विदेशी फिल्मकर्मीलाई नेपालमा सुटिङ गर्नै सकस : झन्झटिलो प्रक्रिया, अधिकृतलाई ज्वाइँसरह पाल्नुपर्ने बाध्यकारी कानून

विदेशी फिल्मकर्मीलाई नेपालमा सुटिङ गर्नै सकस : झन्झटिलो प्रक्रिया, अधिकृतलाई ज्वाइँसरह पाल्नुपर्ने बाध्यकारी कानून

काठमाडौं : एक महिनाअघि विदेशी फिल्मकर्मीहरूलाई नेपालमा सहजै फिल्म तथा डकुमेन्ट्रीका लागि सुटिङ गर्ने विषयमा एउटा भेला भयो।

गोपीकृष्ण फिल्मस्ले काठमाडौंमा आयोजना गरेको ‘सुटिङ डेस्टिनेसन इन नेपाल’ अन्तरक्रिया कार्यक्रममा फिल्मकर्मीहरूले नेपालमा अन्तर्राष्ट्रिय फिल्मको सुटिङलाई प्रोत्साहन गर्न सरकारले विशेष ध्यान दिनुपर्ने निष्कर्षमा निकाले।

कार्यक्रममा फिल्म निर्देशक मीन भामले सुटिङका लागि नेपाल महँगो बन्दै गएकाले विदेशी फिल्ममेकरहरू अन्यत्र आकर्षित भइरहेको बताए। सरकारी संयन्त्र झन्झटिलो, विदेशबाट सामान ल्याउन लफडा लगायत दक्ष जनशक्तिको अभावका कारण विदेशी फिल्ममेकरको रोजाइमा नेपाल पर्न नसकेको बताए।

सरकारले फिल्म छायांकनका लागि सहज बनाइदिँदा नेपाली परिवेश र हिमाली क्षेत्रको सुटिङ पनि अन्यत्रै गर्ने गरेको उनको धारणा थियो। उनका अनुसार सरकारी नीति परिवर्तन नभएसम्म विदेशी फिल्ममेकरलाई नेपालमा आकर्षित गर्न कठिन छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कर्मचारीहरू पनि भामको यो भनाइमा सहमत जनाउँछन्। विदेशी फिल्ममेकरलाई नेपालमा फिल्म, डकुमेन्ट्री तथा वृत्तचित्र निर्माण गर्दा केहि झमेला भएको उनीहरूको स्वीकारोक्ति छ।

छायांकन स्थल र ड्रोन उडाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट मात्र अनुमति लिएर हुँदैन। कतिपय ठाउँमा गृह मन्त्रालयबाट समेत अुनमति लिनुपर्ने हुन्छ।

नेपालमा विदेशी फिल्ममेकरले आ-आफ्नो भाषामा फिल्म, डकुमेन्ट्रीदेखि वृत्तचित्र खिच्ने गरेका छन्। छिमेकी राष्ट्र भारतका अलवा अमेरिका, अष्ट्रेलिया लगायत देशका फिल्मकर्मीहरू नेपालका विभिन्न भेगलाई छायाङ्कन स्थल बनाउने गरेका छन्।

उनीहरूको रोजाइमा विशेष गरी काठमाडौं उपत्यकाको अलावा पोखरा, सगरमाथा, मुस्ताङ तथा उच्च पहाडी र हिमाली क्षेत्र पर्नेगर्छ। दुई वर्षअघि बलिउड कलाकार अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा, सारिका हसन लगायतका कलाकारले फिल्म ‘उचाइ’को छायांकन नेपालमा गरेका थिए।

उक्त फिल्मको सुटिङ सगरमाथा क्षेत्रको साथै मुस्ताङमा पनि भएको थियो। फिल्म प्रदर्शनमा आएसँगै नेपालको हिमाली क्षेत्र सगरमाथा आधार शिविरको बारेमा भारतमा चर्चा भएको थियो। फिल्म हेरेर नै कतिपय भारतीय पर्यटक नेपाल घुम्न आएका छन्।

