ब्राजिल उडे बालेन

ब्राजिल उडे बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्।

असार ५ र ६ गते ब्राजिलको साओपाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन सोमबार बिहान सवा दुई बजेको उडानबाट शाह  ब्राजिल प्रस्थान गरेका हुन्।

बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किने छन्। प्रमुखका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन्।

प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन्। मेट्रोपोलिस विश्वका ठूला महानगरहरूका बीचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामुहिक आवाज बुलन्द गर्ने अन्तर्राष्ट्रिय संस्था हो।

प्रमुख शाहलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह, सचिवालय सदस्य धिरज जोशी र नविन भण्डारीले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरेका थिए।

सहरी आवास र भवनहरूको विषय निर्देशक बोर्डमा छलफलको मुख्य विषय रहेको छ। सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ। बैठकमा प्रमुख शाहले सम्बोधन गर्नेछन्।

असार २, २०८१ सोमबार १३:१०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।