दार्जिलिङमा रेल दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २५ देखि ३० जना घाइते

दार्जिलिङमा रेल दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २५ देखि ३० जना घाइते

एजेन्सी : भारतको पश्चिम बंगाल राज्यस्थित नयाँ जलपाईगुडी स्टेशनमा रेल दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

सोमबार बिहान नौ बजे भएको दुर्घटनामा कम्तीमा २५ देखि ३० जना घाइते भएको दार्जिलिङ प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दार्जिलिङका एडिशनल एसपी अभिषेक रोयले मिडियासँग कुरा गर्दै भने, ‘पटरीमा रोकिराखेको कञ्जनजंघा एक्सप्रेसलाई पछाडिबाट आएको मालवाहक रेलले ठक्कर दिएको हो। तीनवटा डिब्बा पटरीबाट खसेका छन्। अहिलेसम्म पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ। घाइतेको संख्या २५-३० छ। उनीहरूको अवस्था गम्भीर छैन। उनीहरूलाई अस्पताल लगिँदैछ।’

रेलमन्त्री अश्विनी वैष्णवले उद्धार कार्य युद्धस्तरमा भइरहेको भन्दै घाइतेहरूलाई अस्पताल लगिएको र वरिष्ठ अधिकारीहरू घटनास्थल पुगेको बताए।

यसअघि राज्यकी मुख्यमन्त्री ममता बनर्जीले दार्जिलिङको फणसिडवा क्षेत्रमा भएको रेल दुर्घटनाको बारेमा थाहा पाएर आफू निकै दुखी भएको बताएकी थिइन्।

असार २, २०८१ सोमबार ११:४१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।