गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा राप्रपा नेपालले फागुनमा जनआन्दोलन गर्ने थापाको दाबी

गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा राप्रपा नेपालले फागुनमा जनआन्दोलन गर्ने थापाको दाबी

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्थाबाट जनतालाई मुक्ति दिनका लागि जनआन्दोलन गर्ने दाबी गरे। उनका अनुसार आगामी फागुनदेखि उनको पार्टीले जनआन्दोलन गर्नेछ।

शुक्रवार केन्द्रीय कार्य समितिको बैठकको निर्णय सार्वजनिक गर्दै उनले सङ्घीय गणतन्त्र नेपाल र धर्म निरपेक्ष असफल भइसकेको दाबी गर्दै हालको व्यवस्थाबाट जनतालाई मुक्त गराउन सशक्त जनआन्दोलन आह्वान गरेको बताए।

उनले भने, ‘अहिले भ्रष्ट व्यवस्थाबाट परिवर्तन होइन, सुधार गर्न पनि तयार छैनन्। अहिले सङ्घीयता र धर्म निरपेक्षसहितको गणतन्त्र असफल भइसकेको छ। हालको व्यवस्था भ्रष्ट र तस्करीमा रूपान्तरण भएको छ। यस्तो व्यवस्थाबाट जनतालाई मुक्त गराउन राप्रपा नेपालले सशक्त जनआन्दोलन आह्वान गरेको छ। आगामी फागुन–चैत्रदेखि भ्रष्ट व्यवस्थाबाट मुक्तिका लागि निर्णायक जनआन्दोलन गर्ने निर्णय गरेको छ।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रभावहीन भएको भन्दै आयोगको सट्टा जनताप्रति उत्तरदायी रहने सर्वाधिकार सम्पन्न भ्रष्टाचार नियन्त्रण नागरिक आयोग गठन गर्नुपर्ने दाबी समेत गरे।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रभावहीन छ। संविधान र कानुनले नै केही पदाधिकारीहरूलाई अख्तियारको अधिकार क्षेत्रभन्दा अलग राखेको छ र मन्त्रिपरिषद्को निर्णय भ्रष्टाचार ठहर नहुने व्यवस्था गरेको छ। त्यस कारण कानुनमा आमूल सुधार गर्नुपर्छ। भ्रष्टाचार नियन्त्रणको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सट्टा जनताप्रति उत्तरदायी रहने सर्वाधिकार सम्पन्न भ्रष्टाचार नियन्त्रण नागरिक आयोग गठन हुनुपर्छ भन्ने हाम्रो माग हो’ उनले भने।

भ्रष्टाचारले देशको आर्थिक अवस्था कमजोर बनाए पनि वर्तमान संरचना र कानुनबाट भ्रष्टाचार प्रभावकारी तरिकाबाट नियन्त्रण हुन नसक्ने भन्दै कानुनमा आमूल सुधार पनि महत्त्वपूर्ण मागको रूपमा रहेको उनको भनाइ छ।

थापा राप्रपाको अध्यक्षको निर्वाचनमा पराजित भएपछि पुरानै पार्टी राप्रपा नेपाल ब्युँताएर राजनीतिमा सक्रिय हुने प्रयासमा छन्।

जेठ ३२, २०८१ शुक्रबार २०:१०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।