लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि १ अर्ब ८० करोड विनियोजन

लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि १ अर्ब ८० करोड विनियोजन

बुटवल : लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि १ अर्ब ८० करोड विनियोजन गरेको छ। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/८० को बजेट प्रस्तुत गर्दै अस्पतालका लागि बजेट बजेटको व्यवस्था गरेको उल्लेख गरे।

प्रदेश गौरव आयोजनाका रुपमा रहेको अस्पतालको अत्याधुनिक १२ तले भवन निर्माणको काम भइरहेको छ। अस्पतालमा पछिल्लो पाँच वर्षयता संघीय सरकारको लगानीमा दुई पटक गरी ५८ करोडको लागतमा भौतिक संरचना निर्माण गरिएका छन्। अस्पताल विकास समितिले पनि इमर्जेन्सी, ओपिडी, अन्तरङ्ग सेवा, फार्मेसी, अस्पताल परिसरभित्रको सडक र अस्पताल कम्पाउण्ड वाल निर्माण लगायतमा ३५ करोड बढी लगानी गरेको छ।

अस्पतालको डिपिआर अनुसार भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन्। ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुनेछन्। भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्ने बताइएको छ।

क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ। १२ तलाको नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने छ।  

सरकारी तीन सय र अस्पताल विकास समितिमार्फत् एक सय गरी चार सय बेडको मात्र स्वीकृति पाएको अस्पतालमा बिरामीहरूको अत्यधिक चापका कारण १ सय २४ बेड थप गरी ५ सय २४ बेडबाट बिरामीहरूलाई सेवा प्रदान भइरहेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले लुम्बिनी प्रादेशिक अस्पतालले लुम्बिनी प्रदेशका मात्र नभई अन्य प्रदेशकासमेत गरी ४० लाख जनसङ्ख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए। अस्पतालमा दैनिक रूपमा ओपिडीतर्फ एक हजार पाँच सयदेखि २ हजार र इमर्जेन्सीमा २ सयदेखि दुई सय ५० जनासम्म बिरामी आउने गर्छन्।

हालैमात्र क्याथल्याब सेवा संचालन गरिएको अस्पतालबाट मृगौलाको डायलाइसिस, प्लाष्टिक सर्जरी, ग्याष्ट्रो मेडिसिन, न्यूरो मेडिसिन, न्यूरो सर्जरी, युरो सर्जरी, इन्टेरेस्कोप, सिएनसियू, पिआइसियु, एनआइसियु, बर्थिङ सेन्टर, नेत्र रोग, हाड जोर्नी तथा नसा रोग, दन्त, नाक, कान घाँटी, आँखा, मनोरोग लगायतका विशिष्टिकृत सेवा संचालनमा छन्।

जेठ ३२, २०८१ शनिबार १८:२९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।