डा. समीरको उपचार अनुभव : बिरामीका आफन्तले शल्यक्रिया बिग्रिएको भन्दै क्षतिपूर्तिवापत् पैसा मागेर धम्क्याएपछि...

डा. समीरको उपचार अनुभव : बिरामीका आफन्तले शल्यक्रिया बिग्रिएको भन्दै क्षतिपूर्तिवापत् पैसा मागेर धम्क्याएपछि...

डा. समीर चापागाईँ नेत्ररोग विशेषज्ञ (अप्थाल्मोलोजिष्ट) हुन्। आँखाको समस्या भएका बिरामीको औषधि उपचार गर्नु र आँखा नदेख्ने समस्या भएका बिरामीलाई आँखा देख्ने बनाउनु उनको चिकित्सकीय धर्म हो। उनले ठूला र सानागरी एक हजार भन्दा बढी व्यक्तिको आँखाको शल्यक्रिया गरेर आँखा नदेख्नेलाई देख्ने बनाएका छन्। उनै डा. समीरले चिकित्सकीय पेसाको शिलशिलामा देखे भोगेका अनुभव उकेरासँग साटेका छन् : 

000

शल्यक्रियापछि आँखा देखेको खुसियालीमा चटक्कै रक्सी छोडेकी ७२ वर्षीय आमै काम्दै बर्बराएपछि...
संखुवासभामा स्वास्थ्य शिविरमा गएको बेला करिब ७२ वर्षकी बुढी आमैको मोतिविन्दुको शल्यक्रिया गरिदिएपछिको परिघटना डा. समीर कहिल्यै भुल्दैनन्। 

करिब ७२ वर्षकी आमै मोतिविन्दुको समस्याका कारण दुवै आँखा नदेख्ने भएकी रहिछन्। डा. समीरले ती आमैको आँखाको मोतिविन्दुको शल्यक्रिया गरे। शल्यक्रिया सफल भयो। शल्यक्रियापछि उनले आँखामा पट्टी लगाइदिए। भोलिपल्ट उनले पट्टी खोलिदिए। त्यसपछि ती आमै  आँखा देख्ने भइन्। अनि त उनी खुसी नहुने कुरै भएन।

डा. समीरको टिमले आँखाको परीक्षण तथा औषधि उपचार र मोतिविन्दुको शल्यक्रिया गरेर स्वास्थ्य शिविरबाट फर्कियो। 
आँखाको शल्यक्रिया गर्नुअघि ती आमै नियमित रुपमा जाँडरक्सी सेवन गर्दिरहिछन्। आँखाको दृष्टि गुमेपछि अन्धकारमय बनेकी उनले जीवनदेखि हरेस खाँदै गएकी थिइन्। तर, शल्यक्रियापछि आँखा देख्ने भइन्। त्यसैको खुसीमा ती आमैले चटक्कै रक्सी सेवन गर्न छोडिछन्। 

एक्कासि चटक्कै रक्सी सेवन गर्न छोडेको साइडइफेक्टस्वरुप ती आमैको शरीरमा डाबर आउने, शरीर पोल्ने, काम्ने, बेहोसी हुने, बर्बराउने जस्ता लक्षण देखिएछन्। झ्याप्पै रक्सी छोड्दा हुने यस्तो असरलाई चिकित्सकीय भाषामा ‘वीथड्रवल रियाक्शन’ भनिन्छ। तर, त्यो लक्षण आँखाको शल्यक्रियाको कारण नभई रक्सी सेवन गर्न छोडेपछिको छोटो समयका लागि भएको समस्या मात्रै थियो। 

यस्ता लक्षण देखिएपछि ती आमैका आफन्तले उपचारका लागि एम्बुलेन्समा लिएर अस्पताल लगेछन्। अस्पताल जाँदा बाटोमा रहेको धनकुटाको ‘डा. रामप्रसाद पोख्रेल आँखा अस्पताल’ मा एम्बुलेन्स रोकेर ती आमैका आफन्तले चिकित्सकको टिमलाई गालि गरेछन्। आफन्तले आमैको आँखा देखाइदिने डा. समीरलाई गालि गर्दै भनेछन् ‘अप्रेशन गरेर किन बिगार्दिनु भएको, हाम्रो त मान्छे पागल हुनुभयो। बर्बाद भयो।’

चिकित्सकको टिमले सम्झाइबुझाइ गरे। त्यसपछि ती आमैलाई आफन्तले उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याए। उपचारपछि त्यो ठिक हुने नै समस्या थियो। ती आमैको स्वास्थ्यबारे अस्पतालमा बुझ्दा उपचारपछि ठिक भएर डिस्चार्ज भएको खबर पाएको उनले सुनाए।

