राज्य व्यवस्थाको समिति बैठकमा एनजिओका प्रतिनिधि सहित खाजा स्पन्सर भएपछि रिसाए गृहमन्त्री, विरोधपछि बैठकै बस्न सकेन

राज्य व्यवस्थाको समिति बैठकमा एनजिओका प्रतिनिधि सहित खाजा स्पन्सर भएपछि रिसाए गृहमन्त्री, विरोधपछि बैठकै बस्न सकेन
अर्काइभ तस्बिर।

काठमाडौँ : सङ्घीय निजामती ऐन संशोधन विधेयकमाथि राज्य व्यवस्था समितिमा हुने छलफलको खाजासहित गैरसरकारी संस्था (एनजिओ)का कर्मचारी समेत उपस्थित भएकोमा विवाद भएपछि समितिको बैठक बस्न सकेन।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सहभागीहरूका लागि गैर सरकारी संस्थाकोतर्फबाट खाजाको प्रबन्ध गरिएको थियो भने बैठकमा गैर सरकारीका प्रतिनिधि समेत सहभागी थिए।

बैठकमा सहभागी गृहमन्त्री रवि लामिछानेसहित केही सांसदहरूले समितिको बैठकमा गैर सरकारी संस्थाको कर्मचारी राखेर छलफल गर्नु अनि उनीहरूकै संयोजनमा खाजा खानु उचित नहुने भन्दै विरोध गरेका थिए।

आइतबारको बैठकमा सहभागीहरूका लागि अलग सुविधा थपिएको थियो। टेबलमा पाइलट पेन र डायरीसँगै काँटा चम्चासहित खाजाको व्यवस्था गरिएको थियो। नियमित बैठकभन्दा भिन्न व्यवस्था देखेपछि बैठकमा प्रश्न उठेको थियो।

छलफलमा सहभागी हुन बैठकमा गएका गृहमन्त्री लामिछानेले राज्य व्यवस्था समिति जस्तो गम्भीर र संवेदनशील समितिको बैठकमा गैर सरकारी संस्थाको खाजा खाएर कानुन बनाउने विषयमा छलफल गर्नु उचित नहुने भन्दै बाहिरिएका थिए।

समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्री आएकाले विशेष व्यवस्था गरिएको भनेर माहौल सामान्य बनाउने प्रयास गरे पनि उनी सफल भएनन्। समितिको बैठक कांग्रेस सांसद ह्रदयराम थानीले नै आपत्ति जनाउँदै यो मजाकको विषय हैन भनेका थिए।

बैठकमा खाजाबारे प्रश्न उठेपछि समिति सभापति खतिवडाले आन्तरिक स्रोतबाट व्यवस्थापन गरेको भन्दै खाजा खाने समयसम्म समितिको बैठकस्थलको ढोका लगाउन भनेका थिए।

समिति सचिव सुरज दुराले समितिको आन्तरिकस्रोतबाट नभई गैर सरकारी संस्थाले प्रायोजन गरेको खुलाएपछि समितिमा थप विवाद बढ्यो। अझ बैठककक्षमै खाजा उपलब्ध गराउने गैर सरकारी संस्थाका प्रतिनिधि समेत रहेको खुलेपछि माहौल सामान्य रहेन।

गृहमन्त्री लामिछाने बाहिरिएपछि समिति सदस्यहरूले आन्तरिक छलफल गरेर बैठक स्थगित गरेका थिए। गैर सरकारी संस्थाका प्रतिनिधीहरुलाई राज्य व्यवस्था समितिले नै बोलाएको खुलेको छ।

निजामती विधेयकको छलफलमा गैर सरकारी संस्थाका प्रतिनिधि बोलाउनुको कारण समितिका पदाधिकारीले खुलाउन सकेका छैनन्।

असार १, २०८१ आइतबार १३:३१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।