मेयर बालेनको एक वर्षको उपलब्धी : ३३ रोपनी जग्गा खोजीदेखि ३० किमी सडक कालोपत्रेसम्म

मेयर बालेनको एक वर्षको उपलब्धी : ३३ रोपनी जग्गा खोजीदेखि ३० किमी सडक कालोपत्रेसम्म

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट  र नीति तथा कार्यक्रमले तय गरेकामध्ये उपलव्धिको सुची सार्वजनिक गर्यो।

महानगरले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबारक नगरसभामा पेश गर्दा गत वर्ष लिएका लक्ष्यमध्ये सफल भएका सूचीहरु सार्वजनिक गरेको हो।

उपलब्धीका अधिकांश सूची शिक्षासँग जोडिएको देखिन्छ। सफलताको सूचीमा  छात्रबृत्ती, कति पोका रक्तदान गरेको, कहाँ-कहाँ अतिक्रिमत जग्गा खाली गरिएको जस्ता कामहरु उल्लेख गरिएको छ।

महानगररले सार्वजनिक गरेको १ वर्षको उपलव्धि

महानगरपालिका क्षेत्रभित्रका संस्थागत र सामुदायिक विध्यालयमा अध्ययनरत २० हजार ३ सय २९ जना विध्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको।

सामुदायिक विध्यालयमा पूर्व प्राथमिक तहदेखि कक्षा ५ सम्मका २६ हजार ३ सय ९५ जना विध्यार्थीलाई प्रतिदिन केन्द्र सरकारबाट प्राप्त १५ रुपैयाँको खाजाखर्चमा  महानगरपालिकाको तर्फबाट १५ रुपैयाँ थपेर ३० रुपैयाँको दरले कक्षा ६ देखि कक्षा  १० सम्मका २३ हजार ५ सय ४६ जना विध्यार्थीलाई प्रतिदिन ३० रुपैयाँका  दरले महानगरको तर्फबाट दिवा खाजाखर्च उपलब्ध गराएको।

प्रविधिको माध्यमबाट शिक्षाको गुणस्तर अभिवृद्धि गर्न सामुदायिक विध्यालयलाई १ सय २७ वटा ल्यापटप उपलब्ध गराएको।

सामुदायिक विध्यालयका लागि ३ सय १३ थान स्मार्ट बोर्ड, ३६ थान डेस्कटप कम्प्युटर र १२ हजार थान डेस्क-बेन्चहरुको खरिद प्रकृया अन्तिम चरणमा रहेको|

सामुदायिक विध्यालयका  १९ हजार छात्राहरुका लागि नि:शुल्क सेनेटरी प्याड उपलब्ध गराएको. ७  वटा विध्यालयमा सेनेटरी प्याड डिस्पोजेवल मेशिन जडान गरिएको।

‘शिक्षामा सीप’ गौरवको योजना अन्तर्गत कक्षा ९ र १० का २५२० जना विध्यार्थीहरुका लागि १० वटा मोड्यूलका छोटो अवधि (९० घण्टा) को तालिम प्रदान गरियो।

सामुदायिक विध्यालयमा बालसञ्जाल गठन गरी कक्षा ३ देखि ८ सम्मका विध्यार्थीहरुलाई बिभिन्न १५ विधामा पाठ्यक्रम सहितको १५ हप्ते बुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन गरिएको।

आधारभूत तह (कक्षा १ देखि कक्षा ८) सम्मका विध्यार्थीहरुलाई नेपालभाषामा पठनपाठन गर्ने कार्यलाई निरन्तरता दिइएको।

 

‘सुन्दर विध्यालय’ स्वर्णीम परियोजना अन्तर्गत एक सय जना स्वयमसेवक परिचालन गरी सामुदायिक विध्यालयका स्टिम उपसमूह र बालबालिका तथा बातावरण (बाबा) उपसमुहका पदाधिकारीहरुलाई ६ महिने तालिम प्रदान गरिएको।

‘गरी खाने शिक्षा, महानगरको ईच्छा’नामको गौरवको योजना अन्तर्गत शिक्षाको गुणस्तर अभिवृद्धि गर्न काठमाडौँ विश्वविध्यालयसंगको सहकार्यमा टिचर्स कलेज कार्यक्रम सञ्चालन गरी सामुदायिक विध्यालयका दुई हजार शिक्षकलाई तालिम प्रदान गरिएको।

‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ गौरवको योजना अन्तर्गत महानगरवासीलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सहरी स्वास्थ्य क्लिनिकहरूको स्तरोन्नति गरी ५ वटा स्वास्थ्य क्लिनिकहरुलाई सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा रूपान्तरण गरिएको|

अन्य सहरी स्वास्थ्य क्लिनिकहरु सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा रुपान्तरणको क्रममा रहेको। रुपान्तरित सहरी स्वास्थ्य प्रबर्धन केन्द्रलाई प्रथम सेवा बिन्दु तोकी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको।

अस्पतालहरुमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यबिधि, २०८० कार्यान्वयनमा ल्याई काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ५२ वटा अस्पतालहरुसँग समन्वय र सहकार्य गरी नेपालको जुनसुकै स्थानीय तहबाट सिफारिस भई आएका विपन्न, असहाय र वेवारिसे अवस्थाका विरामीहरुलाई ३ सय ७४ शैयामा निःशुल्क उपचार गर्ने प्रवन्ध मिलाइएको।

महानगरवासीलाई सुलभ तथा सुपथ मूल्यमा गुणस्तरीय औषधी प्राप्त गर्न फार्मेसी सञ्चालन तथा नियमन निर्देशिका, २०८१  कार्यान्वयनमा ल्याईएको। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र २६१ वटा  फार्मेसीहरुको अनुगमन गरिएको।

काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित नि:शुल्क एम्बुलेन्स सेवा (१०२ हटलाइन) बाट ९ हजार ८ सय १८ जनाले नि:शुल्क एम्बुलेन्स सेवा प्राप्त गरेको।

स्तन तथा पाठेघरको मुखको क्यान्सर पहिचानको लागि सवै वडामा स्वास्थ्य शिविर संचालन गरी ७ हजार ७ सय ७५ महिलाहरुको स्तन क्यान्सरको स्क्रिनिङ्ग र ६ हजार ३ सय १६ महिलाहरुको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग गरिएको।

महानगरवासीको आरोग्य जीवनका लागि तीन सय जनालाई योग तथा जीम प्रशिक्षकहरुको क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको।

मानसिक स्वास्थ्यका लागि जनप्रतिनिधि तथा स्थानीयवासी समेत गरी २ सय ४० जनालाई मनोसामाजिक परामर्श तालिम प्रदान गरिएको। १ हजार ३ सय ५५ जनालाई नि:शुल्क रगत तथा रक्ततत्व उपलब्ध गराईएको।

काठमाडौँ महानगरक्षेत्रभित्र संचालित २५५ वटा निजी स्वास्थ्य संस्थाहरुलाई District Health Information System 2 (DHIS2) तालिम प्रदान गरी अनलाइन प्रतिवेदन प्रणालीमा आवद्ध गरिएको|

‘धुलो रहित काठमाडौं’ गौरवको योजना अन्तर्गत ३०.०३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य, २२.६ किलोमिटर  फूटपाथ निर्माण कार्य, ८.०७ किलोमिटर बाटो ढलान, १३०० वर्गमिटर चोकमा ढुंगा छाप्ने कार्य, ७.६६ किलोमिटर ढल निर्माण र २.९ किलोमिटर  रिटेनिगंवाल निर्माण सम्पन्न गरिए।

महानगरपालिका क्षेत्रभित्र ४ वटा सामुदायिक भवन, २ वटा शहरी स्वास्थ्य क्लिनिक भवन, ४ वटा कलेज तथा स्कूल भवन, १ वटा सार्वजनिक शौचालय, २ वटा फल्चा बस स्टप, २ वटा पाटी र १० वटा पार्क निर्माण सम्पन्न गरिएको।

‘पूर्वाधार एम्बुलेन्स’ स्वर्णिम योजना मार्फत महानगरपालिका क्षेत्र भित्रका १९ हजार १ सय वर्गमिटर सडकको मर्मत कार्य सम्पन्न गरिएको।

महानगर क्षेत्रभित्र २०८९ वटा स्मार्ट सडक बत्तिको जडान गर्ने कार्य बिध्युत प्राधिकरणसँगको सहकार्यमा सम्पन्न गरिएको।

