'प्रदेश खारेज गर्ने बेतुकको कुरा हो, बरू एमालेसँग मिलेर संघ र प्रदेशमा संसद्को साइज घटाऔं'

'प्रदेश खारेज गर्ने बेतुकको कुरा हो, बरू एमालेसँग मिलेर संघ र प्रदेशमा संसद्को साइज घटाऔं'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघ र प्रदेशको सदस्य संख्या घटाउनुपर्ने बताएका छन्। 

काठमाडौंमा प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रदेश खारेज गरौं भनेर सडक प्रदर्शन गर्नुको तुक नरहेको बताए। बरू संविधान नै संशोधन गरेर संघ र प्रदेशका सांसदहरुको संख्या घटाउनुपर्ने उनको सुझाव छ। 

उनले भने, ‘संघ र प्रदेशको संसदको साइज घटाउनुपर्यो। संघको मन्त्रालय यत्रो राख्नै पर्दैन। संघमा १०/१२ जना मन्त्री बनाए हुन्छ। हामीले संविधानमा २५ लेखेका छौं। २५ नलेखेको भए अहिले प्रचण्ड नेतृत्वको सरकारमा ५० जना मन्त्री बन्ने रहेछन्। संघमा जस्तै प्रदेशमा पनि घटाउनुपर्यो। प्रदेश र संघलाई मिलाउनुपर्यो।’

उनले कम खर्चमा संसद र सरकार चलाउन आवश्यक रहेको बताए। 

उनले भने, ‘प्रदेशको निर्वाचन प्रणाली बदल्नुपर्छ। प्रदेश अहिले अदालतले चलाएको छ। मुख्यमन्त्री अदालतमा भेटिन थालेका छन्।  सबै लगेर अदालतमा बुझाएका छन्। अब कसैलाई दोष दिए हुँदैन। प्रदेशको सन्दर्भमा कतिपय कुरा संविधानमा मिलेनछन्, त्यसो भए के गरौं? संशोधन गरौं। त्यो गर्न एमालेसँग सल्लाह गरौं।’

जेठ ३२, २०८१ शनिबार १४:११:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।