आठ वर्षको उमेरदेखि बालबालिका स्याहारिरहेकी ‘देवी दिदी’को एउटै गुनासो- ‘पढ्न पाएको भए...’

देवी भुजेललाई जीवनप्रति एउटै कुराको गुनासो छ- ‘पढ्न पाएको भए!’ शिक्षा दिने ठाउँमा काम गरेर पनि उनले नाम लेख्नबाहेक कुनै औपचारिक शिक्षा लिन पाइनन्। तीस वर्षदेखि ताहाचलको भिजन स्कूलमा उनी बालबालिका स्याहारेर बसिरहेकी छन्।
महोत्तरीको बर्दिबासमा जन्मिएकी उनलाई थाहा भएसम्म उनी काठमाडौंमै छिन्। यतै हुर्किइन्। काम गरिन्। विवाह गरिन् अनि लामो समयदेखि विद्यालयमा आएका बालबालिका स्याहारिरहेकी छन्। गाउँमा आर्थिक अवस्था कमजोर भएकाले उनको आमाबाले उनलाई आठ वर्षको उमेरमै काठमाडौं काम गर्न पठाएका रहेछन्।
बालख उनलाई त्यसबेला कहाँ जाने? के गर्ने? केही थाहा थिएन। यता आएपछि उनले थाहा पाइन्, उनलाई उनकै उमेरका दुई जनाको रेखदेख गर्न ल्याइएको रहेछ।
‘त्यसबेला म आफैँलाई थाहा थिएन, म कति वर्षको थिएँ भनेर। पछि आमाले भन्नुभएको म आठ वर्षकी थिएँ रे,’ उनले पुराना दिन सम्झँदै सुनाइन्, ‘आठ वर्ष भनेको त धेरै सानो उमेर हो नि! त्यसबेला आफ्नै उमेरको बच्चाहरू हेर्नुपर्थ्यो। अहिलेसम्म पनि बच्चाहरू हेर्ने काम नै गरिरहेको छु। फरक यत्ति हो दुई जना हेर्नको लागि आएको थिएँ, अहिले त हजारौंलाई हेरिसकेँ।’
समयसँगै उनी पनि ती ‘दुई बालबालिका’सँगै हुर्किइन्। उनले त्यसलाई आफ्नै घर मानेर काम गरिन्। उनीहरूसँगै खेलिन्। ती दुई बालबालिका पढ्न जाँदा उनी भने घरकै सक्ने काम गरेर बस्थिन्। उनलाई पढ्न पठाइँदैनथ्यो।
‘मलाई पनि पढ्न मन लाग्थ्यो नि! के गर्नु। त्यसबेला आमाबा’ले पनि पढाइदिनुपर्छ भन्नुभैनछ। अनि यता सर(जसको घरमा उनी बसिन्)ले पनि पढाउँछु भन्नुभएन,’ हाँस्न खोज्दै उनी सुनाउँछिन्, ‘सरले मलाई आफ्नो छोरी जस्तै राख्नुभयो। माया पनि खुब गर्नुभयो। मैले पनि आफ्नै घर जस्तै सबैलाई माया गरेँ। अहिले पनि सरलाई धेरै सम्मान गर्छु। मैले पढ्न चैँ पाइन। पढ्न खुब इच्छा थियो मेरो।’
सरको घरमा बसेर काम गरेबापत र उनको सन्तानको हेरचाह गरेबापत देवीले पारिश्रमिक पाउँदैनथिन्। न त उनको आमाबालाई नै रकम पठाइन्थ्यो।
‘त्यहाँ बसेर काम गरेबापत सरले मेरो सबै बिहेको खर्च गरिदिनुभयो अनि बिहेपछि सरको यहि स्कूलमा काम पनि गर्न पाएँ, त्यत्ति हो,’ उनी भन्छिन्, ‘त्यहाँ काम गरेबापत मेरो आमाबाले पैसा लिनुभएको पनि होइन। मलाई त त्यत्तिकै काम गर्न पठाउनुभएको रहेछ।’
अहिले सोच्दा परिवारको आर्थिक अवस्थाले गर्दा आफूलाई सानैमा बाहिर पठाएको हो कि भन्ने लाग्दो रहेछ। त्यै पनि उनी काठमाडौं र सरबाट पाएको जिन्दगीबाट खुसी छिन्। १७ वर्षको उमेरमा उनले गाउँकै केटासँग मागी विवाह गरिन् उनले। बिहे लगत्तै उनलाई उनको सरले खोलेको स्कूलमा साना बालबालिका हेर्ने काम दिए, त्यो पनि तलब दिएर।
देवीसँगै उनको श्रीमानले पनि पहिला यही स्कुलमा काम गर्थे। देवी बालबालिका हेर्ने अनि उनको श्रीमान् सुरक्षा गार्ड। पछि स्कुलकै सवारी चालकसम्म भएका रहेछन् उनको श्रीमान्। अहिले भने कुनै ट्राभल एजेन्सीमा सवारी चालकको काम गर्छन् रे।
‘सरले अगाडि नै स्कुल खोल्नुभएको भए म पनि पढ्न पाउँथे होला। मेरो बिहे भएपछि खोल्नुभएको। अहिले मैले मेरो नाम चैँ लेख्न जानेको छु,’ उनी भन्दै गइन्, ‘बिहेपछि त सरले मलाई काम गरेबापत तलब पनि दिनुभयो। सुरूमा मेरो पाँच सय रुपैयाँ आउँथ्यो। तीस वर्ष अगाडि पाँच सय भनेको त धेरै थियो नि!’
