घट्यो लुम्बिनी प्रदेशको बजेट, यस्ता छन् बजेटको प्राथमिकता

घट्यो लुम्बिनी प्रदेशको बजेट, यस्ता छन् बजेटको प्राथमिकता

बुटवल : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०८१/०८२ लागि ३८ अर्ब भन्दा बढिको बजेट ल्याएको छ। आज लुम्बिनी प्रदेश सभामा अर्थमन्त्री चेतनारायण आचार्यले ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।

चालु तर्फ ११ अर्ब २४ करोड २७ लाख र पूँजीगत तर्फ २४ अर्ब ५८ करोड विनियोजन गरेको अर्थमन्त्री आचार्यले बताए। उनले वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड बजेट विनियोजन गरेका छन्।

चालु आर्थिक बर्षका लागि ४० अर्ब रुपैयाँको बजेट ल्याएकोमा यस बर्ष सवा १ अर्ब घटाएर बजेट ल्याइएको हो। आगामी बर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजश्वतर्फ ७ अर्ब ५१ करोड र संघबाट प्राप्त हुने राजश्वमार्फत् १२ अर्ब १ करोड अनुमान गरिएको छ। त्यस्तै, संघबाट रोयल्टी बापत ५० करोड र स्थानीय तहबाट बाँडफाँट हुने राजश्व २ अर्ब ९२ करोड हुने अनुमान गरिएको अर्थमन्त्री आचार्यले बताए।

यस्ता छन् बजेटको प्राथमिकता 
सधैंझैँ आगामी बर्षको बजेट पनि कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर ल्याइएको छ। यसपटक सरकारले किसानको हात प्रदेशको साथ नयाँ कार्यक्रम ल्याएको छ। अर्थमन्त्री आचार्यले सभामा बजेट प्रस्तुत गर्दै बाली-बस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम गर्ने गरी १० करोड ७२ लाख बजेट विनियोजन गरेको बताए।

त्यस्तै, १५ सय हेक्टर क्षेत्रफलमा बाली बृद्धि गर्ने र त्यसका लागि ६ करोड १६ लाख बजेट छुटाइएको छ। कृषकले उत्पादन गरेको बालीमा आधारित अनुदानका कार्यक्रमले यस बर्ष पनि निरन्तरता पाएको छ। दुधजन्य पदार्थ निर्यात प्रबर्द्धनका लागि ६ करोड बजेट विनियोजन भएको छ। व्यवसायीक बाख्रा पालन, बंगुर, भैँसी पालन प्रबर्द्धनका लागि पनि ७ करोड बजेट विनियोजन भएको छ। प्रदेशमा खोरत रोगमुक्त बनाउने अभियानका लागि ३ करोड ३० लाख बजेट छुटाइएको छ।

कृषिमा सम्मानजनक महिलाको सहभागिता, कृषकको पहिचान र वर्गीकरण, उन्नत वीउ तथा नश्लमा कृषकको पहुँच बृद्धि गर्ने कार्यक्रम बजेटमा समेटिएको छ। 

त्यस्तै, १४ सय हेक्टर जमिनमा सिचाइ पुराउने महत्वकांक्षी योजना पनि बजेटमा समेटिएको छ। त्यसका लागि अर्थमन्त्री आचार्यले ७३ करोड ९७ लाख बजेट विनियोजन गरेका छन्। नसर्ने रोगको बढ्दो प्रकोपलाई कम गर्न मेरो स्वास्थ्य: मेरो जिम्मेवारी अभियान सुरु गर्ने, पूर्ण सुरक्षित मातृत्व सेवा, दुर्गम क्षेत्रमा निःशुल्क हवाई उद्धार गर्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई सेवा विस्तारका लागि १५ करोड विनियोजन भएको छ। शैक्षिक पूर्वाधारमा सुधारः गुणस्तरिय शिक्षाको आधारको मान्यता राख्दै भौतिक तथा प्राविधिक पूर्वाधार विकासका लागि १ अर्ब १० करोड बजेट विनियोजन गरेको अर्थमन्त्री आचार्यले बताए।

बजेटले उद्योग क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ। उद्योग तथा बाणिज्य फर्म दर्ता तथा नवीकरण बर्ष अभियानलाई सफल बनाउन बार्षिक नवीकरण हुन नसकेको फर्मको शुल्क र जरिवानाको पाँच प्रतिशत रकम बुझाएमा एक पटकका लागि नवीकरण हुन सक्ने र नयाँ उद्योग तथा व्यवसायीक फर्म दर्तामा लाग्दै आएको शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था बजेटले गरेको छ। 

पर्यटन क्षेत्रमा यस बर्ष देखि घुम्न जाऔं बर्दिया कार्यक्रमलाई बजेटमै समेटेको छ। 

दाङमा टिमुर खेती विकासका लागि टिमुर पकेट क्षेत्र कार्यक्रम बजेटमा समेटिएको छ। एक घर एक धारा अभियान अन्तर्गत ८० प्रतिशत कार्य सम्पन्न भइसकेको १६८ आयोजना सम्पन्न गर्न १ अर्ब ३० करोड रुपैया बजेट विनियोजन भएको छ। खानेपानी गुणस्तर सुधार कार्यक्रम सुधारका लागि ५ करोड ७२ लाख विनियोजन गरिएको छ।

उर्जा क्षेत्रको विकासका लागि १३ करोड ३० लाख बजेट विनियोजन गरिएको छ। पटौटी–दुर्गाफॉट–कुखुरेदेउराली–खज्र्याङ्ग–राङवास–सिमिचौर–तम्घास सडक, सन्धिखर्क– गच्छे– ढिकुरा–धनचौर–जुकेना–जलुके–लामाताल–बडिदमार–चैते–भालुवाङ सडक, बाँके र बर्दिया जोड्ने राँझा–राजापुर सडक लगायत प्रदेशका महत्वपूर्ण १७ वटा सडकको स्तर वृद्धिका लागि २७ करोड ४५ लाख बजेट विनियोजन गरेको छ। लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण कार्यलाई प्राथमिकतामा राख्नै १ अर्ब ८० करोड विनियोजन गरिएको छ। 

जेठ ३२, २०८१ शनिबार १८:५४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।