भ्रष्टाचार मुद्दामा मेयर-उपमेयर दुवै निलम्बनमा, कार्यवाहक नतोक्दा गोदावरी नगरको दैनिक प्रशासनै ठप्प

काठमाडौँ : जथाभाबी खानी सञ्चालन गराएर भ्रष्टाचार गरेको आरोपमा गोदावरी नगरपालिकाको मेयर, उपमेयर र केही कर्मचारी एकै पटक निलम्बित भए।
अख्तियारले १ अर्ब ४ करोड भन्दा बढी घोटाला भएको भन्दै पाँच थान मुद्दा दायर गरे लगत्तै ठेक्का लागेको अवधिको चार प्रशासनिक अधिकृतसहित मेयर गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी निलम्बनमा परे।
उनीहरूमाथि अघिल्लो कार्यकालमा गरेको ठेक्कापट्टाबारे अख्तियारले मुद्दा दायर गरेको थियो। उनीहरू दुवै पुन नगरपालिकामा निर्वाचित भएका थिए।
मेयर र उपमेयर निलम्बित भएको अवस्थामा कार्यवाहक तोकेर दैनिक प्रशासन चलाउनुपर्नेमा एक साता हुन लाग्दा समेत तोकिएको छैन।
नगर परिषद्को बैठकबाट वडाध्यक्षमध्येबाट कार्यवाहक तोक्न सकिन्छ। तर तोकिएको छैन। अहिले सामान्य बैठकहरूको अगुवाइ ज्येष्ठ वडाध्यक्ष वडा नम्बर ११ का निल बहादुर देशारले गरिरहेका छन्। तर उनलाई कार्यवाहक तोकिएको छैन।
कार्यवाहक तोक्ने सवालमा कानुनी जटिलता भएकाले सम्बन्धित मन्त्रालयलाई पत्राचार गरिएको नगरपालिकाका प्रेस संयोजक साइला लामाले बताए।
कार्यवाहक तोक्ने विषयमा निलम्बनलगत्तै कार्यपालिका बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निर्वाचन आयोगलाई राय माग्न प्रशासकीय अधिकृतले पत्राचार गरिसक्नुभएको उनले जानकारी दिए।
अख्तियारले मेयर महर्जन र उपमेयर अधिकारीसहित १४ जनाविरुद्ध खानी तथा खनिजजन्य वस्तुको बिक्रीबाट प्राप्त हुने राजस्व हिनामिना गरेको अभियोगमा जेठ २१ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
पाँच वर्षमा १ अर्ब ४ करोडभन्दा बढी रकम स्थानीय जनप्रतिनिधि, कर्मचारी र क्रसर उद्योगको मिलेमतोमा राजश्व घोटाला भएको र राज्य कोषमा दाखिल हुनुपर्ने रकम नोक्सान भएको अख्तियारको दाबी छ।
अख्तियारले उनीहरूसँग राज्यलाई नोक्सान भएको रकम बराबरको बिगो, बिगोको दोब्बर जरिवाना र भ्रष्टाचार निवारण ऐन अनुसार हदसम्मको कैद जरिवाना हुनुपर्ने माग गरेको छ।
अघिल्लो पाँच वर्षमा नगरपालिकामा चार जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका थिए। मुद्दामा सबै प्रशासकीय अधिकृतलाई प्रतिवादी बनाइएको छ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी, कृष्णप्रसाद जैसी, वीरेन्द्रदेव भारती र प्रवीण कोइरालाले विभिन्न मितिमा जिम्मेवारी सम्हालेका थिए।
असार २, २०८१ आइतबार १६:०५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।