न्युजिल्याण्डसँग युगान्डा ९ विकेटले पराजित

न्युजिल्याण्डसँग युगान्डा ९ विकेटले पराजित

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले समूह चरणको अन्तिम खेलमा युगान्डालाई ८८ बल बाँकी हुँदै ९ विकेटले पराजित गरेको छ।

दुवै टिम समूह चरणबाट बाहिर भइसकेकाले शनिबारको नतिजाले कुनै प्रभाव भने पर्ने छैन।

यो टी-२० विश्वकप इतिहासमा दोस्रो सबैभन्दा कम स्कोर र युगान्डाको नाममा लज्जास्पद कीर्तिमान हो। १८ दशमलब ४ ओभरमा पुगेर अल आउट हुनुपूर्व युगाण्डाले केवल ४० रन जोडेको थियो।

न्युजिल्याण्डका कप्तान केन विलियम्सनले टस जितेर बलिङ गर्ने निर्णय गरे जुन एकदम सही साबित भयो। पहिले ब्याटिङमा आएको युगाण्डाको टोलीले किवी बलरको सामना गर्न सकेन।

टोलीका तीन ब्याट्सम्यान खाता नखोल्दै आउट भएका थिए भने मात्र २ रनमा ३ विकेट खसेको थियो। यसपछि आधा टोली १५ रनमै प्याभेलियन फर्किएको थियो।

न्युजिल्याण्डको खतरनाक बलिङ विरुद्ध युगाण्डाका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन्। जसका कारण पुरै टोलीले ४० रन मात्र बनाउन सक्यो।

किवी टोलीका लागि ट्रेन्ट बोल्टले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरको स्पेलमा एक मेडन राख्दै ७ रन दिएर २ विकेट लिए।

यसबाहेक रचिन रविन्द्रले पनि आफ्नो ३ ओभरको स्पेलमा एक मेडन राख्दै ९ रन दिएर २ विकेट लिए। टिम साउथीको बलिङ पनि निकै बलियो थियो र युगाण्डाको टोलीले पनि प्रतिस्पर्धा गर्न सकेन।

जवाफी लक्ष्य न्युजिल्याण्डले ५.२ ओभरमा १ मात्र विकेट गुमाएर पूरा गरेको थियो। न्युजिल्याण्डका डेभोन कोनवेले नटआउट २२ रनको पारी खेले।

फिन एलन भने ९ रन बनाएर आउट भएका थिए। रचिन रविन्द्र १ रनमा नटआउट रहे।

युगान्डाका रिजात अलि साहले १ विकेट हात पारे। यो समूहबाट अफगानिस्तान र वेस्टइन्डिजले अन्तिम ८ मा स्थान पक्का गरेका छन्।

जेठ ३२, २०८१ शनिबार १०:५७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।