'बालेनले गिरीबन्धुबारे स्टाटस लेखेको भोलिपल्टै ३ नेता बालुवाटारमा बसे, बालेनलाई कसरी तह लगाउने भनेर'

'बालेनले गिरीबन्धुबारे स्टाटस लेखेको भोलिपल्टै ३ नेता बालुवाटारमा बसे, बालेनलाई कसरी तह लगाउने भनेर'

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरीबन्धुको कुरा उठाएपछि तीन जना नेताहरू बालुवाटारमा बैठक बसेको बताएका छन्। उनले मेयर बालेनले सामाजिक संजालमा गिरीबन्धुबारे कुरा उठाएपछि एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बैठकमा बसेको दाबी गरे पनि अर्को एक नेता को थिए भने खुलाएनन्। 

जनकपुरमा आयोजित स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन जना नेता बसेर बालेनलाई कसरी तह लगाउने भनेर छलफल गरेको दाबी गरेका हुन्।

उनले भने, ‘भ्रष्टाचार बढेको बढ्यै छ। कहीँ कतै पनि भ्रष्टाचारमा कमी आएको म देख्दिनँ। दुर्भाग्य भन्नुपर्छ, कहीँ कतै कुनै शीर्ष नेतालाई कुनै ठाउँबाट, अस्ति बालेनजीले गिरीबन्धुको कुरा निकालिदिनुभयो। त्यसको भोलिपल्टै तीन वटै नेता बालुवाटारमा बस्नुभयो, बालेनलाई कसरी तह लगाउने भनेर।’

बालेनले गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणमा एमालेका अध्यक्ष ओलीले १० हजार करोड अपचलन गरेको बताएका थिए। त्यसयता एमाले र मेयर बालेनबीचमा टकराब रहिआएको छ। 

१० महिनाअघि पनि मेयर बालेनले 'सिंहदरबार जलाउने' स्टाटस लेखेपछि तत्कालीन प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतको बैठकले बालेनलाई पक्राउ गर्ने सम्बन्धी छलफल गरेको र त्यसमा कांग्रेस सभापति देउवाले असहमति जनाएपछि पक्राउ नगरिएको जनमत अध्यक्ष राउतले खुलासा गरेका थिए। 

जेठ ३२, २०८१ शनिबार १७:५३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।