दक्षिण अफ्रिकासँग एक रनले हार्यो नेपाल, सकियो सुपर आठको सम्भावना

दक्षिण अफ्रिकासँग एक रनले हार्यो नेपाल, सकियो सुपर आठको सम्भावना

काठमाडौं : आईसीसी टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ।

११६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रनमा समेटिएको हो।

अन्तिम ओभरमा आठ रन चाहिएकोमा स्ट्राइकमा रहेका गुल्सनकुमार झाले पहिलो दुई बलमा रन बनाउन सकेनन्। तेस्रो बलमा चौका प्रहार गर्दा चौथो बलमा दुई रन ल्याए।

पाँचौं बल डट भएपछि अन्तिम बलमा नेपाललाई दुई रन चाहिएको थियो। तर, गुल्सन झाले उक्त बल खेल्न त सकेनन् नै रनआउट समेत हुन पुगे।

​​​​​​नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए। अनिल शाह २७ र कुशल भुर्तेलले  १३ रन जोडे।

दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान छ-छ रन बनाउँदा कुशल मल्ल एक र कप्तान रोहित पौडेल शून्यमा आउट भए। सोमपाल कामी ८ रन बनाएर नटआउट रहे।

दक्षिण अफ्रिकाका तबरैज साम्सीले दुई तथा कप्तान एडेन मारकम र  एनरिच नोर्ट्जेले एक विकेट लिए।

त्यसअघि सान्ट भिनसेन्टको एरोन भाले ग्राउन्डमा टस हारेर पहिला ब्याटिङमा तानिएको दक्षिण अफ्रिकाले सात विकेट गुमाएर ११५ रन बनाएको थियो।

उसका लागि रिचा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाउँदा एडन मक्रम १५ र क्विेन्टन डिकक १० रन बनाएर आउट भए। ट्रिस्टान स्टब्स २७ रनमा नटआउट रहे।

नेपालका कुशल भुर्तेलले चार र दीपेन्द्र सिंह ऐरीले तीन विकेट लिए।

हारसँगै समूह ‘डी’मा रहेको नेपालको तीन खेलबाट एक अंकसहित प्रतियोगिताबाट बाहिरिएको छ। दक्षिण अफ्रिका भने चार खेलमा आठ अंक बटुलेको छ। दक्षिण अफ्रिका यसअघि नै सुपर आठमा पुगिसकेको छ।

नेपालले अब आफ्नो अन्तिम खेल सोमबार विहान सवा पाँच बजे बंगलादेशसँग खेल्नेछ।

जेठ ३२, २०८१ शनिबार ०८:३८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।