‘मैले नपढे पनि सबैलाई पढाएँ’
‘पढ्न पाएन भनेर सधैँ दु:ख लाग्छ। त्यै भएर पनि मैले गाउँको सबै आफन्तलाई सक्नेसम्म यहाँ ल्याएर पढाएँ। अहिले सब जना बाहिर गइसके। अन्तिममा भान्जी आउनुभएको थियो। उहाँ पनि जापान गइसक्नुभयो,’ उनले एकै स्वासमा भनिन्।
स्कुलमा काम गर्न थालेपछि उनको झन् धेरै जिम्मेवारी थपियो। सरको घर, स्कूल अनि आफ्नै कोठाको काम पनि उनले भ्याउनपर्ने हुन्थ्यो। देवीलाई काम गर्न निकै मनपर्छ। कुनै पनि काममा उनी अल्छी गर्दिनन्। थकाइ लाग्यो भनेर आराम गर्न पनि उनी रुचाउँदिनन्। उनलाई रिस पनि निकै कम मात्र उठ्छ रे। त्यै भएर उनी प्राय हँसिलो मुहारमा देखिन्छिन्।
‘कहिलेकाहिँ बिरामी त भइनै हाल्छ। बाँकी समय यति धेरै काम गर्थे। म एकदम एक्टिभ थिएँ। काम गर्नपर्छ भनेपछि सधैँ तयार हुनुपर्ने। त्यै भएर पढ्न पाएको भए पनि म खुब मिहेनत गरेर पढ्थेँ होला जस्तो लाग्छ’, बोल्दा बोल्दै उनी अड्किइन्।
बिहेपछि उनले छोरीलाई जन्म दिइन् अनि छोरीको नाम पनि स्कुलसँग मिल्ने ‘भिजन’ राखिन्। आफूले पढ्न नपाएको झोकमा उनले दुवै छोरीलाई मजाले पढाइन्। जेठी छोरीले होटल म्यानेजमेन्टमा मास्टर्स गरेर दुबईको होटलमा म्यानेजर छिन् भने कान्छी छोरी पनि हालसालै अमेरिका गइन्।
‘अहिले खुसी लाग्ने कुरा भनेकै म आफू पढ्न नपाए पनि मैले दुईटा छोरीलाई राम्रोसँग पढाएँ। आफैँले दु:ख गरेर भए पनि उनीहरूको राम्रो भयो। यहि स्कूलमा पढाएको हो दुवैलाई’, उनको आँखामा खुसीको आँशु छचल्कियो।
अहिले स्कुलमा पनि उनी सबैको प्यारी ‘देवी दिदी’ भएकी छन्। सुरूमा धेरै बालबालिकालाई हेर्न उनलाई असहज भए पनि अहिले सजिलैसँग उनीहरूको मनोविज्ञान समेत उनी बुझ्ने भएकी छिन्। प्रारम्भिक शिक्षामा पढाउने शिक्षकहरूले पनि अफ्ठ्यारो भयो भने उनकै सहयोग लिन्छन्। उनले बालाबालिकाको अनुहार हेरेरै के भन्न खोजेको हो, थाहा पाउँछिन्। उनले अहिले पनि हेर्ने भनेको नर्सरीका बालबालिकालाई नै हो।
‘एक्लैले ५० जनासम्म साना बालबालिका हेरेको छु। उनीहरू एकदम संवेदनशील हुन्छन्। सबै उनीहरूको भाव बाटै बुझ्नुपर्ने हुन्छ। उनीहरूको मनोभाव बुझ्नको लागि भनेर मैले त सांकेतिक भाषादेखि लिएर नेवारी र हिन्दी भाषा पनि सिकेँ। यहाँ मारवाडी परिवारबाट पनि धेरै आउँछन्’, उनले थपिन्।
