प्रहरी संगठनसँग असन्तुष्ट रहेका प्रधानमन्त्रीले भने- आइजीपी फेरिने कुरा हल्ला मात्रै

प्रहरी संगठनसँग असन्तुष्ट रहेका प्रधानमन्त्रीले भने- आइजीपी फेरिने कुरा हल्ला मात्रै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रहरी प्रमुख परिवर्तनको हल्लाको स्पष्टीकरण दिँदै हिँडेका छन्। नेपाल प्रहरीको विभागीय जिम्मेवारी गृह मन्त्रालयसँग छ। गृह पनि हेर्ने गरी उपप्रधानमन्त्रीले नेपाली सेना बाहेकका सबै सुरक्षा निकायको समन्वय गर्दछन्। 

विभागीय जिम्मेवारी पाएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रहरी संगठनको नेतृत्वलाई साथमा लिएर विमानस्थल र कतिपय निकायको स्थलगत अनुगमन गर्न दौडधुप गरिरहेका देखिन्छन्। तर, विभागीय मन्त्रीभन्दा एक कदम अघि सरेर प्रधानमन्त्री स्वयं प्रहरी प्रमुख फेरबदल हुने सामान्य प्रक्रियाको सम्बन्धमा स्पष्टीकरण दिँदै हिँडेका छन्।

आज गृह जिल्ला चितवन पुगेका प्रधानमन्त्री दाहालले सम्वाददाताहरुले राखेको जिज्ञासामा नेपाल प्रहरीको महानिरीक्षक परिवर्तन हुने कुरा हल्लामात्रै भएको स्पष्ट पारे। आफूले ढुक्क भएर काम गर्न महानिरीक्षकहरूलाई निर्देशन दिएको पनि बताए।

‘दुवै प्रहरी संगठनका आइजीपी बोलाएर केही परिवर्तन हुँदैन, ढुक्क हुनुस्, काम गर्नुस् भनेको छु’, दाहालले भने, ‘त्यही स्पिरिटमा काम गर्नुस् भनेको छु। आइजीपी परिवर्तन हुँदैन। त्यो हल्लामात्रै हो।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा रहेको गृह प्रशासन संयन्त्रले प्रधानमन्त्री दाहालका कतिपय निर्देशनहरू उपेक्षा गरेको महसुस गरेर दाहाल स्वयंले नेपाल प्रहरीको नेतृत्वप्रति असन्तोष प्रकट गरेका थिए। यसैलाई आधार बनाएर प्रहरी प्रमुख फेरिन लागेको भनेर चुहिएको सूचनाले होहल्ला सिर्जना गरेपछि नेपाल प्रहरीले विज्ञप्ति प्रकाशित गरेर यसको खण्डन गरेको थियो। 

असार २, २०८१ सोमबार १७:३३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।