५१ वर्षीय पुरुषको हत्या गरेर शव नै गायब पार्न खोजेको आरोपमा एक शिक्षिका पक्राउ

५१ वर्षीय पुरुषको हत्या गरेर शव नै गायब पार्न खोजेको आरोपमा एक शिक्षिका पक्राउ

काठमाडौं : बैतडीमा एक पुरुषको शव फेला परेको छ। शव फेला पर्नेमा पाटन नगरपालिका–६ का ५१ वर्षीय वीरभान सिंह विष्ट रहेका छन्। 

शव सोमबार बिहान पाटन नगरपालिकाकै सूर्यनय खोलामा प्लाष्टिकले पोको पारेको अवस्थामा फेला परेको बैतडीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भीमकान्त शर्माले जानकारी दिए।

वीरभानको हत्या आरोपमा प्रहरीले आइतबार ३६ वर्षीया भागरथी विष्टलाई पक्राउ गरेको थियो। भागरथी पक्राउ परेपछि प्रहरीले शव फेला पारेको हो। 

सीडीओ शर्माका अनुसार भागरथी एक प्राथमिक विद्यालयकी शिक्षिका हुन्। उनले वीरभानको हत्या गरेर शव नै गायब पार्न खोजेकी थिइन्। वीरभानको मोबाइलसमेत भागरथीसँग फेला परेको थियो।

प्रहरीका अनुसार हत्यापछि शव व्यवस्थापनका लागि उनले एक अटो चालकलाई प्रयोग गरेकी थिइन्। शनिबारदेखि परिवारको सम्पर्कमा नआएका वीरभानको हत्या सोही दिन राति भएको प्रहरीले जनाएको छ। 

शव भने भागरथीले आइतबार मात्रै गायब पार्न अटो चालकलाई प्रयोग गरेको प्रहरीले जनाएको छ। 

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।  

असार २, २०८१ सोमबार १७:५१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।