पाँच वर्षपछि आँखा देखेकी आमैले खिन्न हुँदै ‘म त बुढी पो भएछु’ भनेपछि...
प्रसंग केही वर्षअघिको धनकुटाकै हो। पाको उमेरकी आमैलाई आँखाको उपचारका लागि अस्पताल पुर्याइएछ। 
स्वास्थ्य परीक्षण गर्दा मोतिविन्दुको समस्याको कारण ती आमै करिब पाँच वर्षदेखि दुवै आँखा देख्न नसक्ने भइसकेकी थिइन्। डा. समीरको  टिमले उनको एउटा आँखाको मोतिविन्दुको शल्यक्रिया गर्यो। त्यसपछि उनले आँखामा पट्टी लगाइदिए। अनि भोलिपल्ट उनले पट्ट खोलिदिए।

पट्टी खोलिदिएपछि ती आमै मुस्कुराइन्। अनि ऐनामा डा. समीरतिर हेर्दै ति आमैले खिन्न हुँदै भनिछन्, ‘म त बुढी पो भएछु।’ 

उनले ‘म त बुढी पो भएछु’ भन्दा डा. समीरको मन छोयो। एक महिनापछि ती आमैको अर्को आँखाको पनि उनले शल्यक्रिया गरिदिए। अनि उनले दुवै आँखा देख्नसक्ने भइन्। सामान्यतया दुवै आँखाको एकैपटक आँखाको शल्यक्रिया गरिँदैन। 

श्रवण शक्ति कम भएकी १७ वर्षीय किशोरीले शल्यक्रिया गरेको भोलिपल्ट जब आँखा देखिन्
धनकुटाको फरक क्षमता भएका बालबालिका पढ्ने एउटा विद्यालयकी करिब १७ वर्षकी किशोरीलाई उपचारका लागि अस्पताल पुर्याइयो। 

ती किशोरीको श्रवण शक्ति कम थियो। जसले गर्दा राम्रोसँग कान सुन्न सक्दिनथिइन्। उनको बौद्धिक क्षमताको पनि पूर्णरुपमा विकास भएको थिएन। जसले गर्दा मानसिक रुपमा पनि उनलाई केही समस्या थियो। 

ती किशोरीको स्वास्थ्य परीक्षण गर्दा आँखामा मोतिविन्दुको समस्या भएको थाहा भयो। उनी अँध्यारो र उज्यालोको निशाना छुट्याउन सक्ने बाहेक पढ्ने–लेख्ने लगायत दैनिक काम गर्न सक्दिनथिइन्। अस्पताल पुग्नुभन्दा करिब चार वर्षअघिदेखि ती किशोरीलाई आँखामा अलिअलि मात्र समस्या भए पनि एक वर्षदेखि भने उनी आँखै नदेख्ने भएकी रहेछिन्। कान राम्रोसँग नसुन्ने, आँखा पनि नदेख्ने अनि बौद्धिक क्षमतामा  समस्या पनि भएका कारण उनको  दैनिकी कष्टकर बनिरहेको थियो। 

डा. समीरले आँखाको उपचारका लागि अस्पताल पुर्याइएकी ती किशोरीको मोतिविन्दु भएको एउटा आँखाको शल्यक्रिया गरिदिए। शल्यक्रिया गरेको आँखामा पट्टी लगाइदिए। भोलिपल्ट पट्टी खोलिदिए। पट्टी खोलेपछि ती किशोरीले आँखा देखिन्। आँखा देख्दा किशोरी यति खुसी भइन् कि त्यो क्षण डा. समीर शब्दमा वर्णन गर्न सक्दैनन्। 

करिब एक महिनापछि ती किशोरीको अर्को आँखाको मोतिविन्दुको पनि डा. समीरले शल्यक्रिया गरिदिए। शल्यक्रिया सफल भयो। किशोरी दुवै आँखा देख्ने भइन्। त्यो प्रसंग सम्झँदा डा. समीरलाई अझै आनन्द लाग्छ।

बिरामीका आफन्तले शल्यक्रिया बिग्रिएको भन्दै धम्क्याएपछि...
घटना केही वर्षअघिको हो। करिब ५५ वर्ष वर्षकी मोतिविन्दुकी समस्या भएकी महिलाको डा. समीरले शल्यक्रिया गरिदिए। शल्यक्रियापछि ती महिला घर गइन्। तर, उनको आँखा पाकेछ। त्यसपछि उनी अस्पताल पुगिछन्। आँखा पाकेर अलि जटिलता निम्तिएको थियो। त्यसैले त्यहाँ केही औषधि उपचार गरेपछि डा समीरको टिमले थप उपचारका लागि उनलाई धनकुटाबाट बिराटनगरस्थित आँखा अस्पतालमा समन्वय गरेर पठायो। ती महिलाको पुनः आँखाको शल्यक्रिया भएछ। केही समयको औषधि उपचारपछि उनी दृष्टियुक्त भइन्। ठिक भएर महिला अस्पतालबाट डिस्चार्ज भएर घर फर्किइन्। 

तर, ती महिलाका पुरुष आफन्तले भने आँखा बिगार्दिएको भन्दै डा. समीरसँग करिब तीन महिनासम्म क्षतिपूर्तिवापत भन्दै पैसा मागेर हैरान नै पारेछन्। बिरामीका आफन्तले पैसा माग्दै धम्क्याएको सम्झँदा अझै उनलाई खल्लो लाग्छ। सामान्यतया बिरामीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गालि नगर्ने गरेपनि बिरामीका आफन्तले गाली गर्ने गरेको उनले अनुभव सुनाए। 