‘सुन्दर महानगर’ स्वर्णिम योजना अन्तर्गत सुन्धारास्थित नेपाल टेलिकम, वाल्मिकी विध्यापीठ, नेपाल आर्ट काउन्सिल, यातायात व्यवस्था कार्यालय बागमती, विनायक सुधा निकेतन स्कुल, दशरथ रंगशाला समेत गरी १४०० वर्गमिटर पर्खालमा कलात्मक चित्रहरुको लेखन कार्य सम्पन्न गरिएको।

महानगरपालिकालाई खुल्ला संग्रहालयको रुपमा विकास गर्न तथा यसको पहिचानलाई जोगाई राख्न नियमित कार्यक्रम अन्तर्गत ४० वटा योजनाहरु (मन्दिर ६, पाटी १, सत्तल २, बहीबहाल बिहार १२, गुठीघर द्यःछेँ ११, अन्य ८) पुनः निर्माण र जिर्णोद्वार कार्य सम्पन्न भएको। १४० वटा मन्दिर, विहार, चैत्य, पाटी, फल्चाहरु र २८ वटा ढुंगेधारा तथा पोखरीहरुको सौन्दर्यीकरण गरिएको।

अमूर्त सम्पदा संरक्षण र प्रवर्धनका लागि विभिन्न स्थानीय जात्रा, पर्व, परम्पारगत गुठी, बाजा, भाषा, कला तथा संस्कृतिको जगेर्ना गर्न क्रियाशील रहेका २०० खलः, पुचः, संघ संस्थाहरुलाई अनुदान तथा कार्यक्रम सहयोग उपलब्ध गराईएको।

‘साँस्कृतिक महानगर’ स्वर्णीम योजना अन्तर्गत साप्ताहिक रुपमा ७ वटा वडाहरुमा साँस्कृतिक कार्यक्रम सहित दबू पुनरोत्थान  कार्यक्रम सञ्चालन भईरहेको।

महानगरस्तरीय बाँसुरी खल: धें धें बल्लाकासा र धा: बाजा धें धें बल्लाकासा (बाजा प्रतियोगिता) सम्पन्न गरिएको। ३२  वडाका डबली, दवूहरुको प्रारम्भिक अभिलेख संकलन गरि प्रतिवेदन तयार भएको।

महानगरपालिका भित्रका ५ वटा वडा (५, ६, ७, १८ र २४) का स्थानहरुको साँस्कृतिक, ऐतिहासिक र सामाजिक महत्वका प्राचीन तथा मौलिक नामको संकलन, अध्ययन तथा अनुसन्धान कार्य सम्पन्न भएको।

महानगरपलिका वडा नं. ५ हाँडिगाउँमा रैथाने नेवार बस्तीहरूलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न १ किलोमिटर सडकमा प्रत्येक शनिबार Car Free Saturday अभियान सञ्चालन गरी मौलिक रहनसहन, परिकार र भेषभूषा सहितको नरःजीवन्त कार्यक्रम आयोजना भइरहेको छ।

काठमाडौँ महानगरपालिका वडा नं. ५, १०, १२ २४, २५ र २७ वडामा फोहरलाई श्रोतमा वर्गीकरण गर्ने  कार्यको शुरुवात गरिएको छ।

‘नदी सरसफाई’ स्वर्णिम योजना अन्तर्गत महानगरपालिका क्षेत्रभित्रका बिष्णुमती, रुद्रमती (धोबिखोला), चखुंचाखुशी, भचाखुशी नदीहरूको विशेष सरसफाई गरी २९५३ टन फोहर संकलन एवम् व्यवस्थापन गरिएको।

बञ्चरेडाँडा स्थित ल्याण्डफिल साईटमा उपत्यकाका २४ वटा स्थानीय तहबाट आउने वार्षिक ५ लाख टन फोहरमैला व्यवस्थापन गरिएको। विगतमा फोहर व्यवस्थापनको लागि प्रयोग भएको सिसडोल ल्याण्डफिल साईटमा हरियाली कायम गर्न माटो राखी Capping गर्ने कार्य सम्पन्न गरिएको।

महानगरपालिकाको रत्नपार्क, शंखपार्क, बालाजु तथा सामुदायिक विध्यालयहरुमा कम्पोस्ट मल बनाउने कार्यको शुरुवात गरिएको।

