चुरे र भावर क्षेत्रमा मानवीय अतिक्रमण, दश वर्षअघि पानीको छ्यालब्याल हुने ठाउँ अहिले खुक्खा

चुरे र भावर क्षेत्रमा मानवीय अतिक्रमण, दश वर्षअघि पानीको छ्यालब्याल हुने ठाउँ अहिले खुक्खा

बुटवल : रुपन्देहीको छपियामा ०७१ सालसम्म स्थानीयले मोटर लगाएर जमिन मुनिबाट पानी तान्नुपर्ने अवस्था थिएन। १५० फुट बोरिङ गाड्दा सजिलै छ्यालब्याल पानी आउँथ्यो।

१५० फुट गहिराइबाट पानी निकालेर किसानले माछापालन पनि गर्थे। तर वितेको १० वर्षमा छपियामा पहिले जस्तो पानी आउँदैन। अहिले २ सय फुट गाड्दा समेत सजिलै पानी आउँदैन। बोरिङबाट पानी निकाल्न मोटर नै चलाउनुपर्छ।

छपियामा ०४७ सालदेखि माछापालन गर्दै आएका गौरव गौतमले पछिल्लो १० वर्षमा छपियामा पानीको सतह धेरै नै घट्दै गएको अनुभव गरेका छन्।

‘०५० सालतिर त पोखरीमा पानी बढी भएर फाल्नुपर्ने अवस्था हुन्थ्यो। ०७१ सालसम्म पनि बोरिङ गाडेर सजिलै पानी आउँथ्यो। तर अहिले २ सय फुट गहिराइमा जाँदा समेत पानी कम आउँछ’, उनले भने।

गौतम छपियामा पानीको सतह घट्नुमा दुई कारण मान्छन्। पहिलो, जथाभावी ठूला बोरिङ गाडेर मोटर चलाएर पानी निकाल्नु अनि दोस्रो, पर्याप्त वर्षा नहुनु।

‘१० वर्षअघिसम्म छपियामा १२ महिनै पानीको समस्या थिएन। सजिलै पानी माछा पोखरीमा आउँथ्यो। तर अहिले माघदेखि असारसम्म पानीको सतह धेरै तल हुने हुँदा पानी तान्न धेरै गहिराइको बोरिङ गाड्नुपर्ने अवस्था छ’, उनले भने।

जति वर्ष बित्दै गयो, त्यति नै अनुपातमा पानीको सतह घट्दै गएको उनको भनाइ छ। माछा पालनका लागि पानी पहिलो आवश्यकता हुने भएकाले पछिल्लो समय पानीको तह घट्दै जाँदा छपियाका किसानहरू चिन्तित बनेका छन्।

छपियामा अहिले ४ सय पम्प गाडिएका छन्। जसमध्ये करिब २० वटा ५ सय फुट तलसम्म छन्। ५ सय फुट तल गाडिएका पम्प चल्दा १ सय ८० फुटमा रहेका पम्पमा आधा पानी कम हुने किसानहरू बताउँछन्।

पानीको सतह छपियाको मात्रै नभएर सबै क्षेत्रमा घटेको छ। धानखेतीका लागि पम्पबाट पानी तान्ने किसानहरू पनि प्रयाप्त पानी नआएका कारण समस्या पर्ने गरेको गुनासो गर्छन्।

रुपन्देहीको तिलोत्तमा-१७ का किसान मनोज राय पहिले जस्तै पानीको सतह जमिन मुनि नरहेको बताउँछन्। उनले १० वर्ष अघिसम्म पम्प चलाउँदा सजिलै पानी आएर खेत रोपाइँ गरे पनि अहिले धेरै तल मात्र बोरिङ गाडेपछि पानी आउने गरेको बताए।

‘सुख्खायाममा पम्पबाट पानी नै आउँदैन। जब बर्खा लाग्न सुरू हुन्छ। तब मात्र पम्पले पानी फाल्छ। दुई सय फुट गाड्दा समेत १२ महिनामै पानी आउँदैन’, उनले भने।

किन घट्दैछ, पानीको सतह ?
पानीको सतह घट्नु जलवायु परिर्वतनको असर पनि एक प्रमुख कारण भएको विज्ञहरू बताउँछन्। भुर्गवविद् डा. प्रेम पौडेल जलवायु परिर्वतनका कारणले पनि जमिनमा पानीको सतह घट्दै गएको बताए।

जलवायु परिर्वतनकै कारण समयमै वर्षा नहुने र वर्षा भएपनि जमिन रिचार्ज गर्ने नभई बगेर जाने हुँदा जमिनमा पानीको सतह घट्दै गएको उनको भनाइ छ। उनका अनुसार जमिनमुनि पानी रिचार्ज हुनबाट रोकिनु अर्को कारण हाम्रा मानवीय गतिविधिहरू नै हुन्।

जमिन रिचार्जको जोन चुरे र भावर क्षेत्र हुन्। तर, त्यहि चुरे र भावर क्षेत्रमा अव्यवस्थित हुने पूर्वाधार निर्माणका कारण जमिनमुनि  पानी रिचार्जमा ठूलो समस्या भएको उनले बताए।

