भ्रष्टाचारमा दुई अर्ब रुपैयाँ बिगो माग दाबीमा २५ हजार धरौटी !

भ्रष्टाचारमा दुई अर्ब रुपैयाँ बिगो माग दाबीमा २५ हजार धरौटी !

काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई अर्ब बढी बिगोको मागदाबी लिइएको परामर्शदाता कम्पनी इप्टिसा र बीईटीएस जेभीका डेपुटी टिम लिडर शिवकुमार शर्मा जम्मा २५ हजार धरौटीमा छुटेका छन्। 

अख्तियारले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा सरकारी कर्मचारी, ठेकेदारसहित परामर्शदाता कम्पनी इप्टिसा र बीईटीएस जेभीका डेपुटी टिम लिडर शर्मालाई समेत प्रतिवादी बनाएको थियो।

शर्माविरुद्ध ४८ करोड ३६ लाख रुपैयाँ, कम्पनीविरुद्ध ८७ करोड ५८ लाख रुपैयाँ र निर्माण व्यवसायी सीएमसी रेभेनाविरुद्ध ६५ करोड १४ लाख रुपैयाँ बिगो माग दाबी भएकोमा विशेष अदालतले आइतबार २५ हजार धरौटी मागेको थियो।

सरकारले २०७० असार ३१ मा तीन वर्षभित्र काम सम्पन्न गर्नेगरि इटालियन कम्पनी सीएमसीलाई ठेक्का दिएकोमा कम्पनी २०७५ मंसिर २९ मा  बिचैमा काम छाडेर गएको थियो।

सीएमसीले काम गरेको ५ वर्ष ५ महिनाको अवधिमा ठेकेदार, परामर्शदाता र सरकारी अधिकारीहरूबिच भएका कामकारबाहीहरू ठेक्का सम्झौता र सार्वजनिक खरिद ऐन विपरीत भएको दाबीसहित अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

विशेषले आइतबार उजुरीमा उठाइएका प्रश्न, अनुसन्धानमा संलग्न पत्र र सम्झौता, विकास समितिबाट प्राप्त प्रतिक्रिया र सञ्चालक समितिको बोर्डको निर्णय पुस्तिका लगायतको आधार लिए पनि २५ हजार मात्र धरौटी मागेको हो।

अदालतले मेलम्ची भ्रष्टाचार मुद्दामा म्यादभित्र उपस्थित प्रतिवादीहरूको बयान सकिएको भन्दै असार १३ मा पूर्व सुनुवाइ छलफल राख्न आदेश दिएको छ।

असार १, २०८१ आइतबार २२:०१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।