९८ हजार समानुपातिक मत पाएको एकीकृत समाजवादीको संगठित सदस्य संख्या डेड लाख !

९८ हजार समानुपातिक मत पाएको एकीकृत समाजवादीको संगठित सदस्य संख्या डेड लाख !

काठमाडौं : एकीकृत समाजवादीले देशभर १ लाख ५० हजार सङ्गठित सदस्य रहेको दाबी गरेको छ। पार्टीको आसन्न महाधिवेशनका सन्दर्भमा केन्द्रीय सचिव जीवनराम श्रेष्ठले उक्त जानकारी दिँदै महाधिवेशनका लागि १ सय २५ सङ्गठित सदस्य बराबर एक प्रतिनिधि छनोट गरिने बताए।

राष्ट्रिय महाधिवेशनमा सङ्गठित सदस्यमध्ये करिब १ हजार ७ सय प्रतिनिधि छनोट गर्नेछ। पार्टीले यही असार ६ गतेसम्म प्रतिनिधि छनोट गर्ने छ। महाधिवेशनका लागि केन्द्रीय तहका नेता र केन्द्रीय आयोगका सदस्यहरू स्वतः प्रतिनिधि हुनेछन्। विभिन्न निर्वाचन क्षेत्र तथा समूहबाट चुनिएर आउने छन् भने दलित तथा युवा महिला समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको श्रेष्ठले बताए। 

पार्टी निकट जनवर्गीय सङ्गठनमा आबद्ध सदस्यको सदस्यताका आधारमा प्रतिनिधि छनोटका लागि सङ्ख्या निर्धारण गरिएको छ। यही असार १६ देखि २० गतेसम्म पार्टीको दसौँ महाधिवेशन नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुँदैछ।

डेड लाख संगठित सदस्य रहेको दाबी गर्ने एकीकृत समाजवादीले गएको संघीय तथा प्रदेश सभाको चुनावमा ३ प्रतिशत थ्रेसहोल्डसमेत नकटाएको कारण राष्ट्रिय पार्टी बन्न सकेको छैन। 

निर्वाचनमा खसेको मतमा सात दलले तीन प्रतिशतको थ्रेसहोल्ड कटाउँदा दुई लाख ९८ हजार तीन सय ९१ मत प्राप्त गरेर आठौँ दल भएको एकीकृत समाजवादीलाई १८ हजार चार सय ११ मत पुगेन । थ्रेसहोल्ड नकट्दा एकीकृत समाजवादीको जमानतबापतको ५० हजार रुपैयाँ जफतसमेत भएको थियो।  

जेठ ३२, २०८१ शनिबार २१:४७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।