पूजाको स्क्यान्डल छवि अनि स्वार्थमा जे नि बोल्ने स्वभावले दान्भी डुब्न बेर छैन

पूजाको स्क्यान्डल छवि अनि स्वार्थमा जे नि बोल्ने स्वभावले दान्भी डुब्न बेर छैन

काठमाडौँ : जब नाबालिग बलात्कारको आरोपमा पल शाहविरुद्ध प्रहरीमा जाहेरी पर्यो, जाहेरीमा उनै पलको मात्र नाम थियो। अदालती प्रक्रियामा पनि उनी मात्रै तानिए। तर त्यो प्रकरणमा तीन जना भिलियनका रूपमा उदाए, पल, निर्देशक सुदर्शन थापा अनि अभिनेत्री पूजा शर्मा।

त्यो बेलामा पल अभिनीत फिल्म म यस्तो गीत गाउँछु-२ रिलिजको मुखैमा जाहेरी दर्ता भएपछि उनी भूमिगत भए केही दिन। उनलाई लुकाउन भूमिका खेलेको शङ्कामा निर्देशन थापासँग प्रहरीले केराकारै गर्यो। उता पूजा पलको पक्षमा खुलेर लागेकी थिइन्। पलले सरेन्डर गरेपछि पनि पलप्रति पूजाको समर्थन कायम रह्यो।

पीडित नाबालिगलाई प्रहरी र मिडियामा जानबाट रोक्न पूजाले राम्रै भूमिका निभाएको पछि खुल्दै गएको थियो। त्यसको स्वार्थ त्यही फिल्मसँग गएर जोडिएको थियो। किनकि फिल्मको प्रड्युसर पूजा अनि सुदर्शन आफैँ थिए।

गम्भीर आरोप लागेको व्यक्तिलाई किन यस्तो खुल्ला समर्थन भनेर जिज्ञासा राख्नेहरूलाई यी दुवैले’ लगानी उठाउनु पर्दैन’ भन्ने जवाफ दिन्थे।

यो बिचमा धेरै दृश्य बदलिए। जिल्लाहुँदै उच्चबाट सफाइ पाएर पल शाह आफैँ फिल्म क्षेत्रमा सक्रिय हुने प्रयासमा छन्। तर कानुनी तरबार भने अझैँ झुन्डिएकै छ। सर्वोच्च अदालतले उनको मुद्दाको सुनुवाइ खुलाएको छ।

नबदलिएको भनेको पूजाको स्वभाव र स्वार्थ मात्रै हो। फिल्म चलाउन जस्तोसुकै नौटङ्की गर्न तयार हुने उनको स्वभाव दान्भीसम्म आउँदा उस्तै देखिन्छ।

पल छुटेपछि पूजा उनी निकट देखिने नै भइन्। तर यो बिचमा पीडित तत्कालीन नाबालिगको आत्मविश्वाससँगै उनी आफ्नो गायनमा सक्रिय हुन थालिन्। कुनै समय एकछत्र नकारात्मक माहौल बिस्तारै बदलिँदै गयो। माहौल उनको पक्षमा जान थालेपछि पूजा क्यास गर्न सक्रिय नहुने कुरै भएन।

त्यही बेलामा उनी रेस्टुरेन्ट व्यवसायमा पनि प्रवेश गरेकीले उता पनि व्यापारिक स्वार्थ जोडिने नै भयो। उनी एकाएक ती गायिकासँग नजिक मात्र भइनन्, हिजोका दिनमा पललाई साथ दिएकोमा पछुतो लागेको भन्दै अब त कहिल्यै साथ नदिने भन्दै कसमै खाइन्।

तर कसम खाएको एक हप्तामै पूजाले पललाई विभिन्न लफडाले निर्माण रोकिएको फिल्म रावायणमा अनुबन्ध गरिन्। सुटिङ सुरु भयो। तर यो पाली पल समातिएनन्। समातिने सूचीमा परे पूजाको प्रिय निर्देशक सुदर्शन थापा। दुई घटनाले जो पूजाको प्रिय भयो त्यो पक्का जेल गयो भने जस्तै देखियो।

काठमाडौँमा सुटिङ गर्न आएका बेलामा उनी बौद्ध प्रहरीको हिरासतमा पुगे। हाजिर जमानीमा त छुटे सुदर्शन तर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ एक करोड ५० लाख ठगीको।

अब कुन दिन पूजाले कसलाई’कस्सम् म सुदर्शनलाई साथ दिन्न’ भन्न बेर छैन। किनकि पटक-पटकको व्यवहारले उनी आफैंले स्वार्थ पुरा गर्न द्वैध चरित्र देखाउनु कुनै नयाँ हैन भन्ने देखाइसकेकी छिन्।

पूजाको यस्तै पारा कायम रहने हो भने फिल्म दान्भीका निर्मातालाई भने नराम्रो झड्का लाग्ने जोखिम देखिन्छ नै। कारण पल अभिनीत 'पुजार सार्की' एक हदसम्म राम्रै चल्यो। तर पलको अभिनय रहेकै कारण फिल्म नहेर्ने दर्शक पनि देखिए। फिल्म त चल्यो तर प्रशंसा पलको हैन प्रदीप खड्का र आर्यन सिग्देलले पाए।

पूजाको स्क्यान्डल छवि अनि स्वार्थका लागि जे पनि बोलिदिने स्वभावले 'दान्भी'लाई डुबाउन बेर छैन।

असार २, २०८१ सोमबार १९:२२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।