आज साम्राज्ञी हारे भोली फिल्म क्षेत्रका अनेक केसीहरूबारे कसले बोल्ने हिम्मत गर्छ ?

आज साम्राज्ञी हारे भोली फिल्म क्षेत्रका अनेक केसीहरूबारे कसले बोल्ने हिम्मत गर्छ ?

काठमाडौँ : जसरी बलिउडमा शाहरुख अनि सलमान खानसँग निहुँ खोज्दा फिल्मी क्षेत्रमा टिक्न हम्मे पर्छ नेपालमा भुवन केसीसँग निहुँ खोज्दा त्यस्तै अवस्था देखियो। हो त?

 चलचित्र विकास बोर्डका अध्यक्ष त भए नै उनी, सँगै फिल्म निर्माता पनि हुन्। अरू केही नचले तुरुपको एक्का छोरा अनमोल छँदै छन्। त्यसमा यति लामो समय फिल्म क्षेत्रमा काम गरेकाले सम्बन्ध पनि बलियो छ नै।

कुनै समयकी अधिक माग भएकी नायिका साम्राज्ञी आरएल राणाको अभिनयको ओरालो यात्रा उही भुवनसँगको टक्करको कारण त हैन?

नेपाली फिल्म क्षेत्रमा लामो समय बिताएका शोभित बस्नेतले साम्राज्ञीबारे मेरोफिल्मसँग प्रतिक्रिया दिँदै भनेका छन्' म साम्राज्ञीको प्रशंसक हुन्। उनले फिल्म क्षेत्रका स्थापितहरुसँग झगडा नगरे हुने।' उनको झगडा केसीसँग भएको हो। यसले केसीसँग जायज विषयमा बोल्दा उनलाई फिल्म क्षेत्रमा एक्ल्याउने प्रयास भएको पुष्टी गर्दैन र?

किनकि हिजोका दिनमा उनी एकसेएक सफल निर्देशक अनि निर्माताको नजरमा थिइन्। उनलाई फिल्म अभिनय गर्न भ्याई नभ्याई थियो। अनि उनले अभिनय गरेका फिल्म हिट पनि भएका थिए।

ड्रिम्स, ए मेरो हजुर २, इन्टु मिन्टु लन्डनमा जस्ता हिट फिल्मकी अभिनेत्री थिइन् उनी। तिमीसँग,कायरा, रातो टिका निधारमा, तिम्रो मेरो साथ, ह्यारिकी प्यारी जस्ता फिल्म निरन्तर असफल भए।

करिब एक वर्षको विश्रामपछि उनको अभिनय रहेको लन्डन टु पेरिस रिलिज भएको एक साता पनि हलमा टिक्न सकेन। रुमानी रङ्ग उनको आगामी फिल्मको नाम हो। तर बन्ने निश्चित छैन।

पहिलो त उनले पछिल्लो समय काम गरेका निर्माता अनि निर्देशकहरु आफैँ फिल्म क्षेत्रमा सफल हुन सङ्घर्षरत छन्। पहिला जस्तो हिट भइसकेका निर्माता र निर्देशक पाएकी छैनन्। उनले यसको कारण सामाजिक सञ्जालमार्फत साम्राज्ञीले नेपाली फिल्म क्षेत्रबारे सार्वजनिक गर्ने अभिव्यक्तिलाई समेत लिएको देखिन्छ।

यसको प्रारम्भ  कोभिडकालको उनको इन्स्ट्राग्राम पोस्टसँग जोडिन्छ। त्यो बेलामा विश्वमै कला क्षेत्रमा भइरहेको यौन दुर्व्यवहारविरुद्ध मिटू अभियान चलिरहेको थियो।

उनले पनि इन्स्टाग्रामबाट यस्तै आफ्नो तितो अनुभव पोखिन् तर कसैको नाम नलिई। त्यसको प्रतिवादमा एकाएक भुवन केसी निस्किए। त्यसपछि उनीहरुबीचको विवाद अदालत गयो। भुवन केसीले गाली बेइज्जतीको मुद्दा हाले। तर उनले जितेनन्।

साम्राज्ञी केसीविरुद्ध यौन दुर्व्यवहारमा कानुनी उपचारमा नजाँदा उनीमाथि अपराध भएको हो या हैन कानुनी रूपमा प्रमाणित भएन। केसी पनि दण्डित भएनन्। तर गाली बेइज्जतीको मुद्दा केसी हार्दा एक पक्षबाट शाहले इन्स्टामा जे भनेकी थिइन् त्यो गलत थिएन भन्ने त भयो नै।

केसीसँगको विवादपछि नै शाहको अभिनय यात्रा पातलो हुँदै गएको थियो। त्यसमा यत्रो समय फिल्मी क्षेत्रमा काम गरेका, विकास बोर्डको अध्यक्ष रहेका केसीको प्रभाव नपर्ने भन्ने प्रश्नै रहेन।

उता शाहले जति फिल्ममा अभिनयको अवसर पाइन् ती पनि निकै कमजोर भए। निर्माण टिमको कमजोरी मात्र ती फिल्म फ्लप हुनुको कारण थिएन। त्यसमा साम्राज्ञीको फितलो अभिनय पनि असफलताको कारण थियो।

उनले फिल्म मेकर छान्नमा कमजोरी त गरिन् नै स्क्रिप्टको अध्ययन र त्यस अनुसार आफ्नो अभिनयमा निखारता ल्याउन पनि कमजोरी गरिन्। त्यसले पाएको मौका पनि सदुपयोग गर्न सकिनन् उनले।

त्यो असफलताको यात्रा लन्डन टु पेरिससम्म आइपुग्दा डिजास्टरकै चरणमा पुग्यो।

एकातिर केसीको प्रभाव, अर्कोतिर निरन्तर कमजोर टिम अनि अभिनय गरेका फिल्म पनि निरन्तर यसरी नै ओरालो लाग्दा एक कलाकारमा निराशा छाउनु स्वाभाविकै हो।

तर उनले माफी नमागी जसरी इन्स्टाग्राममा बोलेको विषयमा अदालतसम्ममा अडिग भएर आफ्नो बलियो आत्मविश्वास देखाइन् त्यसरी नै फिल्म क्षेत्रमा बलियो कमब्याक गरेर अवरोध गर्नेहरूलाई कामबाट जवाफ दिन उनले आफ्नो अभिनय क्षमतामा सुधार गर्न भने आवश्यक छ।

जे गरे पनि साम्राज्ञी जत्तिको साहसी अभिनेत्रीहरूले निराश भएर पलायन हुनु चैँ भएन। नत्र भोलीका दिन नेपाली फिल्म क्षेत्रमा भएका अनेक केसीहरूबारे कसैले बोल्ने हिम्मत गर्ने छैनन्।

जेठ ३२, २०८१ शुक्रबार २३:३३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।