काठमाडौँ महानगरपालिका वडा नं १२ टेकुमा कुहिने फोहरबाट सञ्चालित वायोग्याँस प्लाण्ट तथा वर्गीकरण गरेका फोहरबाट ४० टन प्राङ्गरिक मल उत्पादन गरी हरियाली प्रवर्धन कार्यमा प्रयोग गरिएको।

काठमाडौँ महानगरपालिका भित्रका ५० वटा स्वास्थ्य संस्थाहरुको अनुगमन गरी २० वटा स्वास्थ्य संस्थाहरुलाई कारबाहीको दायरामा ल्याइएको छ|

कुहिने फोहरलाई आवास परिसरमा व्यवस्थापन गरी फोहरको परिमाण श्रोतमै न्यूनीकरण गर्न १९७२ थान कम्पोस्ट बिन सहुलियत दरमा उपलब्ध गराईएको|

श्रोतमै फोहर वर्गीकरण गर्न सामुदायिक विध्यालयहरुको लागि ३४३ थान, वडा कार्यालयहरुको लागि ४७० थान कुहिने र नकुहिने स्टायण्ड सहितको बिन उपलब्ध गराईएको।

दैनिक रुपमा संकलन हुने ४० टन नकुहिने सुख्खा फोहरको व्यवस्थापनको लागि फोहर विक्री प्रकृया प्रारम्भ गरिएको।

महानगरपालिका क्षेत्रभित्रका ८६ वटा सामूदायिक विध्यालयका २४० जना विध्यार्थीहरुलाइ फोहरमैला व्यवस्थापनबारे सचेतना र प्रांगारिक मल बनाउने तालिम प्रदान गरिएको।

महानगरपालिकाबाट प्रवाह गरिने सेवाको प्रभावकारीता र गुणस्तर वृद्धि गर्न कार्यालय विहान ९ बजेदेखि सञ्चालनमा ल्याइएको।  सेवाग्राहीको थप सहजताको लागि एकल सेवा केन्द्र (वन स्टप सर्भिस सेन्टर)  सञ्चालनमा ल्याइएको।

अनलाइन सिफारिश, Automation (E-टिप्पणी) प्रविधिलाई कार्यान्वयनमा ल्याई महानगरपालिकाबाट प्रवाह हुने सेवाहरुलाई सरल, सहज र प्रविधिमैत्री बनाईएको।

महानगर क्षेत्रभित्रका युवा जनशक्तिहरुलाई श्रम बैंकमा आवद्ध गराई सिप तथा क्षमता विकास तालिम र रोजगारीका अवसरहरु उपलब्ध गराइने कार्यनीति अनुरुप ४३०० जना भन्दा बढी जनशक्तिलाई रोजगारीको अवसर प्रदान गरिएको।

खर्च तर्फको लेखा परीक्षणको क्रममा औंल्याईएका बेरुजु रकम मध्ये  १ अर्व ३० करोड अर्थात करिब ३२.१४ प्रतिशत बेरुजु फर्छौट गरिएको। ६ वटा पेमेण्ट गेटवे मार्फत राजश्व अनलाइन भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाईएको। 

बालाजु पार्क, रत्नपार्कमा बैक काउण्टर मार्फत शुल्क संकलन, प्रि-बुकिड. स्क्यान-टु-पे समेतको सुविधा उपलब्ध गराइएको।

करको दायरा वृद्दी गर्न कर टोली गठन गरी स्थलगत रुपमा कर अनुगमन, निरीक्षण सचेतना कार्यक्रममार्फत ३५६६६  करदाता संख्या थप हुन आएको।

करदाता सूचना आदानप्रदान अन्तरगत कम्पनी रजिष्टार कार्यालय समेत बाट ३६६२६  करदाताको विवरण प्राप्त गरिएको। कर शीर्षक पहिचान नभएका विभिन्न ११ वटा व्यवसायको पहिचान गरी व्यवसाय करको दायरामा ल्याइएको।

आन्तरिक आयतर्फ गत वर्षको जेठ २७ सम्मको तुलनामा यस वर्षको जेठ २७ गतेसम्म १३,४४,५५,१५०।२९ राजश्व संकलन रकममा वृद्धि भएको।

