माधुरीको सुन्दरतामा एकोहोरिँदा चुरोटले अनुहार जलेको पनि पत्तो पाएनन् अजयले !

माधुरीको सुन्दरतामा एकोहोरिँदा चुरोटले अनुहार जलेको पनि पत्तो पाएनन् अजयले !

एजेन्सी : बलिउड अभिनेता अजय देवगनले हालसम्मको करियरमा कैयौं दिग्गज अभिनेत्रीसँग सहकार्य गरिसकेका छन्। जसमा माधुरी दीक्षित पनि पर्छिन्। सन् ९० को दशकमा माधुरी फिल्ममा आफ्नो सुन्दरताले राज गरेकी थिइन्। उनको सुन्दरतामा फ्यान मात्र होइन, कैयौं बलिउड स्टार पनि प्रभावित भएका थिए। जसमा अभिनेता अजय पनि पर्थे।

अजयका अनुसार बलिउडकी ‘धक धक गर्ल’ माधुरीलाई हेर्दा हातमा रहेको चुरोटका कारण उनको हातमा जलन भएको थियो। सन् २००१ मा रिलिज फिल्म ‘ये रास्ते हे प्यार के’को समयमा यो घटना भएको थियो। यो फिल्ममा अजय र माधुरीको क्यामेष्ट्रीलाई दर्शकले निकै रुचाएका थिए।

अजयले फिल्म ‘डबल धमाल’को प्रमोसनका बेला यो किस्सा सार्वजनिक गरेका थिए।

‘फिल्मको सुटिङको एकदिन अघि हामी सबै मिलेर सुटिङको विषयमा छलफल गरिरहेका थियौं। त्यही बेला माधुरी त्यहाँ आइन्। उनी निकै सुन्दर देखिएकी थिइन्। मैले उनलाई हेरें र हेरेको हेरेकै भएँ। मलाई मेरो हातमा चुरोट छ भन्ने पनि थाहा थिएन। चिउँडोमा हात राखेर माधुरीलाई हेरिरहँदा त्यो चुरोटले कतिखेर मेरो छाला जल्यो, पोलेपछि मात्र थाहा पाएँ। अहिले पनि त्यो दाग अनुहारमा छ’, अजयले भनेका छन्।

अजय चाँडै नै फिल्म ‘सिंघम अगेन’मा देखिँदैछन्। यसको सुटिङ हालै कश्मिरमा भएको थियो । फिल्ममा अक्षय कुमार, रणवीर सिंह, अर्जुन कपूर, दीपिका पादुकोण र करीना कपूर खान प्रमुख भूमिकामा छन्।

जेठ ३२, २०८१ शनिबार २०:३३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।