उनका अनुसार नर्सरी पढ्ने बालबालिकाहरूसँग बोल्नको लागि धेरै शब्द हुँदैन। त्यै भएर पनि उनीहरूसँग कुरा गर्दा शब्दबाट भन्दा पनि इसाराले बोल्दा धेरै कुरा गर्न सकिने उनको अनुभव छ।
‘हाम्रो त अभिभावकहरूले आज सधैँ एउटै टिफिन बनाएर पठाउने गरेको देखेको छु। कतिलाई त तपाईंको बच्चाले यो खान मन पराइरहेको छैन, उसलाई मनपर्ने अरु खाजा बनाएर पठाउनु समेत भन्ने गर्छु,’ उनी भन्छिन्, ‘पानी खाएन भन्ने गर्नु हुन्छ। अलग-अलग बुट्टा भरेको बोतलमा दिनुस्, यसो पाइप हालिदिनुस् त्यसमा। अनि हेर्नु त ती बच्चाले कसरी पानी पिउदैन। बच्चाहरूलाई आकर्षित गर्ने न हो। सानो-सानो कुरामा उनीहरू खुसी हुन्छन् नि!’
‘कसैलाई स्याहारेरै जीवन बिताउन चाहन्छु’
अहिले पनि उनी बिहान साढे आठ बजे स्कूल आइपुग्छिन्। दिनभर यहाँ काम गरेर आफ्नो मुटुरोगी ससुराको स्याहारमा लाग्छिन्। बिहे गरेपछि स्कुलकै होस्टेलमा ‘वार्डेन’ जस्तै भएर उनी र उनको श्रीमान् केहि वर्ष बसे। त्यसपछि भने आफ्नै डेरा लिएर बसिरहेका छन्।
यसबीचमा देवीलाई यो काम छोडेर अन्त कतै काम गर्न मन नबहेको पनि होइन। तर, उनले सानैदेखि गरेको काम र सरलाई चटक्कै छोड्न सकेकी छैनन्।
‘अहिले पनि सरसँग एकदम पारिवारिक सम्बन्ध छ। जसले मलाई बाल्यकालदेखि हेर्नुभयो, उहाँलाई कसरी छोडेर जानुजस्तो लाग्ने रहेछ। एक हिसाबले म बफादार भएछु’, उनले हाँस्दै भनिन्।
त्यसमा पनि अब उमेरले पचास लाग्दै गर्दा उनले अर्को काम गर्ने सोचेकी छैनन्। दुवै सन्तान हुर्किसकेकाले यही काममा उनी सन्तुष्ट भएर बसेकी छिन्। पछि केहि गरेर आफ्नै काम गर्ने मौका पायो भने शिशु स्याहार केन्द्र, वृद्ध आश्रम वा आमा घर खोलेर चलाउने बिचार छ रे। यसको लागि उनले यसअघि नै पनि कोसिस गरेकी रहिछन्। तर घरबाट सहयोग नमिलेको उनले सुनाइन्।
‘सरकारी काम भए रिटायर भइसक्थे होला। यो त प्राइभेट हो। जबसम्म बस्न सक्छु, मलाई राख्छ तबसम्म यहाँ काम गर्छु,’ उनी भन्छिन्, ‘पछि गएर कसैलाई स्याहार्ने मौका पायो भने त्यहि गर्छु। छोरीहरूसँग पनि कुरा त राखेको छु। नत्र कुनै एउटा सामाजिक संस्थामा जोडिएर काम गर्न मन छ। त्यै भएर मलाई सधैँ पढ्न नपाएकोमा नराम्रो लाग्छ। किनभने आफूले आँटे पनि सपोर्ट नै पाउन गाह्रो छ।’
असार ३, २०८१ सोमबार १४:०३:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।