दुर्घटना न्यूनीकरण गर्न र पैदल यात्री जनसंख्याको आवश्यकतालाई ध्यानमा राख्दै काठमाडौं जिल्ला अदालत नजिकै पेलिकन क्रसिङ स्थापना गरिएको।

महानगरपालिकाको केन्द्रीय कार्यालय तथा वडा कार्यालयहरुबाट प्रारम्भ भएको निःशुल्क कानुनी सेवालाई निरन्तरता दिइएको। यस प्रावधान अनुरुप २५८७७ सेवाग्राहीले नि:शुल्क कानूनी सेवा प्राप्त गरेको।

प्रमुख, न्यायिक समिति र प्रमुख प्रशासकीय अधिकृत तहमा सुनवाई गरी न्याय सम्पादन गर्ने कार्यलाई प्राथमिकतामा राखी ७६ प्रतिशत विवादहरुको निरुपण गरिएको।

महानगरपालिकाको लागि आवश्यक कानून तर्जुमा गर्ने क्रममा १२ ऐन, २ नियमावली, ३ निर्देशिका, १७ कार्यबिधि, २ मापदण्ड गरी ३६ वटा कानून स्वीकृत गरी कार्यान्वयनमा ल्याईएको।

लैङ्गिकताका आधारमा हुने हिंसा नियन्त्रण गर्न, महिलाको बहुपक्षिय अधिकार तथा मानव अधिकारका समग्र विषयहरुमा प्रवर्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न वडा महिला सञ्जाल गठन गरी स्थानीय न्याय सम्वाद कार्यक्रम सञ्चालन गरिएको।

विभिन्न वडाहरुमा पानी, डेरी, वधशाला, तरकारी फलफुल, मासु बजार तथा मिठाइ, किराना तथा विभागको कार्यक्षेत्र भित्रका पसल अनुगमन गरिएको।

काठमाडौँ महानगरपालिका क्षेत्रमा खाद्य पदार्थको गुणस्तर सुनिश्चितताका लागि अनुगमन गरी दोषी पाईएकाहरुलाई कारवाही गरिएको।

महानगर क्षेत्रभित्रका बालबालिकाको संरक्षण तथा बालअधिकारको प्रवर्धन गर्न कानूनी प्रवन्ध मिलाईएको। सामुदायिक विध्यालयमा अध्ययनरत र यातायात क्षेत्रमा संलग्न बालबालिकाको विवरण संकलन गरी बालश्रम तथा हिंसामा परेका ४१ जना बालबालिकाको उध्दार गरिएको।

‘रोजगारी र आय बृद्धि, काठमाडौंको समृध्दि’ गौरवको योजना अन्तर्गत सीपमेला, २०८१ आयोजना गरी १० क्षेत्र र २९ बिधामा  ६८८६६ जनाको आवेदन प्राप्त भएकोमा पहिलो चरणमा २७१५ जनालाई सम्बन्धित विषयको तालिम प्रदान गरिएको।

Job Link App विकास गरी वेरोजगार र रोजगारदाताहरूका बिच सम्बन्ध स्थापित गर्न रोजगार मेला संचालन गरी रोजगारीका अवसरहरु सिर्जना गरिएको।

एक वडा एक उद्यमसिलता नमूना कार्यक्रम अन्तर्गत काठमाडौँ महानगरपालिकाका १५ वटा वडामा उद्यमसिलता कार्यक्रम संचालन गरिएको।

अपाङ्गता भएका १०० जनालाई व्यक्तिहरुलाई व्हीलचेयर, कमोडचियर, वाकर र सेतो छडि वितरण गरिएको, साथै ३ वटा सीपमूलक कार्यक्रम संचालन गरिएको. अपाङ्गता भएका ५०० जना व्यक्तिको सहभागितामा भारत्तोलन र बोसिया खेल आयोजना गरिएको।

निस्कृय तथा संकटग्रस्त सहकारी व्यवस्थापनका लागि संस्थागत संयन्त्र निर्माण गरी प्राथमिकताका साथ कार्य गर्नका लागि आवश्यक कानूनी व्यवस्था भईसकेको।

'डुवान समाधान' स्वर्णीम योजना अन्तर्गत महानगर क्षेत्रभित्रका विभिन्न ठाउँका ढल, नाला सफा गरी ३८६२ टन फोहर व्यवस्थापन गरिएको।

