरकारले सम्बोधन नगरे निजी क्षेत्र, नागरिक एवं पीडितहरू सडकमार्फत आन्दोलन चर्काउने चेतावनी दिए। आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ। 

उनले भने, ‘मागहरूलाई सरकारले सम्बोधन नगरेर निजी क्षेत्र, उद्योग व्यवसायी, स्वदेशी कच्चा पदार्थमा आधारित रहेर रोजगारी सिर्जना गर्नेहरू र राज्यलाई कर तिरिरहेका व्यवसायीहरूलाई सडकमा उत्रिनु सरकारका लागि दबाब पर्नेछ।’

असार २, २०८१ सोमबार २१:५६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।