सञ्जीव झा : जसले दुग्ध विकास संस्थान डुबायो, शक्ति केन्द्रको आडमा उही फेरि महाप्रबन्धक बन्ने प्रयासमा

सञ्जीव झा : जसले दुग्ध विकास संस्थान डुबायो, शक्ति केन्द्रको आडमा उही फेरि महाप्रबन्धक बन्ने प्रयासमा

काठमाडौं : नेपालका ४६ संस्थानमध्ये दुग्धजन्य पदार्थको संकलन र बिक्री वितरण गर्ने सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) अनियमितता, बेथिति र भ्रष्टाचारले थिलथिलो बन्दै गएको छ। मुलुकको अर्थतन्त्रमा करिब ९ प्रतिशत योगदान दिएको दुग्ध व्यवसायमा करिब ३० लाख किसान र १८ हजार दुग्ध व्यवसायी संलग्न छन्।

दुग्ध व्यवसायमा आबद्ध किसानलाई डीडीसीले एक अर्ब ३२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ। संस्थानको घाटा ४२ करोडभन्दा बढी छ। स्रोत साधन र अधिकारसम्पन्न भए पनि संस्थानमा रहेको वित्तिय अनुशासनको कमीका कारण धरासायी बन्दै गएको छ।

यसको जिम्मेवारमध्ये एक हुन् सञ्जीव झा। उनी संस्थानको महाप्रबन्धक रहँदा संस्थामा वित्तिय अनुशासन थप कमजोर बन्दै गयो। उनै झा अहिले पुनः महाप्रबन्धक बन्न शक्तीकेन्द्र धाउँदै छन्।

उनी दुई वर्ष महाप्रबन्धक रहँदा झाले संस्थान ओरालो लाग्यो। चैत १२ मा झाको कार्यकाल सकिएको थियो। उनको  शैक्षिक योग्यतासम्बन्धी प्रश्न उठेको थियो। अदालत, अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उनी विरुद्द उजुरी छ। उपभोक्ता हित संरक्षण समितिले कृषि तथा पशुपंक्षी मन्त्रालयको २०७८/७९ को खुल्ला प्रतिस्पर्धाबाट विज्ञापनमा सहभागी हुँदा पेस गरेका कागजात झुटो भएको दाबीसहित सर्वोच्च अदालतमा रिट परेको थियो।

महाप्रबन्धकमा नियुक्ति लिँदा अस्तित्वमा नै नभएको संस्थाको कीर्ते अनुभव पेश गरेको आरोप लागेका झाको योग्यता र अनुभव सम्बन्धी मुद्दाको अझै अन्तिम किनारा लागेको छैन। 

हाल डीडीसीमा आठौं तहमा कार्यरत कर्मचारी झा संस्थानमा कार्यरत निमित्त उप-महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक तथा डीडीसीका पदेन सदस्य राजेन्द्र प्रसाद यादवमाथि सीआईबीमा ठगी, विश्वासघात तथा आपराधिक लाभ (एक्सटन)सम्बन्धी कसुर समेत दर्ता भएको छ।

झामाथि संस्थानको महाप्रबन्धक रहँदा दुग्ध किसानको नागरिकता जम्मा गरी आफ्नो कीर्ते दस्तखत गरि बैंक खाता खोलेर रकम जम्मा गर्न लगाउने गरेको आरोप समेत छ। झाले दुग्ध संकलन केन्द्रहरूका कर्मचारीहरूलाई प्रभावमा पारी दूधको गुणस्तर छैन, कम फ्याट छ, दूधको मात्रा कम छ, मिसावट छ भनेर किसानलाई थोरै मूल्य दिई ठगेको आरोप खेप्दै आएका थिए।

महालेखा परीक्षकको प्रतिवेदनले संस्थानमा करिब ८२ करोड बेरुजु देखाएको छ। झालाई सञ्चालक सदस्य राजेन्द्र प्रसाद यादव समेतको साथ सहयोग देखिन्छ।

झा महाप्रबन्धक हुँदा सर्लाहीको बलारामा मापदण्ड विपरीत दुई देशीय बोर्डर लाइनमा पाँच सय मिटर समेत नपुग्ने ठाउँमा दूध चिस्यान केन्द्र खोली बोर्डर पारीको गुणस्तरहीन दूध ल्याई चितवनको चनौली र माडी दुग्ध चिस्यान केन्द्रमार्फत काठमाडौं भित्र्याई गुणस्तरहीन दूध विक्री वितरण गरेको आरोप लागेको थियो।

किसान, दुग्ध सहकारी संस्था, पशु फर्म र डेरीहरूलाई दिनुपर्ने भुक्तानीमा आफ्नो निजी मोबाइल एप प्रयोग गरी जसले छिटो र बढी कमिसन दिन्छ त्यही संस्था र फर्महरूलाई बिभेदपूर्ण ढंगबाट भुक्तानी दिएको समेत आरोप लागे पनि सम्बन्धित निकाय मौन छ।

उनले संस्थानका पार्ट-पुर्जाहरूलाई स्तरोन्नति गर्न भनेर सहुलियत कर्जाको रुपमा दिइएको १५ करोड रकमसमेत संस्थाको स्तरोन्नति नगरी आफ्नै तजबिजले कर्मचारीको सेवा सुविधा र भरणपोषणमा खर्च देखाई रकम हिनामिना गरेको आरोप समेत छ।

-नेपाल न्युज बैंकबाट। 

असार २, २०८१ सोमबार २०:४९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।