काठमाडौँ महानगरपालिका भित्रका ६ वटा वडाका दमकल प्रवेश गर्न नसक्ने साँघुरा सहरी गल्लीहरुमा आगलागीको जोखिम कम गर्न Fire Hydrant / Dry Riser जडान गरिएको।

काठमाडौँ उपत्यका क्षेत्रभित्र आगलागीका २९५ वटा घटनामा अग्नी समनका लागि  बारूण यन्त्रहरु परिचालन गरिएको। काठमाडौँ महानगरपालिका वडा नं २६ सामाखुसी खोलामा ५० मिटर तटबन्ध निर्माण कार्य सम्पन्न भएको।

नक्सापास प्रक्रियालाई सरल, सहज र पारदर्शीताका साथै कागजरहित (Paper Less) वनाउन विद्युतीय भवन अनुमति प्रणाली (E-BPS) लाई समयसापेक्ष अद्यावधिक गरी विद्युतीय हस्ताक्षर (Digital Signature) समेतको प्रयोग गरी Biometric प्रणाली E-BPS मा आबद्ध गर्ने कार्य अन्तिम चरणमा रहेको सम्पन्न भएको।

आकासेपुलहरुको स्थलगत अनुगमन गरी ९ वटा आकासेपुलहरुको वस्तुस्थिति अध्ययन गरी प्रतिवेदन तयार गरिएको।

‘महानगरले देख्छ; गौरवको योजना अन्तर्गत १३८ थान CCTV Camera र १० वटा Face Recognition (FR) CCTV Camera काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा Display जडान गरी सञ्चालनमा ल्याईएको।

"मेरो रहर, सुन्दर र हरित सहर" गौरवको योजना अन्तर्गत महानगरका १४० स्थानहरुमा ३५ हजार रूख बिरूवा रोपिएको।

रिचार्ज काठमाडौँ अभियान कार्यक्रम अन्तर्गत बालाजुमा आकाशे पानी संकलन तथा पूनर्भरण गर्ने संयन्त्रको स्थापना गरिएको।

काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालन हुने भौतिक पूर्वाधार विकास तर्फका सानो गौचर रंगशाला निर्माण, बस बिसौनीमा फल्चा निर्माण समेत ६९ वटा परियोजनाहरु, सम्पदा पुन:निर्माण तर्फ भद्रकाली मन्दिर परिसर सुधार, महांकाल मन्दिर परिसर निर्माण, लखतीर्थ गुरुयोजना लगायतका ६१ वटा परियोजनाहरुको विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार भएको।

महानगरपालिकाको २० वर्षे रणनीतिक विकास योजना सहितको मिसन २१०० स्वर्णिम योजना तर्जुमाको लागि अवधारणा पत्र तयार भएको।

महानगरपालिकाका सवारी साधनहरु बैकल्पिक ईन्धनवाट सञ्चालन हुने गरी रुपान्तरण गर्ने कार्यनीति अनुरुप उक्त कार्यको अध्ययन गरी नमूनाको रुपमा फोहर ढुवानी गर्ने साना सवारी साधनको लागि अनुमानित लागत तयार गर्ने कार्य सम्पन्न भएको।

अतिक्रमणमा परेको  ३३ रोपनी भन्दा धेरै सार्वजनिक जग्गा अतिक्रमणबाट हटाइ काठमाडौं महानगरपालिका अन्तरगत ल्याइएको।

काठमाडौं महानगरपालिका भित्र अतिक्रमणमा गरी बनाइएको ३५१ वटा संरचना हटाएर सर्वसाधारणको प्रयोगको लागि पार्क निमाण कार्य गरिँदै आइएको।

काठमाडौं महानगरपालिकाले १ लाख ८० हजार ८७६ स्क्वायर फिट  कालोपत्रे सडकमा भएको पार्किङ  गरिएको स्थानमा खाली गरिएको ।

महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ५० वटा पेट्रोल पम्पहरूलाई एकरूपता गर्न सबैलाई एकै रङ्ग लगाउने र एक सय भन्दा धेरै शौचालयहरू सर्वसाधारणको लागि खुल्ला गर्ने कार्य गरिएको।  

जेठ ३२, २०८१ शुक्रबार २१:५४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।