विश्वकपमा नेपाल : बलिङमा उत्कृष्ट, ब्याटिङमा ध्वस्त

विश्वकपमा नेपाल : बलिङमा उत्कृष्ट, ब्याटिङमा ध्वस्त

काठमाडौं : १० वर्षपछि नेपालले दोस्रो आईसीसी टी२० विश्वकप खेल्यो। पारस खड्का, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सागर पुन, पृथु बास्कोटा लगायतका खेलाडी पहिलोपटक विश्वकप खेल्दा नेपाली समर्थकलाई लागेको थिएन, अर्को विश्वकपका लागि यति लामो समय कुनुपर्छ। पछिल्लो १० वर्षमा भएका विश्वकपमा हरेक छनोट खेलमा नेपाल पराजित हुँदै आयो।

तर, २०७९ कात्तिक १७ गते काठमाडौंको मुलपानीमा भएको आईसीसी टी२० विश्वकप एसिया छनोटमा युएईलाई आठ विकेटले हराउँदै नेपालले १० वर्षदेखि देखेको सपना पूरा गर्यो।

पारस, शक्ति, बसन्त, शरदको खेल हेरेर क्रिकेट खेल्ने सपना बोकेका रोहित पौडेलको कप्तानीमा नेपालले विश्वकपमा सहभागी भयो। सन् २०२३ मा मोन्टी देसाइको आगमनसँगै नेपालले जसरी अविश्वसनीय प्रदर्शन गरिरहेको थियो, त्यो लयलाई विश्वकपमा भने कायम राख्न सकेन।

नेपाली टोलीका अधिकांश खेलाडी र टिमकै लक्ष्य सुपर आठमा पुग्ने थियो। त्यसो हुन नसके पनि एउटा भए पनि टेस्ट मान्यताप्राप्त राष्ट्रलाई हराउने योजना थियो। तर, विश्वकपबाट बाहिरिँदै गर्दा तीमध्ये एउटै पनि लक्ष्य पूरा भएनन्।

नेपालले खेलेका चार समूह चरणका खेलमध्ये तीन खेलमा पराजय भोग्यो। एक खेल वर्षाका कारण रद्द भयो। समूह ‘डी’मा रहेको नेपाल नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भयो भने श्रीलंकासँगको खेल रद्द हुन पुग्यो।

४ जुनमा अमेरिकाको टेक्ससस्थित ग्रान्ड पेरी स्टेडियममा टस हार्नु नै नेपालका लागि घातक बन्यो। खेलअघि भएको वर्षाका कारण पहिलो इनिङमा बलरलाई त्यसले फाइदा पुग्यो। सात हजारभन्दा बढी नेपाली समर्थकका माझ टस हारेर ब्याटिङमा तानिएको नेपालले त्यो खेलमा १९.२ ओभरमा अलआउट भएर १०६ रन मात्र बनाउन सक्यो।

टप अर्डर ब्याटरहरू चल्न सकेनन्। ब्याटिङमा कप्तान रोहिट पौडेलले ३५ र करण केसीले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। बलिङमा नेदरल्यान्डको चार विकेट खसाले पनि त्यो जितका लागि पर्याप्त भएन।

त्यसपछि नेपालले दोस्रो खेलका लागि आठ दिन कुर्नुपर्यो। १२ जुनमा नेपालले अमेरिकाको फ्लोरिडास्थि लाउडरहिल स्टेडियममा श्रीलंकासँग खेल्नुपर्ने थियो। तर लगातारको वर्षाका कारण खेल रद्द हुँदा अंक बाँडेर नेपाल वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट लाग्यो।

१५ जुनमा नेपालले उपाधि दाबेदार मानिएको दक्षिण अफ्रिकासँग खेल्यो। नेपाली समयअनुसार विहान सवा ५ बजे भएको खेलमा नेपालले टस जितेर पहिला बलिङ रोज्दै दक्षिण अफ्रिकालाई ब्याटिङको निम्तो दियो।

कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी लगायत स्पिनरको कसिलो बलिङमा दक्षिण अफ्रिकाले ११५ रन बनायो। नेपालका ब्याटरहरू आशिफ शेख र अनिल शाहले ३६ बलमा ५० रनको साझेदारी गरे। आशिफले ४२ र अनिलले २७ रनमा पारी खेले।

जब उनीहरू आउट भए, तब खेलको रुपरेखा नै परिवर्तन भयो। ९९ रन बनाउँदा तीन विकेट गुमाएको नेपालले ११४ रन जोड्दा सात विकेट गुमायो। लगातार विकेट गुमाएर उक्त खेल नेपालले एक रनले हार्न पुग्यो।