ती किसानको आँखा नै सिन्काले छेडेपछि...
खेती किसानी काम गर्ने ती ४५ वर्षीय पुरुषको काम गर्ने क्रममा कुनै झोरको सिन्कोले आँखाको एक पत्र नै छेडेछ। त्यो सिन्को नै आँखामा अड्किएको थियो। डा. समीरको टिमले शल्यक्रिया गरी उनको आँखामा अड्किएको सिन्को निकालिदिए। औषधि उपचारपछि उनको आँखा ठिक भएको उनले सुनाए। आँखा ठिक भएपछि ती पुरुष साह्रै खुसी भएको डा. समीर सम्झन्छन्। 

स्थायी घर इलाम, छात्रवृत्तिमा एमबीबीएस
समीरको स्थायी घर इलामको इलाम नगरपालिका हो। उनले दुई कक्षासम्म स्थानीय एउटा विद्यालयमा पढे। अनि तीन कक्षादेखि नौ कक्षासम्म इलामको ग्रिनभ्याल्लि एकेडेमीमा पढे। तर, उनी दश कक्षा पढ्न भने काठमाडौं छिरे। काठमाडौंको कीर्तिपुरस्थित पाँगा माविबाट समीरले २०७२ मा एसएलसी गरे।

एसएलसीपछि काठमाडौंकै माइतिघरस्थित सेन्टजेभियर्स कलेजबाट उनले आईएस्सी गरे। त्यसपछि समीर त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा एमबीबीएस अध्ययनका लागि सन् २००८ मा भर्ना भए। सन् २०१५ मा उनको एमबीबीएस अध्ययन पूरा भयो।

समीरले सरकारी छात्रवृत्ति कोटामा एमबीबीएस पढेका  हुन्। सरकारी छात्रवृत्तिमा एमबीबीएस पढेवापत उनले दुई वर्ष छात्रवृत्ति करारमा काम गर्नु थियो। त्यसैले डा. समीर छात्रवृत्ति करारमा काम गर्नका लागि झापाको भद्रपुरस्थित तत्कालीन मेची अञ्चल अस्पतालमा पुगे। त्यहाँ केही समय काम गरेपछि उनले इलाम जिल्ला अस्पतालमा काम गरे। 

छनोटमा आँखा देखाउने विधा
डा. समीरलाई थप अध्ययन गर्नु त छँदैथियो। उनको छनोटमा पर्यो नेत्ररोग विषय। डा. समीरले त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज चिकित्सा क्याम्पस (वीपी कोइराला लायन्स सेन्टर अफ अप्थाल्मिक स्टडिज)  मा सन् २०१८ मा नेत्ररोग (अप्थाल्मोलोजी) विषयमा स्नातकोत्तर तहको एमडी अध्ययन गर्न थाले। सन् २०२१ मा उनको एमडी अध्ययन पूरा भयो। 

डा. समीरले एमडी पनि सरकारी छात्रवृत्ति कोटामा नै अध्ययन गरे। त्यसैले एमडी अध्ययनपछि पनि सरकारी छात्रवृत्ति कोटामा एमडी अध्ययन गरेवापत उनले दुई वर्ष छात्रवृत्ति करारमा काम गर्नुथियो। छात्रवृत्ति करारमा काम गर्न उनी नेपाल नेत्रज्योति संघ अन्तर्गतको बुटवल लायन्स आँखा अस्पतालमा पुगे। बुटवलमा करिब पाँच महिना काम गरेपछि उनी धनकुटास्थित ‘डा. रामप्रसाद पोख्रेल आँखा अस्पताल’ पुगे। त्यहाँ उनले करिब दुई वर्ष काम गरे। छात्रवृत्ति करारपछि उनले त्यहाँ केही समय जागिरेका रुपमा समेत काम गरे। 

डा. समीर गत मंसिरदेखि झापाको विर्तामोडस्थित मेची आँखा अस्पतालमा कार्यरत छन्। 

समीरलाई डाक्टरी विषय नै पढ्छु भन्ने सोच थिएन। तर, डाक्टरी विषय पढ्दै गए, बुझ्दै जाँदा डाक्टरी विषयमा रमाउँदै जान थाले। अहिले उनी यो विषयमा नै रमाइरहेका छन्। आँखासम्बन्धी समस्या भएका बिरामीको आँखाको परीक्षण गर्ने औषधि उपचार गर्ने र आवश्यकता अनुसार आँखाको शल्यक्रिया गरी आँखाको समस्या हटाउनु उनको दैनिकी हो। 

विशेषगरी मोतिविन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको तथा आँखामा समस्या भएर शल्यक्रिया  गर्नुपर्ने बिरामीको शल्यक्रिया गर्ने लगायतको काममा उनी व्यस्त हुन्छन्।

जेठ ३२, २०८१ शनिबार १९:५७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।