'मास्टर डिग्री गरेको कम्युनिष्ट नेता १० हजार रूपैयाँ चन्दा मागेर गुजारा गर्छ'

'मास्टर डिग्री गरेको कम्युनिष्ट नेता १० हजार रूपैयाँ चन्दा मागेर गुजारा गर्छ'

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले कम्युनिष्ट पार्टीहरूको उदय श्रमिककै बलमा आएको भएपनि नेतृत्व तहमा पुगेका नेताहरूले श्रम गर्न छोडेको बताएका छन्। 

शनिबार ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै महासचिव चन्दले नेतृत्व तहमा पुगेपछि श्रम गर्न छोडेर नेताहरु चन्दाकै पछि दौडेको आरोप लगाए। 

उनले भने, ‘कम्युनिष्ट पार्टीको उदय अथवा समाजवाद श्रमिककै बलमा आयो। तर, मालिक भएपछि नेतृत्वले श्रमिक बन्न छोडेको देख्यौं। मालिक मात्र बन्ने चेतनाले शोषण मात्रै गर्यो। कम्युनिष्ट पार्टीमा नेता बन्दै गएपछि श्रम नगर्ने देखिँदै आएको छ। मास्टर डिग्री गरेको छ तर, १० हजार रुपैयाँका लागि चन्दा माग्दै धाउने गरेका छन्। यो एउटा परम्परा बन्दै गएको देखिएको छ।’

कम्युनिष्ट नेताहरूमा आफ्नो क्षमता प्रदर्शन गरेर अर्थ निर्माणमा ध्यान नदिने प्रवृत्ति हावी हुँदै गएको उनको भनाइ छ। 

कम्युनिष्ट पार्टीलाई श्रमिकहरूको पार्टीमा बदल्नुपर्छ भनेर अभियान चलाएर आफू अघि बढेको चन्दले उल्लेख गरे। 

‘कम्युनिष्ट पार्टीलाई श्रमिकहरूको पार्टी बनाउनुपर्दछ। जसले जेजति योग्यता हासिल गरेको भएपनि आ–आफ्नो ठाउँमा श्रम गर्नु आवश्यक छ। श्रम नगर्ने हो भने त्यसले परनिर्भता ल्याउँदो रैछ भन्ने अनुभूति भएको छ। विज्ञ भएपनि आफ्नो क्षेत्रमा गरेपनि सबैले श्रम गर्ने कुरा संगठनमा लागु गर्नुपर्दछ,’ उनले भने।  

जेठ ३२, २०८१ शनिबार १५:३०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।