ट्यांकर चालक र सरकारबीच सहमति, पेट्रोल अभावको समस्या हट्यो

ट्यांकर चालक र सरकारबीच सहमति, पेट्रोल अभावको समस्या हट्यो

काठमाडौं : आन्दोलनरत ट्यांकर चालक र सरकारबीच सहमति भएको छ। चालकहरूले उठाएका सात बुँदे माग १५ दिनभित्र पूरा गर्ने सरकारी प्रतिवद्धतापछि सहमति बनेको हो। 

सोमबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, आयल निगमका कार्यकारी निर्देशकसहितको सरकारी टोली र नेपाल पेट्रोलियम ट्यांकर चालक संघका प्रतिनिधिबीच भएको वार्तापछि सहमति जुटेको चालक संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिए। 

‘भर्खरै वार्ता सकियो। १५ दिनभित्र हामीले अघि सारेका सात बुँदे माग पूरा गर्ने सरकारी पक्षले प्रतिवद्धता जनाएको छ। सहमतिको खाका तयार गर्दैछौं, केही समयमा सार्वजनिक गर्छौं,’ अध्यक्ष लामाले भने। 

चालकहरूले पेट्रोलियम ढुवानी रोकेपछि काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ। चालकहरू हड्तालमा उत्रिएपछि थानकोट डिपोबाट इन्धनको वितरण प्रभावित भएको छ।

सात बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालक आन्दोलित भएका हुन्। ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनुपर्नेलगायतका माग राखेका छन्। 

श्रम ऐनअनुसार नियुक्ति र सुविधासँगै, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न, तापक्रमको सही व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन लगायतका माग गरेका छन्। 

ट्यांकर चालकहरूको हडतालका कारण काठमाडौं उपत्यकाका अधिकांश पम्पहरू बन्द भएका छन्। अधिकांश पम्पमा इन्धन रित्तिएको छ। सरकारसँगको सहमति सँगै उपत्यकामा अहिले देखिएकाे इन्धन ढुवानी समस्या समाधान हुने भएकाे छ।  

असार २, २०८१ सोमबार १५:२०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।