सन् २०२३ देखि अहिलेसम्म  तीन दर्जन भन्दा बढी फिल्म, डकुमेन्ट्री तथा वृत्तचित्रका लागि विदेशी फिल्म कम्पनीले नेपालमा छायांकनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट अनुमति लिइसकेका छन्।

कुनै फिल्म सुटिङका लागि तयारीमा छन् भने कुनै दर्ताको तयारीमा छन्। केहि फिल्मकर्मीहरूले फिल्म दर्ता गरेर पनि छायांकनमा असहज भएको कारण सम्झौता रद्द गरेका छन्।

उसो त नेपालमा विदेशी फिल्मकर्मीहरूलाई फिल्मको छायांकन गर्न भने सजिलो छैन। आफ्नो फिल्मको कथा अनुसार छायांकन गर्न भनेर उनीहरू महंगो खर्चमा नेपाल आउने गरेका छन्।

तर, नेपालमा उनीहरूले सिधै फिल्म छायांकन अनुमति पाउँदैनन्। त्यसका लागि कुनै नेपाली कम्पनीसँग अनिवार्य सहकार्य गर्नुपर्ने कानूनी व्यवस्था छ।

नेपाली कम्पनीसँगको सहकार्यमा अनुमति लिएपछि उनीहरूले तोकिएको स्थानमा तोकिएबमोजिम फिल्म खिच्नुपर्ने हुन्छ। त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक जना सम्पर्क अधिकृत खटाउँछ।

मन्त्रालयका उपसचिव तथा सहायक प्रवक्ता विशाल सापकोटाका अनुसार विदेशीले सुटिङका लागि मन्त्रायलमा बुझाए बमोजिमको स्क्रिप्टमा काम भए/नभएको र तोकिएको ठाउँमा छायांकन भए/नभएको सम्पर्क अधिकृतले मन्त्रालयलाई जानकारी गराउनेछन्।

ती सम्पर्क अधिकृतको निगरानीमा उनीहरूले फिल्म छायांकन गर्न पाउँछन्। यति त्यसो नभए उनीहरूलाई अनुमति रद्द गर्नुका साथै सामान समेत जफत हुने कानूनी व्यवस्था छ।

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ अनुसार मन्त्रालयबाट खटिएका सम्पर्क अधिकृतलाई विदेशी फिल्म निर्माताले सुटिङका क्रममा ज्वाइँसरह मेजमानी गर्नुपर्ने हुन्छ। निर्माताले सम्पर्क अधिकृतलाई खान बस्न, सवारी साधनको सुविधादेखि दैनिक भत्ता दिनुपर्नेछ।

हिमाली भेगमा सुटिङ गर्दाको समयमा उनलाई चाहिने लत्ता कपडा, जुत्तादेखि सबै सामग्रीको बन्दोबस्त समेत विदेशी निर्माताले व्यहोर्नुपर्ने नियम छ। सुटिङका क्रममा सम्पर्क अधिकृतको ३ लाख बराबरको बीमाका अलवा दुर्घटना भएको खण्डमा उपचार खर्च सबै निर्माताले नै व्यहोर्नुपर्ने नियम रहेको सहप्रवक्ता विशाल सापकोटाले बताए।

ड्रोन उडाउन गृहको पनि सहमति
विदेशीले सबै ठाउँमा ड्रोन उडाएर सिन खिच्न पाउँदैनन्। उनीहरूले सूचना तथा सञ्चार मन्त्रालयबाट अनुमति लिए पनि गृह मन्त्रालयको पनि अनुमति लिनुपर्ने हुन्छ।

दुई किलोग्रामभन्दा बढीको ड्रोन उडाउनका लागि गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने हुन्छ। अनुमतिबेगर खिचेको पाइए कानूनबमोजिम कारबाही हुने सह-प्रवक्ता सापकोटा बताउँछन्।

सम्पर्क अधिकृत खटाउनुको मुख्य कारण मन्त्रालयले दिएको स्वीकृतिअनुसार फिल्मकर्मीले खिचेको छन्-छैनन् भनेर अनुगमन गर्नलाई भएको उनको भनाइ छ।

जेठ ३२, २०८१ शनिबार १२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।