धरानको राजनीतिक ‘रोग’ सर्‍यो काठमाडौँमा, बालेनले चलाउन सकेनन् नगर सभाको बैठक

धरानको राजनीतिक ‘रोग’ सर्‍यो काठमाडौँमा, बालेनले चलाउन सकेनन् नगर सभाको बैठक

काठमाडौँ : धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक राख्नै हम्मेहम्मे हुन्छ मेयर हर्क साम्पाङलाई। नगर सभाको बैठक बस्यो कि प्राय विवाद भएर स्थगित भइहाल्छ। कार्यक्रम पारित गराउन होस् या बजेट हर्कका लागि सधैँ आपत्।

हर्क स्वतन्त्र उम्मेदवारका रूपमा मेयरमा निर्वाचित भए पनि कार्यपालिकामा एमाले र नेपाली कांग्रेसको वर्चस्व छ। हर्क न सहमतिमा जान सक्छन् न कार्यपालिका सदस्यहरूलाई मनाउन सक्छन्।

यता काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पनि स्वतन्त्र। यहाँको कार्यपालिकामा पनि कांग्रेस र एमालेको वर्चस्व छ। तै पनि बालेनले उपमेयर अनि वडा सदस्यहरूलाई मिलाएर नीति तथा कार्यक्रमसँगै बजेट पास गराउने गरेका थिए। अवरोधबिना काम अगाडी बढाइरहेका थिए। उनको यो राजनीतिक चातुर्यको प्रशंसा पनि भएकै हो।

तर आइतबारको नगर सभाको बैठकमा त्यही सौहार्दपन देखिएन। कार्यपालिका सदस्यहरूले नगर सभाको बैठक बहिस्कार गरेपछि मेयर बालेन शाह बैठक नै स्थगित गर्न बाध्य भए।

आइतबार बसेको कार्यपालिका बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेर हिँडिदिएपछि मेयर बालेन्द्र शाहले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित गर्न बाध्य भए।

आइतबारको बैठकमा शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बोल्न चाहनेलाई ५ मिनेटको समय दिएका थिए। तर कार्यपालिका सदस्यहरू एकाएक बैठक छाडेर हिँडे।

बैठक स्थगित हुनुको कारण पहिल्याएर सहमतिमा जानुको साटो मेयर बालेन पनि हर्ककै पथमा लागेर सामाजिक सञ्जालमा उत्रिए। उनले संवादबाट समाधान खोज्ने हैन सञ्जालबाट दबाब बढाउनतिर लागे।

उनले सामाजिक सञ्जाल एक्स र फेसबुकमा तीन जना नेताले गर्दा एक सय ६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको भन्दै महानगरको नगरसभामा कांग्रेस,एमालेको धङधङी बोकेर नआउन चेतावनी दिए।

तर उनले दाबी गरे जस्तो दुई-तीन जना हैन, अधिकांश नगर सभाका सहभागीहरू उठेर बाहिर गएका थिए। भटाभट नगर सभामा सदस्यहरू उठेर बाहिरिन थालेपछि उनी केही समय त्यो दृश्य हेरेर बसे। अनि बैठक स्थगित भएको घोषणा गरेर हिँडे।

असार १, २०८१ आइतबार १५:१९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।