गायक योगेश्वरको जग्गा पत्तै नदिई बैंकबाट १९ करोड ऋण निकाल्ने दुई जना तीन वर्षपछि पक्राउ

गायक योगेश्वरको जग्गा पत्तै नदिई बैंकबाट १९ करोड ऋण निकाल्ने दुई जना तीन वर्षपछि पक्राउ

काठमाडौँ : जग्गा धनीलाई थाहै नदिई किर्ते कागजको आधारमा जग्गा कम्पनीको नाममा ल्याएर बैंकबाट ऋण निकाल्न संलग्न देखिएका दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

जग्गा धनी गायक योगेश्वर अमात्य हुन्। बारामा उनको पुस्ताको १२ बिघा जग्गा थियो। सो जग्गाको किर्ते कागजात बनाएर १९ करोड रुपैयाँ बैंकबाट निकालेर ठगी गरेको आरोपमा प्रहरीले २०७८ कात्तिकमा चार जनालाई पक्राउ गरेको थियो। त्यसमध्ये दुई जना फरार थिए।

जग्गाको रेखदेख गर्नेबाट उनको जग्गामा अनधिकृत व्यक्तिहरू आएर शङ्कास्पद गतिविधि गर्ने गरेको जानकारीका आधारमा खोजबिन गर्दा उनको जानकारीबिना नै जग्गा कुमारी बैंक न्युरोड शाखामा धितो राखेर १९ करोड रुपैयाँ बराबरको कर्जा लिएको खुलेपछि उनले प्रहरीमा उजुरी दिएका थिए।

अनुसन्धानमा काठमाडौँका एसके महर्जन र मुक्तिलाल गौतमले नक्कली लालपुर्जा बनाएर कुमारी बैङ्कको बारा शाखाबाट ऋण निकाल्न प्रक्रिया सुरु गरेर काठमाडौँको न्युरोड शाखाबाट ऋण निकालेको खुलेको थियो।

सिआइबीको अनुसन्धानमा बैङ्कको कर्मचारीसहितको मिलेमतोमा डेनियल ट्रेडिङ कम्पनी प्रालिका नाममा अमात्यको हक हस्तान्तरण गरेको देखाएर ठगी गरेको खुलेको थियो।

२०७८ कात्तिकमा चार जना पक्राउ परेका थिए। तीन वर्षपछि सोही अभियोगमा ललितपुर महानगरपालिका-४ जावलाखेलबाट उविन्द्रराज शाक्य र शोभा शाक्य पक्राउ परेका छन्।

जेठ ३२, २०८१ शुक्रबार २१:१७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।