प्रचण्डको कुर्सी धरापमा पार्ने खेलकुद मन्त्रीको अभिव्यक्ति

प्रचण्डको कुर्सी धरापमा पार्ने खेलकुद मन्त्रीको अभिव्यक्ति

काठमाडौं : युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कुर्सी धरापमा पार्ने अभिव्यक्ति दिएका छन्।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा उनले आफूहरूलाई अनावश्यक र अनधिकृत सम्झौता गर्न बाध्य पारिए त्यसै दिन सरकारबाट बाहिरिने चेतावनी दिए।

उनले भने, ‘केही कुरामा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले कुनै खालको सम्झौता गर्न पर्यो भने त्यो दिन नै रास्वपा सरकारबाट बाहिर आउन अहिले नै तयार छ। हाम्रो राजीनामा पत्रमा मिति मात्र लेख्न बाँकी छ। त्यो तयार गरेर बोकेर नै हिँडेका छौँ।’

उनले सत्तामा पुरानो कर्मकाण्डी हिसाबले उपलब्धि नहुने गरि चलिरहेको भन्दै सरकारलाई दिएको समर्थनमाथि समीक्षा गर्नुपर्ने बेला आएको पनि बताए।

उनले थपे, ‘हामीले सरकारलाई दिएको समर्थनमाथि समीक्षा गर्नुपर्ने बेला पनि छ। साथै सत्ता साझेदार दलहरूले पनि यसलाई एकपटक समीक्षा पनि गर्ने र पुनरावलोकन पनि गर्ने कुराहरू पनि चल्न थालेको छ।’

श्रेष्ठले सरकारलाई दिइएको समर्थनबारे साझेदार दलहरूले पनि पुनरावलोकन गर्नुपर्ने कुराहरू चलिरहेको भनेर सरकार संकटमा रहेको सन्देशसमेत मात्रै दिएनन् प्रधानमन्त्री प्रचण्डलाई चस्कासमेत दिए।

गत जेठ ७ गते प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिएका थिए। जसमा उनले १५७ मत पाएका छन्।

प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सांसदले विश्वासको मत दिएका छन्। यदि रास्वपाले समर्थन फिर्ता लिए सरकार ढल्छ र प्रधानमन्त्री दाहालले सत्ता गुमाउनुपर्छ।

जेठ ३२, २०८१ शनिबार १३:३३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।