यो खेलमा पराजित भएसँगै नेपालको विश्वकपको दोस्रो चरण सुपर आठमा पुग्ने सम्भावना सकिइसकेको थियो। १ रनको हारले बाहिरिए पनि नेपाल प्रतियोगिताको अन्त्य भने जितबाट गर्न चाहन्थ्यो।

१७ जुन सोमबार विहान भएको तेस्रो खेलमा पनि नेपालले टस जित्यो र पहिला बलिङ गर्ने निर्णय गर्यो। सोमपाल कामीले पहिलो बलमा बंगलादेशी ब्याटरलाई आउट गर्दै नेपाली समर्थकको उत्साह थपे। अन्य खेलाडीले पनि निरन्तर विकेट लिँदा बंगलादेश १९.३ ओभरमा १०६ रनमा समेटियो। 

नेपालले दोस्रो पारीमा बलिङ गर्न आयो। १०७ रनको लक्ष्य भए पनि विकेट भने त्यति सहज थिएन। त्यसकारण पनि ब्याटरले संयमीत र संवेदनशील भएर खेल्नुपर्ने थियो। तर, त्यसो भएन। बंगलादेशले ब्याटिङ गर्दा जसरी विकेट गएको थियो, त्योभन्दा छिटो-छिटो नेपाली ब्याटरहरू आउट भए।

नेपालका दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले क्रमशः २५ र २७ रन बनाए। आशिफ शेखले १७ रन जोडे। बाँकी ब्याटरको प्रदर्शन सम्झनलायक भएन। नेपालले १९.२ ओभरमा ८५ रन जोड्दा सबै विकेट गुमायो।

खेलेका तीनै खेलमा नेपालको बलिङ उत्कृष्ट रह्यो। तर, ब्याटिङ भने ध्वस्त नै भयो। मोन्टी देसाइको आगमनसँगै नेपालको ब्याटिङमा सुधार आएको भन्दै डङ्का पिटिए पनि विश्वकपमा ब्याटिङको वास्तविक स्वरूप छताछुल्ल भयो। नेपाली खेलाडीले तीनै खेलमा संयमित भएर ब्याटिङ गर्न सकेनन्।

दक्षिण अफ्रिका र बंगलादेशसँग भएको समूह चरणका पछिल्ला दुई खेलमा सम्हालिएर ब्याटिङ गरेको भए आज नतिजा अर्कै हुनसक्नेमा दुविधा राख्नैपर्दैन।

त्यसैगरी नेदरल्यान्ड्स र दक्षिण अफ्रिकासँगको खेलमा नेपालको फिल्डिङमा पनि समस्या देखियो। केही क्याच र रनआउटका अवसरहरू छुट्न पुगे। मुख्य प्रशिक्षक देसाइले ब्याटिङ र फिल्डिङमा खेलाडीहरूलाई अझ धेरै मिहिनेत गराउनुपर्ने देखिन्छ।

विश्वकपजस्तो ठूलो स्टेजमा पुगेर नेपाली टोलीले जुन खेल देखाउँछ भन्ने आशा गरिएको थियो, त्यसो हुन सकेन। यद्यपि दक्षिण अफ्रिकाविरुद्धको खेलको भने चौतर्फी प्रशंसा भयो। उक्त खेलमा नेपालको अप्रत्यासित हारबारे विभिन्न देशका क्रिकेट विज्ञहरूले चर्चा गरे।

के भन्छन् कप्तान रोहित?
जारी विश्वकपबाट बाहिरिएसँगै नेपालका कप्तान रोहितले बलिङमा आफूहरूले राम्रो गरे पनि ब्याटिङमा अझै काम गर्नुपर्ने अवस्था रहेको बताए। टप अर्डर ब्याटरको हिसाबले आफूहरूले त्यसको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।

‘प्रतियोगिता अवधिभर नै हाम्रो बलिङ युनिटले एकदमै राम्रो गर्यो,’ उनले भने, ‘तर, ब्याटिङ युनिट अझै माथि उठ्न सकेनौं। हामी अझै राम्रो गर्न सक्थ्यौं। यो विन्दुमा आएर के भन्न सक्छौं भने ब्याटिङ युनिटमा सुधारको विकल्प छैन।’

आफ्नो टोलीसँग क्षमता भएको भन्दै उनले बंगलादेश र श्रीलंकाजस्ता ठूला देशहरूसँग नियमित खेल भए अझै सुधार हुने बताए।

असार २, २०८१ सोमबार ११:२०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।