प्रदेशहरूले घटाउँदै ल्याए बजेट, कुन प्रदेशको कति?

प्रदेशहरूले घटाउँदै ल्याए बजेट, कुन प्रदेशको कति?

काठमाडौं : प्रदेश सरकारहरूले असार १ मा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने परम्पराअनुसार शनिबार आआफ्ना प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन्। 

समाचार तयार पार्दासम्म मधेशबाहेक ६ प्रदेश सरकारले आगामी आव २०८१/८२ का लागि बजेट ल्याएका छन्। प्रदेश सरकारहरूले यसपटक बजेट घटाएर ल्याएका छन्। बारम्बार सरकार फेरिने, मध्यावधि समीक्षामा बजेट पुनरावलोकन गरेर घटाउनुपर्ने संघजस्तै समस्या प्रदेशहरूमा पनि छ।  

कोशी प्रदेश सरकारले आगामी आव २०८१/८२ का लागि ३५ अर्ब २७ करोडको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले विराटनगरस्थित प्रदेश सभामा प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा एक अर्ब कम छ। 

चालु आवमा कोशीको बजेट ३६ अर्ब ७४ करोडको थियो। प्रदेश सरकारले आवका लाथि चालूतर्फ १४ अर्ब ४७ करोड ३० लाख र पूँजीगततर्फ १६ अर्ब २० करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ करोडको बजेट विनियोजन गरेको छ। 

गण्डकी प्रदेश सरकारले आव २०८१/८२ का लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको छ। चालु आवको भन्दा ८५ करोडले कम बजेट ल्याइएको हो। आर्थिक वर्ष २०८०/८१ को बजेट ३३ अर्ब ८२ करोड रुपैयाँको थियो।

आर्थिक मामिला मन्त्री टकराज गुरूङले पोखरास्थित प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालूतर्फ १३ अर्ब १६ करोड अर्थात् ३९ प्रतिशत र पूँजीगततर्फ ६० प्रतिशत अर्थात् १९ अर्ब ५१ करोड करोड बजेट विनियोजन गरिएको छ।

लुम्बिनी सरकारले आव २०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ। बजेटको यो आकार चालु वर्षको तुलनामा डेढ अर्बले कम हो। चालु आर्थिक वर्ष २०८०/८१ का लागि लुम्बिनीमा ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट थियो।

आर्थिक मामिलामन्त्री चेतनारायण शर्माले चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगततर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छन् भने वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन्। 

कर्णाली सरकारले आव २०८१/८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको छ। सुर्खेतस्थित प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गर्दै पूँजीगततर्फ कुल बजेटको ५९.७ प्रतिशत अर्थात् १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी गराए। 

सुदूरपश्चिम प्रदेश सरकारले आव २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ। प्रदेशको बजेट यसपटक बढेर आएको छ। चालु आर्थिक वर्षका लागि बजेट २९ अर्ब २६ करोड रुपैयाँ बराबरको ल्याइएको थियो।

आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले शनिबार प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार र पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार बजेट विनियोजन गरेको जानकारी गराए।

बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ९४ लाख ३१ हजार बजेट ल्याएको छ। 

आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले  प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्दै पूँजीगततर्फ ३७ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र चालूतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैयाँ  छुट्याएको जानकारी गराए। 

अन्य प्रदेशको तुलनामा आगामी आर्थिक बर्षका लागि बागमती प्रदेश सरकारले भने चालु आर्थिक वर्षको भन्दा बजेटको आकार बढाएर ल्याएको हो। बागमती प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ६२ अर्ब ७७ करोड ९० लाख रुपैयाँ बजेट ल्याएको थियो। 

जेठ ३२, २०८१ शनिबार २१:१०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।