समाजवादको झण्डा फहराउँदै अघि सार्ने पार्टी नै ‘एकीकृत समाजवादी’ हो : माधव नेपाल

समाजवादको झण्डा फहराउँदै अघि सार्ने पार्टी नै ‘एकीकृत समाजवादी’ हो : माधव नेपाल

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले महाधिवेशन लगत्तै पहिलो पार्टी बन्ने गरी काम गर्ने बताएका छन्। 

सोमबार अनेमसंघ (समाजवादी) को मुखपत्र विमोचन कार्यक्रममा उनले अहिले पार्टीमा विचारको कुनै मतभेद नरहेको भन्दै महाधिवेशनबाट नै पहिलो पार्टी बन्नेगरी काम गर्ने दाबी गरे।

अध्यक्ष नेपालले भने, ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन। किनभने समाजवादको झण्डा फहराउँदै अघि सार्ने पार्टीको नाम नै हो ‘नेकपा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी’। समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौं। त्यसैले पहिलो दिनदेखि नै पाइला त्यतै सारेका छौं।’

उनले आगामी महाधिवेशनबाट आफ्नो पार्टी पहिलो बन्ने विश्वास व्यक्त गरे। 

‘हामी महाधिवेशनबाट नै पहिलो पार्टी बन्न गइरहेका छौं जसले नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्दैछ। यसका निम्ति हाम्रा सम्पूर्ण नेता र कार्यकर्ताहरूको कुनै एउटाको होइन। सामूहिक बुद्धिबाट नै हामीले दस्तावेजहरू अगाडि सारिरहेका छौं,’ उनले भने। 

उनले नेपाली समाजको रुपान्तरणका लागि वर्तमान निर्वाचन प्रणाली र संरचना परिवर्तन गर्न आवश्यक रहेको बताए। 

अहिलेको व्यवस्थामा पनि महिलामाथिको हिंसा र दलितमाथिको अत्याचार पीडादायी रहेको भन्दै सुधार गर्न जरुरी रहेको उनको भनाई छ। 

असार २, २०८१ सोमबार १८:०७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।