'महिलाहरू डाडुपन्यु चलाउने ठाउँमा नपुगेको कारण महिला उत्थान भएन'

'महिलाहरू डाडुपन्यु चलाउने ठाउँमा नपुगेको कारण महिला उत्थान भएन'

जनकपुर : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले मुलुकको हरेक संरचनामा एक तिहाइ महिलाहरूको सहभागिता प्रतिनिधित्वका लागि मात्र नभइ नेतृत्व र नीतिगत निर्णय लिनसक्ने भूमिका खोजीका लागि भएको बताएकी छन्।

पार्टीको धनुषा प्रशिक्षण शाखाले शनिबार जनकपुरधाममा आयोजना गरेको महिला सशक्तीकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘एक तिहाइ संविधानले दियो, पार्टीको संरचनामा एक तिहाइ छौं। तर, हामी डाडुपन्यु चलाउने ठाउँमा पुगेनौं। नीति बनाउने ठाउँमा पुगेनौं। त्यसैले हामीले खोजेको एक तिहाइ पदाधिकारीसहितको अर्थपूर्ण हो। निर्णय गर्ने ठाउँका लागि हो।’

एक तिहाइका नाममा महिलालाई कमजोर बनाउन खोजेको उल्लेख गर्दै उनले समानुपातिकमार्फत एकतिहाइ पुर्याउने तर प्रत्यक्षमा चुनाव लड्नका लागि टिकट नदिएर महिलाहरूमाथि अन्याय भएको बताइन्। 

उनले भनिन्, ‘महिलाहरूलाई स्थानीय तहमा उपमेयर र उपाध्यक्षमा टिकट दिने तर अध्यक्षमा नदिएर लैंगिक विभेद भएको छ। महिलाहरूको क्षमता र योग्यताको अपमान भएको छ। त्यसैले अब महिलाहरू एक तिहाइका नाममा खुम्चिनु हुँदैन।’

जेठ ३२, २०८१ शनिबार १७:३९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।