‘चुरे क्षेत्र भनेको हिमालय पर्वत शृङ्खलाको सबभन्दा दक्षिणमा रहेको माथिबाट बगेर आएका सामग्रीले बनेको सबभन्दा कान्छो र सबभन्दा कमजोर पर्वत शृङ्खला रहेको क्षेत्र हो। यो क्षेत्रमा राम्ररी नखाँदिएका खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र अत्यन्त संवेदनशील छ। तर हाम्रा मानवीय गतिविधिका कारण यो क्षेत्र छियाछिया बनेको छ। जसकारण जमिन मुनि पानीको सतह घट्दै गएको छ’, डा. पौडेलले भने।

चुरेको पहाड सकिने बित्तिकै रहेको क्षेत्र भावर हो। त्यसले पानी सोस्छ र तल भण्डारण गर्छ। त्यही पानी अलि पर तराईमा पुग्दा प्रयोग गरिन्छ।

‘भावर क्षेत्रमा मुख्य सडक बनेपछि बस्ती बस्यो। कंक्रिटका संरचनाले जमिन मुनि पानी रिचार्ज नै हुन दिएन। त्यसैले पनि अब विकास गर्दा हाम्रा गतिविधिमा परिर्वतन ल्याउन पर्छ’, उनले भने।

डा. पौडेलले जमिन रिचार्ज हुन नपाएपछि बाहिरी सतहमा भुक्षय हुने गरेको बताए।

‘पानी भित्र जान नपाउँदा सतह घट्यो। जसकारण बाढी बस्तीमा फस्न थाल्यो। यदि हामीले जमिनमा पानी रिचार्ज गर्न नसके पानीको हाहाकार हुन्छ। खेतबारी सुख्खा हुन्छ र यसले मानव जीवनमै नकरात्मक प्रभाव पार्छ’, उनले थपे।

उनले विकासका कामलाई वातावरणमैत्री रुपमा अघि बढाउनुपर्नेमा जोड दिए।

‘जमिन मुनि पानी बचाउन चुरेको भेदीको क्षेत्रमा ठूला रिचार्ज पोखरी बनाउन जरुरी छ। बर्खाको पानी जम्मा गर्ने योजना बनाउनुपर्छ। हामीले विकासका काम गर्दा पनि त्यसको परिसरमा पानी रिचार्ज गर्ने ठाउँ छुट्याउनुपर्छ। यसो भएमा पानी जमिनमुनि रिचार्ज हुन पाउँछ’, उनले भने।

साथै उनले वन क्षेत्रमा पार्क बनाउने नाममा बनाइएका कंक्रिटका संरचनालाई निरुसाहित गर्नुपर्ने बताउँछन्। वन क्षेत्रमै पार्कका नाममा कंक्रिटका संरचना बनाइएको भन्दै कंक्रिट गर्ने प्रवृत्तिलाई निरुसाहित गरेमा पनि जमिनमा पानी रिचार्ज हुने र पानीको सतह घट्नबाट कम हुने उनको भनाइ छ।

पानीको सतह घट्न नदिन बुटवलका सामुदायिक वनमा ‘रिचार्ज पोखरी’
जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पानीको स्रोत घट्न नदिन तथा पर्यावरण सुन्दर राख्नका लागि बुटवलमा ‘एक वन एक पोखरी’ अभियान अन्तर्गत अहिले वनमा पोखरी बनेका छन्। बुटवल उपमहानगरपालिकाले चुरे पहाडको फेदीमा रहेका सामुदायिक वनहरूमा पोखरी निर्माण गरिरहेको छ।

जलवायु परिवर्तनले नकारात्मक असर पारेको र पानीका स्रोतहरू पनि सुक्दै गइरहेकाले त्यसलाई सुधार गर्न पोखरी निर्माण गरेको हो।

बुटवलमा १७ वटा सामुदायिक वन छन्। यीमध्ये साना ठूला गरेर १० वटा वनमा पोखरी निर्माण भएका छन्। बुटवलको फूलबारी, चारपाला सामुदायिक वनमा सानो र ठूलो गरी दुई वटा पोखरी छन्। शिवनगर सामुदायिक वनमा तीन वटा पोखरी निर्माण भएका छन्। जितेश्वरी सामुदायिक वनमा दुई वटा पोखरी बनाइएको छ।

उपमहानगरपालिकाका वन वातावरण तथा विपद् व्यवस्थापन शाखाका वातावरण इन्जिनियर योगेश चापागाईंले पोखरीका कारण त्यसभन्दा तलका स्थानमा पानीको मूलमा सुधार ल्याउने र सिमसार बन्दै हरियाली वातावरणले सुन्दरता बढाउने योजना अनुसार पोखरी निर्माणलाई प्राथमिकतामा राखेको बताए।

उनका अनुसार यो वर्ष बुटवल उपमहानगरपालिकाले पोखरी निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल वनमा निर्माण गरिएका पोखरीले वन्यजन्तु तथा पशुपंक्षीले पिउनका लागि पानी हुने र त्यहाँबाट सिर्सिने पानीले जमिनमुनिको पानीको सतहलाई रिचार्ज गर्ने बताइन्।

‘पुराना पोखरी मासिँदै जाँदा जमिनमा पानी रिचार्ज नभएपछि मुहान नै सुक्दै गएका छन्। पानीको अभाव बढ्दो छ। वातावरण जोगाउन र त्यो अभियानमा समुदायलाई पनि सरिक बनाउन वनहरूमा पोखरी निर्माणलाई अभियानकै रूपमा अगाडि बढाइएको छ’, उनले भनिन्।

असार ३, २०८१ सोमबार १०:०६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।